Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसुरक्षित तबरले अष्ट्रेलिया प्रवेश खुलाउने तयारी, विद्यार्थी पहिलो प्राथमिकतामा

सुरक्षित तबरले अष्ट्रेलिया प्रवेश खुलाउने तयारी, विद्यार्थी पहिलो प्राथमिकतामा


ब्रिजवेन । अष्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले विस्तारै र सुरक्षित तबरले अष्ट्रेलिया प्रवेश खुलाउने तयारी भइरहेको बताउनुभएको छ । टजले कोभिड–१९ का कारण पछिल्लो आठ महिनादेखि सर्वसाधारण र विद्यार्थीहरूका लागि बन्द रहेको अष्ट्रेलियाको बोर्डरलाई प्राथमिकताको सुचिमा राखेर सुरक्षित वातावरणमा खोल्ने तयारी थालिएको जानकारी दिनुभएको हो ।

टजले सबैभन्दा पहिला भिषा लागेर बसेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई सुरक्षित रुपमा बिस्तारै अष्ट्रेलिया आगमन खुल्ला गरिने बताउनुभयो । कोरोना भाइरसको सक्रंमण बढेपछि गत आठ महिनादेखि विदेशी,पर्यटक तथा विद्यार्थीहरू अस्ट्रेलिया आउनबाट रोकिएका छन् । विद्यार्थीलाई प्राथमिकतामा राखिएपनि पर्यटक र सर्वसाधारणको हकमा कोभिडबाट सुरक्षित राष्ट्रहरूको प्राथमिकता हेरेर बिस्तारै आगमन खुल्ला गरिने उहाँले बताउनुभयो । यसअघि चाल्र्स डार्बिन विश्वविद्यालयले आफ्ना ७० जना विद्यार्थीहरूलाई पहिलो चरणको कार्यक्रम अन्र्तगत डार्बिन ल्याउने जानकारी गराइसकेको छ । यसलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सुखद् समाचारका रुपमा हेरिएको छ । कोभिडको महामारीकाबीच अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउने पहिलो राज्य डार्बिन बन्नेभएको छ ।

साउथ अस्ट्रेलिया भने आफ्ना तीन सय अन्तर्राष्ट्रिय विद्यार्थी फिर्तीको लागि राज्य सरकारको अन्तिम निर्णय कुरिरहेको छ । न्यु साउथवेल्सको हकमा भने २०२१ को प्रारम्भमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सुरक्षित तवरमा क्वारेन्टाइनसहित आगमन खुला गर्न लागिएको मन्त्री टजले बताउनुभयो । चार्ल्स डार्विन विश्वविद्यायलयका उपकुलपति एन्ड्रयु एभर्टले हरेक वर्ष नर्दन टेरोटेरी सरकारलाई अन्तर्राष्ट्रिय विद्यार्थी मार्फत ९९ मिलियन डलरको आम्दानी हुने र पाँच सय उद्योगमा रोजगारको सहयोग हुनेहुँदा विद्यार्थी आगमनको तयारीको कदम उपलब्धिमुलक भएको बताउनुभएको छ ।

करिब ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययन गर्ने अस्ट्रेलियाले यस बापत वर्षेनी ३७.६ बिलियन डलर आम्दानी गर्नेगरेको छ । यसले मुलुकको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याउनेगरेको छ । कोरोना महामारिका कारण पछिल्लो आठ महिनामा अष्ट्रेलिया बन्द हुँदा एक लाख २० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अष्ट्रेलिया आउनबाट रोकिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ