Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाललाई स्वर्ग ठान्ने अष्ट्रेलियन, ११ वर्षदेखि सगरमाथामा जिउने कला सिकाउदै

नेपाललाई स्वर्ग ठान्ने अष्ट्रेलियन, ११ वर्षदेखि सगरमाथामा जिउने कला सिकाउदै


सरल गुरुङ /ब्रिजवेन
अष्ट्रेलियाको ब्रिजवेनस्थित कंगारु पोइन्टको घरमा पुग्दा, प्रख्यात नेतृत्व प्रशिक्षक बर्नी केली नेपालबाटै ल्याएको हाफ कट्टु लगाएरै बसिरहनु भएको थियो । बौद्ध र हिन्दु धर्मको आकृति अंकित उक्त हाफ कट्टुले नै उहा नेपालप्रति कति आशक्त हुनुहुन्छ भन्ने झल्किन्थ्यो । ६० वर्षिय बर्नीले दुइ हात जोडेर स्वागत गर्दा गर्व पनि महशुस भयो । कालो कफि र ह्याम चिज ब्रेडबाट गफ सुरु गर्यौ ।

मोटिभेसनल स्पिकर तथा लिडरसिप कोचका रुपमा प्रख्यात बर्नी केली दुइ दशक सेवा गरेवापत प्राइड अफ अष्ट्रेलिया बाट विभूषित हुनु भएको छ । त्यस्तै दुइ पटक कुइन्सल्याण्ड अफ द एयर र योङ अष्ट्रेलियन अफ द एयरमा समेत मनोनित हुनुभएको छ । सन् १९८६ मा अमेरिकामा १० हजार दर्शकका अगाडी दिएको भाषणले बर्नीलाई पब्लिक स्पिकिङको विश्व च्याम्पियनसिपमा तेस्रो स्थान दिलायो । उक्त विजयले बर्नीलाई विश्वस्तरमा यस्तो खाले उपाधी पाउने पहिलो कान्छा अष्ट्रेलियन युवा बनायो ।  यहिबाट युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास गराउन बर्नी सक्रिय रहदै आउनु भएको छ । तीस वर्ष अघि युवाको व्यक्तित्व विकास उत्प्रेरित गर्न बर्नीले संस्था नै स्थापना गर्नु भएको छ, त्यसलाई हाल वाइलिड भनिन्छ । यो संस्थाले हाल वार्षिक २० हजार विद्यार्थीलाई नेतृत्व विकासको प्रशिक्षण दिदै आएको छ ।
‘नेतृत्व यस्तो सिप हो जसले आफुले टेकेको धर्तीलाई सुन्दर बनाउन भूमिका खेल्छ’-बर्नी भन्नुहुन्छ । हाल ग्लोबल इमरसन भन्ने संस्थामार्फत बर्नीले अष्ट्रेलियन युवालाई विकास र नेतृत्वमा अभिप्रेरित गर्दै आउनु भएको छ । हरेक हप्ता नयाँ नयाँ विद्यालय, क्याम्पस र विभिन्न व्यवसायिक कार्यलयहरु पुगेर बर्नीले युवाहरुलाई अभिप्रेरित गरिरहनु भएको छ । मेरो र बर्नीको भेट चाहि उहाँ उत्तर कुइन्सल्याण्डको मकाई भन्ने स्थानमा प्रशिक्षणका लागि जान लागेको बखत भएको हो ।

सन् २००९ देखि बर्नीले अष्ट्रेलियन युवाहरुलाई सगरमाथाको काखमा लगेर नेतृत्व विकासको कला सिकाउदै आउनु भएको छ । नेपालको पाखा पखेरा, हिमाल र संस्कृति देखाएर बर्नीले अष्ट्रेलियन युवालाई बाच्ने र जीवनमा अगाडी बढ्ने कला सिकाउने गर्नु हुदो रहेछ ।

सगरमाथा आरोहीको सल्लाहले पुगे नेपाल

मानिसमा प्रेरणा जगाउनु समान्य कुरा होइन । त्यसका लागि ज्ञान, करुणा र प्रयास आवश्यक पर्दछ । ज्ञानको खोजीमा घुमफिरमा रमाउने बर्नीलाई नेपाल पुर्याउने श्रेय भने सगरमाथा आरोही माइकल ग्रुम जान्छ । अष्टेरेलियन नागरिक माइकल विश्वका ४ वटा अग्ला हिमालहरु आरोहण गर्ने चौथो व्यक्ति हुन् । माइकलकै कथामा हलिवुड सिनेमा एभरेष्ट बनेको छ । साथी माइकलकै सल्लाहमा बर्नी पहिलो पटक ९० को दशकमा नेपाल पुग्नुभएको थियो । पछि सन् २००९ मा १६ जना युवा लिएर बर्नी पहिलो पटक नेपाल पुग्नुभएको हो । सगरमाथा बेसक्याम्पको यात्राका क्रममा बर्नीले ती युवालाई जीवनको पाठ सिकाउन सफल हुनुभयो । त्यसपछि हरेक वर्ष सेप्टेम्बरमा नया नया युवाहरुलाई जम्मा पारेर सगरमाथा यात्रा गर्दै आउनु भएको छ । यसपाली कोरोनाका कारण स्थगित यात्रालाई अर्को सेप्टेम्बरमा गर्ने बर्नीको तयारी छ ।

नेपालबाहेक तान्जानिया र पेरुमा समेत युवा लगेर जीवन बाच्ने कला सिकाउने बर्नीले यात्राका क्रममा समाजसेवा गर्न समेत युवाहरुलाई हौसाउने गर्नुभएको छ । काठमाडौको अपाङ्गता भएका बालबालिकाका लागि खोलिएको खगेन्द्र भोकेसनल विद्यालयमा बर्नीको टिमले सहयोग गर्दै आएको छ । हालै मात्र बर्नीको टोलीले खगेन्द्र विद्यालयका लागि दुइ वटा भवन निमार्ण गरिसकेको छ । हरेक वर्ष बर्नीसंगै गएका युवाहरुले खगेन्द्र विद्यालयमा स्वयमसेवा समेत गर्दै आएका छन् । त्यस्तै सगरमाथा क्षेत्रका विद्यालयहरुमा समेत बर्नीको समुहले सहयोग प्रदान गर्दै आएको छ । कुराकानीका क्रममा बर्नीले नेपालमा थप सहयोग गर्दै जाने बाचा गर्नुभएको छ ।

नेपालमा हिडेरै ध्यान गर्न सकिन्छ

मैले सोधे नेपाल चाहि किन जाने रु लामो स्वास फेर्दै बर्नीले भन्नुभयो, प्रकृति, प्रेम र वर्तमानमा जिउनका लागि । प्रकृतिका लागि भन्ने त बुझें प्रेम र वर्तमानमा जिउनका लागि चाहि कसरी रु मैले जिज्ञासु हुदै सोधे ।
बर्नीले कथा सुरु गर्नुभयो अहिलेको कोलाहाल जीवनको उतारचढावबाट । दुइ फरक जोडीले आफ्नो २० वर्षे वैवाहिक सम्बन्ध तोड्छन् । एउटा जोडीले एकअर्कालाई आफ्नो २० वर्ष खेर फालिदिएको भन्दै आरोप लगाएर घृणा र पछुतोमा रुमेलिन्छ । तर, त्यस्तै सम्बन्ध तोड्ने अर्को जोडी चाहि अहिलेसम्मको साथलाई एकअर्कालाई धन्यवाद दिदै, बाँकी जिवन थप उर्जा र लगनका साथ जिउन तयार हुन्छ । बर्नीले प्रश्न गर्नुभयो सरल, आखिर यहाँ कुन जोडी सहि हो रु मैले भने – ‘यहाँ सहि गलत भन्दा पनि वर्तमानलाई कसरी ग्रहण गर्ने भन्ने कुरा महत्वपुर्ण छ ।’ बर्नीले मुस्कुराउदै भन्नुभयो -‘तपाईले मेरो कुरा बुझ्न सक्नुहुन्छ ।’ बर्नीले थप्नुभयो -‘मानिस विगतलाई सम्झेर वर्तमानमा घृणा र दोष लिएर बाचिरहेको हुन्छ । त्यहि कारण उ वर्तमानमा खुसी भएर बाच्न सक्दैन । विगतको छायाँबाट मुक्ती पाउनका लागि सबैभन्दा उत्तम उपाय भनेको ध्यान हो ।’ बल्ल बर्नीले नेपालको महत्वबारे रहस्य खोल्नुभयो ।

बर्नी केली र पत्रकार सरल गुरुङ ब्रिजवेनमा

‘अहिलेको यो कोलाहालमा ध्यान गर्नु संभव हुदैन । सबै मानिससंग एकाग्र भएर ध्यान गर्न सक्ने क्षमता पनि हुदैन । त्यसैले नेपाल यस्तो ठाउ हो जहा डाडापाँखा र हिमालको काखमा हिडेरै ध्यान गर्न सकिन्छ । नेपाल ध्यान केन्द्र हो, जहाँ गएर मानिसले विगतको उतार चढाव बिर्सिएर वर्तमानमा आफुलाई पाउनेछ । जब मानिसले वर्तमानमा जिउन सिक्छ, बल्ल उसले प्रेमको अर्थ बुझ्छ ।’ बर्नीले बेलिबिस्तार लगाउनुभयो -‘जब मानिसले प्रेमको अनुभव गर्छ, तब उसले सबैलाई समान र मायाको दृष्टी हेर्छ अनि शान्तिको अनुभव गर्छ ।’
त्यसैले नेपालको पाखा र हिमालको काखले दिने आनन्द अन्त कतै पाइदैन । त्यहि प्रेम र वर्तमानमा जिउन आफु हरेक वर्ष हिमालको काखमा जाने र अरुलाई पनि त्यहा जान उत्साहीत गर्दै आएको बर्नीको भनाई छ ।

अष्ट्रेलियाका नेपालीलाई प्रशिक्षण दिन तयार

बर्नीसंग नेपालका विभिन्न संभावनाका बारेमा चर्चा भयो । अन्य चर्चाहरु अर्को सन्दर्भमा लेखौला । तर, बर्नीले अष्ट्रेलियामा रहेका नेपाली बारे देखाएको चिन्ता उल्लेख गर्न चाहान्छु । विश्वमै कहि नभएको प्राकृतिक सौन्दर्य भएर पनि नेपालीले गर्वका साथ आफ्नो अष्ट्रेलियन साथीलाई सुनाउन नसकेकोमा बर्नीलाई चिन्ता रहेछ । नेपालीहरु यहा आएर आफुलाई अष्ट्रेलियनहरुभन्दा सानो र कमजोर हु भन्ने भ्रममा हुन्छन् । खासमा यो देशमा सबैले समानताको अनुभुति गर्न सक्छ बर्नीले भन्नुभयो त्यसैले सबै नेपालीले गर्वले आफ्नो अष्ट्रेलियन साथीलाई नेपाल घुम्न निम्तो दिनुपर्छ । यहा रहेका नेपालीलाई उर्जा र अभिप्रेरित गर्न आफुले प्रशिक्षण दिन तयार रहेको बर्नीले बताउनुभयो । यहाको नेपाली समुदायले निम्तो दिएमा आफ्नो ज्ञान बाड्न सदैव तयार रहेको बर्नीको भनाई छ ।

 


ट्याग : #australian, #bernie kelly, #Everest basecamp, #nepal, #news
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ