Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News९ महिना थपियो ठेक्काको म्याद, कहिले बन्छ धरहरा ?

९ महिना थपियो ठेक्काको म्याद, कहिले बन्छ धरहरा ?


काठमाडौं । निर्माणाधिन धरहराको निर्माण अवधि ९ महिना थपिएसँगै रमन कन्ट्रक्सनले कामलाई तिब्रता दिएको छ । कोभिड १९ को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको कारण देखाउँदा ठेकेदार पक्ष रमन कन्स्ट्रक्सनले २१ महिना ठेक्का अवधि बढाउन माग गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले ९ महिना समय थपेको छ । धरहराको संरचना र मेसमेन्टको काम करिब करिब अन्तिम चरणमा पुगेपनि मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले समयमै काम गर्ने उद्देश्यसहित रमन जेभीले निर्माणको कामलाई तिब्रता दिएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७७ असोज २० गते (२०२० अक्टोबर ६ तारिख) भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा ठेक्का सम्झौता गरेको थियो । रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेपनि तिब्र गतिमा अघि बढेको काम कोरोना महामारिको बन्दाबन्दीसँगै सुस्त बनेको थियो । रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुँने कारणले समय थप्नुपरेको जानकारी दिनुभयो । अहिले सम्म धरहराको १६ तल्ला ढलान भइसकेको छ भने धरहराको अन्डरग्राउण्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम जारी छ । जहाँ ४ सय वटा सानो गाडि र ७ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने छ । मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएका कारण धेरै काम बाँकी रहेको रमन कन्ट्रक्सनले जनाएको छ । मागेको भन्दा निक्कै कम समय थपिएका कारण यो समयमा पूर्ण रुपमा काम सम्पन्न गर्न चुनौति रहेको प्रोजेक्ट म्यानेजर श्रेष्ठले बताउनुभयो ।

२२ तला रहेको धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ । धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल ३ सय ५० जनाले काम गरेकोमा लकडाउनको बेला २०–२५ जनाको संख्यामा कामदार राखेर निर्माण जारी राखिएको थियो । अहिले २ सय ५० जना कामदारहरु मार्फत कामलाई तिब्रता दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ