Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयुरो कप : फान्ससँग जर्मनी स्तब्ध, रोनाल्डोको किर्तिमानीसँगै पोर्चुगलको सुखद सुरुवात

युरो कप : फान्ससँग जर्मनी स्तब्ध, रोनाल्डोको किर्तिमानीसँगै पोर्चुगलको सुखद सुरुवात


एजेन्सी । साविक उपविजेता फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा जीतबाट सुखद सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई फ्रान्सले १–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो ।

जर्मनीका माट हुमेल्सको आत्मघाती गोल नै फ्रान्सको जितका लागि निर्णायक बन्यो । डिफेन्डर हुमेल्सले २० औं मिनेटमा आत्मघाती गोल गरेका थिए । फ्रान्सका लागि ६६ औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेपनि अफसाइड भएपछि मान्यता पाएन । ८५ औं मिनेटमा एमबाप्पेको पासमा करिम बेन्जिमाले गोल गरेका थिए । तर, भीएआरको सहायतामा एमबाप्पे अफसाइड देखिएपछि गोलले मान्यता पाएन् । खेल अवधि भर बल पोसेसनमा पकड जमाएको जर्मनी फिनिसिङमा चुक्दा गोल गर्न सकेन ।

हारसँगै तीन पटकको च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ । जितसँगै ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ मा रहेको फ्रान्स दोस्रो स्थानमा पुगेको छ । यो समूहमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ । जर्मनी तेस्रो र हंगेरी चौंथो स्थानमा छन्।

यता, मंगलबार रातीकै अर्को खेलमा साविक विजेता पोर्चुगलले विजयी सुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो ।

पुस्कास एरिनामा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल र राफायल गुइरेरोले एक गोल गरे । खेलको ८४ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए भने ८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर गरे । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को जित दिलाएका थिए ।

रोनाल्डोले बनाए दुई विश्व रेकर्ड
हंगेरीविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले युरोकपमा ११ गोल गर्दै फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडे । ३६ वर्षीया रोनाल्डोले पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाएका छन् । सन् २००४ बाट युरोकप खेलेका रोनाल्डोले २००८, २०१२ र २०१६ को संस्करण खेलेका थिए। २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि जितेको थियो । रोनाल्डो लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत बनेका छन् । जितसँगै समूह ुएफु मा रहेको पोर्चुगल ३ अंकसहित शीर्ष स्थानमा रहेको छ ।हारबाट प्रतियोगिताको सुरुवात गरेको हंगेरी पुछारमा रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ