Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयी हुन नेपालका सोमबारका प्रमुख ५ खबर, तपाईले छुटाउनुभयो कि ?

यी हुन नेपालका सोमबारका प्रमुख ५ खबर, तपाईले छुटाउनुभयो कि ?


काठमाडौं । नेपालमा राजनीतिक गर्मागर्मीदेखी, ललिता निवासको सरकारी जग्गा प्रकरणसम्मले अझै चर्चा पाइरहेको छ । अदालतमा घुसेको राजनीति, विवाहको उमेर हद घटाउने बारेको बहस, कतारमा फेरिएको अध्यागमन नीति, पकेटमार पक्राउ लगायतका दिनभरका घटनाक्रम समेटिएका प्रमुख ५ खबरहरु यस्ता छन् ।

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईविरुद्धको फैशला कार्तिक १५ मा
ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्धको १५ कात्तिकमा फैसला आउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले सोमबार सुनुवाई सकेर करिब १ महिनापछि फैशला सुनाउने भएको हो । नेता नेपाल र भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गरी निर्णय गरेको थियो । तर मन्त्रिपरिषदले गरेको निर्णय नीतिगत भन्दै अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने निर्णय गरेको थियो । ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, तत्कालिन सचिवहरु दीप बस्न्यात, दिनेश अधिकारीसहित १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा नलगाउने अख्तियारको निर्णय कानुन विपरीत भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । २०७६ माघमा सर्वोच्चमा दायर भएको रिटको पटक पटक सुनुवाइ स्थगित हुँँदै आएको थियो ।

मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भाग मागेकै हो त ?
सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भाग मागेको नभई असान्दर्भिक रुपमा जोडिएको बताएको छ । मन्त्रिपरिषदमा प्रधानन्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएपछि सोमबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गरेर असान्दर्भिक रुपमा री प्रधानन्यायाधीशलाई जोडेर अतिरञ्जित गरिको जनाएको हो । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद र खेदजन्य विषय हो’ मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश जबरालाई जोड्नु दूषित मनसाय भएको समेत सर्वोच्च अदालतको विज्ञप्तीमा उल्लेख छ ।

विवाहको उमेर १८ वर्ष बनाउने बहस
सांसदहरुले विवाहको न्युनतम उमेर १८ वर्षमा झार्ने प्रस्ताव गरेका छन् । हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिमा करणीसम्बन्धी कसूर र कानुनी व्यवस्थाबारे छलफलमा सदस्यहरुले १८ वर्षमा बालिग हुने भएकाले विवाह गर्नका लागि थप दुई वर्षको समय राखिनु व्यवहारिक नहुने जिकिर गरेका हुन् । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै सदस्य मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा माओवादी केन्द्रका मातृका यादव र नेकपा एमाले सांसद तथा समिति सभापति कृष्णभक्त पोखरेलले विवाहको उमेर हद घटाउनुपर्ने धारणा राखेका छन् ।

१८ वर्षमा स्वेच्छाले शारीरिक सम्पर्क गर्न पाउने कानुनी व्यवस्था भएपछि विवाहका लागि २० वर्षको उमेर तोकिनु उचित नहुने कांग्रेस सांसद मीन विश्वकर्माको धारणा थियो । सांसद विश्वकर्माले वालिग हुने उमेर नै १६ वर्षमा झार्नुपर्ने धारणा राख्दा माओवादी केन्द्रका सांसद मातृका यादवले विवाहको न्युनतम उमेर घटाउन माग गरे । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कर्णले पनि बिहे गर्ने न्युनतम उमेर हद २० वर्षलाई पुनर्विचार गर्नुपर्ने धारणा राख्दा समिति सभापति पोखरेलले विवाह गर्ने न्युनतम उमेर १८ बर्षमा झार्नुपर्ने किटान नै गरे । यो विषयलाई कुन कानुनमा कुन रुपमा समेट्ने भन्ने विषयमा ठोस सहमति हुन भने बाँकी रहेको छ ।

कतारको अध्यागमन नियममा परिवर्तन
कतार सरकारले दक्षिण एसियाका नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लगायत अन्य केही देशहरुले कतार प्रवेश गर्नुभन्दा पहिले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेको छ । कतारमा रहेको नेपाली दूतावासले कतार जानको लागि मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्ने, पहिलोपटक प्रवेश गर्ने यात्रुहरुले जततउकः÷÷धधध.भजतभचबश.नयख.त्रब वेबसाइटमा गइ पीसीआर परीक्षणको प्रमाणपत्र, खोप लगाएको प्रमाणपत्र र अन्य सान्दर्भिक कागजातहरु अपलोड गरि प्रि–रजिष्ट्रेशन गर्नुपर्ने नियम राखेको जानकारी दिएको हो ।

यस्तै सबै यात्रुहरुले आफ्नो मोबाइलमा इटेराज मोबाइल एप्लिकेशन अनिवार्य डाउनलोड गरेर राखेको हुनुपर्ने, यसका लागि नेपालको सीमकार्डका पनि प्रयोग गर्न सकिने नियम बनाइएको छ । कतार सरकारले फाइजर, सिनोभ्याक, सिनोफर्म, मोडेर्ना, अस्ट्राजेनेका र स्पुत्निक भी र जोनसन एण्ड जोनसन खोपलाई मान्यता दिएको छ । खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेपछि मात्र यात्रा गर्न सकिनेछ । सशर्त स्वीकृत गरिएका खोप को मात्रा पूरा गरेका यात्रुको सेरोलोजी एण्टिबडी रिजल्टको पोजेटिभ रिपोर्ट अनिवार्य चाहिने बताइएको छ । कतार सरकारले मान्यता दिएका खोपको पूर्ण मात्रा लगाएको भए पनि दुई दिन होटल क्वरेण्टिनमा बस्नुपर्ने, तोकिएको खोपको पूर्ण मात्रा नलगाएकाहरुले भने सात दिनसम्म होटल क्वरेण्टिनमा बस्नुपर्ने छ । स्वीकृत गरिएका खोप नलगाएका नयाँ यात्रुलाई भने कतार प्रवेश गर्न रोक लगाइने भएको छ ।

काठमाडौं उपत्यकाबाट २०७ जना पकेटमार पक्राउ
काठमाडौंबाट विभिन्न स्थानमा पुगेर सवारी साधन र बजारमा पाकेटमारी अनि चोरी गर्ने कार्यमा संलग्न २०७ जना प्रहरी फन्दामा परेका छन् । महानगरीय प्रहरी परिसरले काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत कारागार चलान भएको परिसरका प्रमुख एसएसपी अशोक सिहंले जानकारी दिनुभयो । सार्वजनिक बसभित्र समूह बनाइ छिर्ने र पैसा भएको यात्रु पत्ता लगाएर पछाडिबाट घेराबन्दी पारी मोबाइल, नगद र सुनचाँदी पाकेटमारी गरेर पालोपालो गरी ओर्लने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ