Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविश्वकप लिग- २ मा नेपालको अविश्वसनीय खेल,पछिल्ला १० मध्ये ९ खेलमा जित !

विश्वकप लिग- २ मा नेपालको अविश्वसनीय खेल,पछिल्ला १० मध्ये ९ खेलमा जित !


काठमाडौं । विश्वकप लिग- २ को दौडमा पछि परेको नेपालले एकदिवसीय मान्यता नै गुमाउने संघारबाट अविश्वसनीय पुनरागमन गरेको छ । यूएईविरुद्ध दबदबापूर्ण जीत हासिल गर्दै नेपालले लिग- २ को शीर्ष ४ मा उक्लिएर आगामी चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित गरेको हो ।

विश्वकप लिग- २ क्रिकेटमा पछिल्ला तीन त्रिदेशीय श्रृंखला खेल्नुअघि नेपाल दयनीय अवस्थामा रहेको थियो तालिकाको छैंटौ स्थानमा रहेको नेपालले ओडीआई मान्यता जोगाउन बाँकी १२ खेलमध्ये १० खेल जित्नैपर्ने दबाब थियो । तर, पछिल्ला १० खेलमध्ये ९ वटामा जीत दर्ता गर्दै नेपालले ओडीआई स्टाटस सुरक्षित गर्यो । अब अन्तिमका दुई खेलमा पनि जीत हासिल गरे नेपालले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ ।

आइतबारको खेलसँगै नेपाल यसअघि १७ अंकले अगाडि रहेको अमेरिकालाई पछि पार्दै शीर्ष चारमा उक्लिएको छ ।प्रतियोगिताको आफ्नो अन्तिम श्रृंखलामा घरेलु मैदानमा उत्रिरहेको नेपालले लगातार दुई जीत हात पारेको छ । पहिलो खेलमा पपुआ न्युगिनी (पीएनजी)लाई हराएको नेपाली टोलीसामु आइतबार यूएई निरीह बन्यो ।

नेपालले ३४ खेलबाट ३६ अंक जोडेको छ । पाँचौं स्थानमा रहेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ । तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक जोडेको छ । नेपालले अब पीएनजी र यूएईसँगका बाँकी एक-एक खेल जितेको अवस्थामा तेस्रो स्थान उक्लिँदै एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउनेछ । उक्त क्वालिफायरमा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, जिम्बावेसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वस्तरको छनोटबाट शीर्ष दुई टोलीले एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । नेपालले एकदिवसीय विश्वकपको विश्वस्तरको छनोट यसअघि दुईपटक खेलिसकेको छ । तर, अहिलेसम्म विश्वकपको यात्रा तय गर्न सकेको छैन । चार साताअघि घरेलु मैदानमा आयोजना भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित श्रृंखलाका चार वटै खेल नेपालले जितेको थियो । त्यही श्रृंखलामा नामिबियालाई हराएको स्कटल्यान्ड प्रतियोगिताको विजेता बन्ने पक्का भएको थियो ।

त्यसपछि विश्वकप लिग-२ को आफ्नो आठौं त्रिदेशीय श्रृंखला खेल्न यूएई पुगेको नेपालले त्यहाँ चारमध्ये तीन खेल जित्न सफल भयो । पीएनजीसँगका दुवै खेल नेपालले जितेको थियो भने यूएईसँग एक जीत र एक हार ब्यहोरेको थियो ।

नेपालमा तीन साताअघि आयोजित शृंखलाअघि नेपालले विश्वकप लिग-२ का शृंखला विभिन्न देश पुगेर खेलेको थियो। प्रतियोगिताको आफ्नो पहिलो शृंखला नेपालले सन् २०२० मा खेलेको थियो। सन् २०२० को फेब्रुअरीमा ओमान र अमेरिका सम्मिलित शृंखला घरेलु मैदानमा खेल्याे । ओमानसँगका दुवै खेलमा नेपाल पराजित भएको थियो भने अमेरिकालाई दुवै खेलमा हराएको थियो। पछि यी तीनवटै टोली सन् २०२१ को सेप्टेम्बरमा ओमानमा भिड्दा नेपालले दुवै टोलीसँग समान एक जित र एक हारको नतिजा निकाल्यो।

सन् २०२२ को मार्चमा नेपाल, पीएनजी र यूएईबीच प्रतिस्पर्धा भएको थियो। यूएईमा भएको त्यस शृंखलामा नेपालले पीएनजीविरुद्धका दुवै खेल जित्दा यूएईसँगका दुवै खेल हार्यो । जुनमा अमेरिकामा आयोजित शृंखलामा नेपाल र घरेलु टोलीबाहेक ओमान पनि थियो। नेपालले ओमानसँग एक जित र एक हार ब्यहोरेको थियो । जुलाईमा स्कटल्यान्डमा नामिबिया, नेपाल र स्कटल्यान्डले प्रतिस्पर्धा गरेकाे ४ सिरिजमा नेपालले नामिबियासँगका दुवै खेलमा हार ब्यहोरेको थियो भने स्कटल्यान्डसँग एक जित र एक हारको नतिजा निकालेको थियो।

गत डिसेम्बरमा नामिबियामा भएको शृंखलामा नामिबियासँगको एक खेल रद्ध भएपछि नेपालले अंक बाँडेको थियो भने अर्को खेलमा पराजित हुन पुग्यो । यस्तै स्कटल्यान्डसँगका दुवै खेलमा नेपाल पराजित भयो । अहिले नेपाली टोलीले कमब्याक गर्दै एकपछि अर्को चमत्कारिक नतिजा निकाल्दै छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ