Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaयस कारण ढिला हुदैछ ब्रिजवेनमा नेपाली भवन बनाउने योजना

यस कारण ढिला हुदैछ ब्रिजवेनमा नेपाली भवन बनाउने योजना


सरल गुरुङ/कुइन्सल्याण्डको राजधानी ब्रिजवेनमा नेपालीको आफ्नै सामुदायिक भवन बनाउन मुख्य ३ समस्या देखिएका छन् । भवन बनाउने उदेश्य लिएर गठित संस्था कुइसन्ल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसिले हालै साउथ ब्रिजवेनका नेपाली समुदायसंग गरेको छलफलमा भवन बनाउनका लागि किन ढिलाई भइरहेको छ भन्ने विषयमा अन्तरक्रिया भएको थियो । छलफलमा समुदायले स्पष्ट रुपमा तीन मुख्य कारणहरु उजागर गरेको छ ।

कार्यक्रममा समुदायका झण्डै दुइ दर्जन व्यक्तिहरुले आ आफ्नो विचार राख्नु भएको थियो । ती सबै विचारलाई मन्थन गर्दा मुख्य तीन विषय छर्लङ हुन्छ । हुन त साउथ क्षेत्रका नेपालीको मात्रै विचारले समग्र ब्रिजेवनवासीको धारणा बुझ्न नसकिएपनि मोटामोटी हाम्रो समुदायले के सोच्छन् भन्ने चाहि स्पष्ट हुन्छ । क्युएनसिसिका अध्यक्ष केशव शर्माले भवन निर्माण ढिला हुनुमा बिस्तृत योजनाको अभाव, सदस्यता वितरण प्रकृया अलि जटिल तथा सरकारी निकायसंग सहकार्य गर्न कमिकमजोरी भएको जस्ता समस्या उजागर भएको नेपालट्युबलाई बताउनुभयो ।

स्पष्ट योजना भएन

छलफलमा सहभागीहरुको विचार सुन्दा अझै पनि कुइन्सल्याण्डका नेपालीहरुलाई नेपाली सामुदायिक भवन के हो ? कसरी बन्छ ? कस्तो बन्छ ? कुन मोडालिटीमा बन्छ ? यसको आवश्यकता के हो ? आर्थिक स्रोतहरु के के हुन ? दिर्घकालिन फाइदाहरु के के छन् ? जस्ता विषयहरु बारे त्यत्ति थाहा नभएको पाइयो । हुन त क्युएनसिसिका केही पदाधिकारीले घर घर गएर व्यक्ति विशेषलाई नभनेको होइन । तर, विस्तृत योजना नै नभई कुरा गरेर मात्र भवनका लागि पैसा निकाल्न खासै मानिसहरु तयार भएका छैनन् ।

छलफलमा सहभागीहरु

छलफलमा क्युएनसिसिका उपाध्यक्ष नारायण पन्थीले गरेको पावरपोइन्ट प्रस्तुतीमा भवन निमार्णका बारेमा सतही विवरण पेश गरिएपनि विस्तृत योजना ‘ब्लु प्रिन्ट’ भने सामावेश थिएन । अनौपचारिक कुराकानीका क्रममा क्युएनसिसिका पदाधिकारीहरु पनि हालसम्म विस्तृत खाका बनाउन नसकिएको स्विकार्छन् । ब्रिजवेन सिबिडीबाट ३५ किलोमिटर वरिपरी ४ हजार बर्गमिटर क्षेत्रफलमा सामुदायिक केन्द्र बनाउने सामान्य उदेश्य राखिएको छ योजनामा । छलफलमा डाक्टर मनोज खनालले योजना निकै सतही र अस्पष्ट भएकाले मानिसहरु आकर्षित हुन नसकेको बताउनुभयो । भवन र केन्द्रका लागि आवश्यक जमिन कसरी किन्ने भन्ने अन्यौलता बाकी नै छ । क्युएनसिसिले सदस्यता विस्तार गरेर त्यहि शुल्कबाट किन्ने वा निजी क्षेत्रसंग सहकार्य गर्ने भन्ने अन्यौलता छ । त्यस्तै सरकारी निकायबाट जग्गा माग गर्ने भन्ने पनि योजना छलफल मै छ ।

भवन बनाउन समय र विधागत रुपमा के गर्ने भन्ने नै अस्पष्ट छ । भवन आसपास पशुपति नाथ र स्वयम्भुको प्रतिमा बनाईने, सानो खालको संग्रालय निमार्ण गरिने भनिएपनि ती कत्रा र कति खर्च लाग्ने खालका हुन्छन् र त्यसको उपयोगिता के हुने भन्ने स्पष्ट छैन । कार्यक्रममा सहभागीहरुले भवन निमार्ण सम्बन्धी तह तहमा विस्तृत योजना बनाएर समुदायसंग हात फैलाएमा सबैले सहयोग गर्ने समेत बाचा गरे ।

सदस्य बन्न जटिल भयो

कार्यक्रममा क्युएनसिसिका उपाध्यक्ष नारायण पन्थीले हालसम्म ७८ जना फेमिली लाइफ मेम्बर र ८ जना मात्रै व्यक्तिगत मेम्बर भएको तथ्याकं सार्वजनिक गर्नुभएको थियो । सन् २०१८ मा गठन भएको संस्थाले सामुदायिक भवन निमार्णका लागि ३ वर्षमा केवल ८६ जना मात्रै सदस्य बनाउनुलाई समुदायले सदस्यता वितरण प्रणाली नै जटिल प्रकारको भएको औल्याएका छन् ।

भवनका लागि हालसम्म सदस्यताबाट १ लाख २५ हजार, चन्दाबाट १ लाख ६९ हजार गरि २ लाख ९४ हजार ४७० डलर संकलन भएको छ । ७१ हजार डलर भने दिन्छु भनेर व्यक्तिहरुले घोषणा गरेपनि हालसम्म दिएका छैनन् । सहभागीहरुले एकै पटक १५ सय र १ हजार डलर तिर्नुपर्दा आर्थिक भार पर्ने भएकाले राम्रो उदेश्य भएपनि पैसा तिरेर सदस्य बन्न हिच्किचाइरहेको समुदायको बुझाई । यदपी   उपाध्यक्ष पन्थीले सदस्यता शुल्क एकैपटकमा नभई १२ महिना भित्र तिरिसक्दा हुने पनि व्यवस्था पहिल्यैदेखि गरिएको बताउनुभयो । अर्थविद् डाक्टर सुदर्शन चालिसेले क्युएनसिसिले उठाइरहेको सदस्यता शुल्कको विधीलाई परिमार्जन गनुपर्ने सुझाव दिनुभएको छ । एकैपटक यत्ति धेरै रकम निकाल्नुपर्दा जो कसैलाई समस्या पर्न सक्ने भएकाले किस्ता किस्तामा केही समयसम्म पैसा तिर्न मिल्ने व्यवस्था गर्न सकिने सुझाव आएको छ ।

त्यस्तै कार्यक्रममा प्रमोद पोखरेलले केन्द्रका लागि सहयोग गर्ने सबै दाताहरुलाई क्युएनसिसिले समान खालको सम्मान गर्नुपर्ने बताउनुभयो । एक लाख दिने र एक डलर दिने दुबै दाता क्युएनसिसिका लागि उत्तिकै महत्वपुर्ण हुनुपर्ने भन्दै पोखरेलले एकै जनाबाट धेरै पैसा उठाउने भन्ने पनि धेरै व्यक्तिहरुमार्फत थोरै थोरै रकम उठाउन प्रभावकारी हुने बताउनुभयो । यसो गर्दा सदस्यता वितरण व्यापाक हुने उहाको भनाई छ । त्यस्तै मोहन शर्माले विद्यार्थीहरुलाई समेत भवन निमार्णमा सहभागी गराउनुपर्ने धारणा राख्नुभयो । त्यसो त एनआरएनए चुनावका बेला उमेद्वारहरुसंग बार्गेनिङ गर्ने हतियारका रुपमा समेत क्युएनसिसिको सदस्यता वितरण अभियान जोडिन पुगेकाले पनि केही असर परेको विचार उठेको छ । कुइन्सल्याण्ड एनआरएनएका पुर्व संयोजक अभिमानसिंह बस्नेतले चुनावका बेलामात्रै सदस्यता वितरण सक्रिय हुन नहुने धारणा राख्नुभयो ।

स्थानिय सरकारसंग सहकार्य भएन

हुन त क्युएनसिसिले ब्रिजवेन आसपास रहेका स्थानिय काउन्सिलसंग जग्गाका लागि केही चरण प्रयास नगरेको होइन । जग्गाका लागि क्युएसिसिले मोर्टन वे काउन्सिल, लोगान सिटी काउन्सिल, स्यामफर्ड भ्याली काउन्सिलसंग क्युएनसिसिले छलफल गरेको थियो । त्यतिबेला मोर्टन वे काउन्सिल केही सकारात्मक पनि थियो । तर, स्पष्ट योजना नभएर हो वा अरु कुनै कारणले अहिले यो काउन्सिलले तत्काललाई नेपालीले खोजे जस्तो जग्गा आफ्नो क्षेत्रमा नभएको भन्दै पन्छिएको छ ।

के त्यसो भए अब सरकारी निकायबाट जग्गा पाउने तथा सहायता लिने ढोका बन्द भयो त ? छैन, अझै थुप्रै ढोका खुल्ला छन् । केवल जरुरी छ प्रयासको । समुदायले सरकारसंग सहयोग लिने क्युएनसिसिले सबै हर प्रयास गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ । हालसम्म क्युएनसिसिले स्थानिय सिटी काउन्सिलसंग सिधै जग्गा मागेपनि राज्य र संघिय सरकारका बहुसांस्कृतिक निकायहरुमा भवनका लागि सहयोग माग्न सुरु गरेकै छैन । हाम्रो जस्तो बहुसांस्कृतिक समुदायलाई राज्य र संघिय सरकारका निकायहरुले आर्थिक सहयता गर्दै आएको छ । तर, हामीले पहुच पुर्याउन नसक्दा त्यस्तै सहायताहरु हाम्रो समुदायमा आइपुगेकै छैन । भवनकै मेलोमा क्युएनसिसिले त्यस्ता निकायहरुसंग सहयोग जुटाउन पहल गर्नुपर्छ । राजन कोइरालाले सरकारसंग पहल गरेर यथासक्य सहयोग जुटाउन पहल गर्नुपर्ने बताउनुभयो । त्यस्तै इश्वर कुइकेलले नेपाली समुदायले पनि विस्तारै सरकार र संसदसंग पहुच बढाउन सुरु गरेकाले नेपाली भवनका लागि पनि अब पहल गर्ने समय आएको बताउनुभयो ।

त्यसो त संघिय सरकारले नेपाली समुदायका लागि १ मिलियन डलर दिने घोषणा गरेको छ । तर, सिड्नीका सिमित भेगका नेपालीलाई मात्रै हुने गरि सो बजेट निकासा हुने तयारी भइरहेको छ । संघिय सरकारले सिंगो समुदायका लागि दिन लागेको आर्थिक अनुदानको केही हिस्सा सिड्नीबाट ब्रिजवेनतिर पनि ल्याउन क्युएनसिसि, एनआरएनए कुइन्सल्याण्ड र नेपलिज एशोसियसन अफ कुइन्सल्याण्डले पहल गर्नुपर्छ ।

हामी सुधार गर्छौ

समुदायबाट आएको सुझावलाई सकारात्मक रुपमा लिएर सुधार गर्दै जाने क्युएनसिसिका संयोजक केशव शर्माले बताउनुभयो । नेपालट्युबसंग कुरा गर्दै शर्माले समुदायले दिएको सुझाव र सल्लाह निकै उत्साहित पार्ने खालेको रहेको बताउनुभयो । ‘समुदायले हामीलाई स्पष्ट सन्देश दिएको छ’- शर्माले भन्नुभयो -‘हामी सुझावलाई आत्मसात गर्दै सुधारउन्मुख हुनेछौ ।’ आगामी केही दिनमै ब्रिजवेनका अन्य इलाका, गोलकोष्ट, सनसाइनकोष्ट, टोअम्बा लगायतका क्षेत्रमा समेत समुदायसंग छलफल गरिने शर्माले बताउनुभयो । कार्यक्रममा एनआरएनए कुइन्सल्याण्डका संयोजक विनोद आचार्य र नेपलिज एशोसियसन अफ कुइन्सल्याण्डका अध्यक्ष देवराज पौडेले क्युएनसिसिले अघि सारेको भवन बनाउने योजनामा संस्थागत रुपमै सहयोग गर्ने प्रतिवद्धता दोहोर्याउनुभयो ।

बृहद नेपाली समुदायलाई पायक गर्ने गरि सामुदायिक भवन बनाउने चर्चा चल्न सुरु भएको सन् २००६ देखि हो । सन् २०१२ मा गैर आवासिय नेपाली संघ कुइन्सल्याण्डको नेतृत्वमा आएका अभिमानसिंह बस्नेतले पहिलो पटक संस्थागत रुपमा नेपाली सामुदायिक भवन बनाउने कुरा उठाउनु भएपनि सन् २०१७ मा मात्रै सामुदायिक भवन बनाउन कै लागि कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर ९क्युएनसिसि ० स्थापना भयो । स्थापनादेखि नै यो संस्था कुइन्सल्याण्डमा नेपाली सामुदायिक भवन बनाउन सक्रिय छ ।

यो पनि पढ्नुस

अष्ट्रेलियामा नेपाली सामुदायिक केन्द्र बन्दै । पशुपति र स्वयम्भूनाथको एकैसाथ दर्शन « Nepal Tube Australia

ब्रिजवेनमा नेपालीको सामुदायिक भवन बनाउन भोली सार्वजनिक छलफल, आकासको फल नहोस « Nepal Tube Australia


ट्याग : #nepali cultural center, #nepali in queensland, #qncc
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ