Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकी चुनाव : डेमोक्रेटिक पार्टीका बाइडेनको अग्रता, मतसर्वेक्षण जस्तै आउँला त नतिजा ?

अमेरिकी चुनाव : डेमोक्रेटिक पार्टीका बाइडेनको अग्रता, मतसर्वेक्षण जस्तै आउँला त नतिजा ?


एजेन्सी । अमेरिकी राष्ट्रपतिको चुनावको तिथि नजिकिँदै गर्दा चुनावी मतसर्वेक्षणले पनि तिब्रता पाउन थालेको छ । राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई अहिलेसम्मका मतसर्वेक्षणले अग्रता कायम राखेका छन् । पछिल्ला अधिकांश मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले अग्रता बनाएका छन् ।

एनबिसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिन अघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गरेका छन् । एनबिसीका अनुसार चुनावी मत सर्वेक्षणमा सहभागी बिल म्याकइन्टर्फले राष्ट्रव्यापी मत सर्वेक्षणमा १० प्रतिशत अग्रता बनाए पनि चुनावी परिणामका बारेमा यसै भन्न नसकिने बताएका छन् । चुनाव अघिको मत सर्वेक्षणमा बाइडेनले ट्रम्पभन्दा ६ प्रतिशत विन्दुले मात्र अग्रता बनाइराखेको देखिन्छ । चुनावी नतिजालाई एरिजोना, फ्लोरिडा, जर्जिया, आयोवा, मेन, मिसिगन, मिनेसोटा, नर्थ क्यारोलिना, न्यू ह्याम्पसायर, नेभाडा, पेन्सिलभेनिया र विस्कन्सिनको परिणामले फेरबदल गर्ने आँकलन गरिएको छ ।

गत अक्टोबर २९ देखि ३१ तारिखसम्मको मतसर्वेक्षणले ५७ प्रतिशत मतदाताले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई नरुचाएको देखाएका छन् । तर अर्थतन्त्रका सन्दर्भमा राष्ट्रपति ट्रम्पलाई झण्डै ५५ प्रतिशतको समर्थन छ । चुनावी नतिजा उलटफेर गर्न सक्ने “ब्याटलग्राउन्ड” नाम दिइएका केही राज्यहरुमा मतदातालाई आफूतिर तान्न राष्ट्रपतिका दुबै आकाँक्षी अन्तिम चुनावी सभामा छन् ।

अमेरिकी चुनाव परियोजनाका अनुसार आइतबार दिउँसोसम्म ९ करोड ३० लाखभन्दा बढी अमेरिकीले मतदान गरिसकेका छन् । यो संख्या सन् २०१६ मा गणना गरिएको कूल मतको झण्डै ६८ प्रतिशत हो । अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ । Pic:9News



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ