Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा धेरै खबरहरु बने । ती मध्ये प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ सहित ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा यी संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा मात्रै २१६ जना संक्रमित थपिएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ पुगेको छ । मोरङ पर्सा, महोत्तरी, सर्लाही, रौतहट र काठमाडौंमा ५ सय भन्दाबढी सक्रिय संक्रमित रहेका छन भने मुस्ताङ, म्याग्दी र हुम्लामा शून्य संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३६ जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १८ हजार ३ सय ५० पुगेको छ । सक्रिय संक्रमित मध्ये ८ हजार ७०५ जना कोभि लगायतका संस्थागत आईसोलेसनमा र ३ हजार ९ सय १६ जना होम आइससोलेसनमा रहेका छन् । ११ हजार ६ सय ५८ जना क्वारेन्टिनमा रहेका छन् । आइसीयूमा उपचाररत संक्रमितको संख्या १ सय ३५ रहेको छ । प्रदेश एकका १५ जना, प्रदेश २ का ४६ जना बागमती प्रदेशमा ५२ जना गण्डकी प्रदेशमा ६ र प्रदेश पाँचका १६ जनाको आईसीयूमा उपचार भइरहेको छ । बागमती प्रदेशमा १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । थप ९ जनाको मृत्यु भएसँगै कोरोनो भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ४६ पुगेको छ ।

काठमाडौंमा महानगरको डिसइन्फेक्सन अभियान
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला काठमाडौं महानगरपालिकाले शहरका बिभिन्न स्थानमा निःसंक्रमण (डिसइन्फेक्सन) को काम थालेको छ । शनिबार बिहानैदेखी महानगरले ट्यांकरबाट औषधि छर्किएर निःसंक्रमण अभियान सुरु गरेको हो । सडक, सडक किनारका संरचना र बोटबिरुवाहरुमा औषधि छर्किइएको छ । न्यूरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, शंकरदेव, प्रदर्शनीमार्ग, सिंहदरबार पश्चिम गेट, थापाथली, परोपकार प्रसूति गृहलगायतका स्थानमा निःसंक्रमण गरेको महानगरले बाँकी स्थानमा समेत अभियान जारी राख्ने जानकारी दिएको छ । काठमाडौं जिल्लामा दैनिक सय बढी संक्रमित थपिएर संक्रमितको संख्या २ हजार बढी पुगेको छ ।

स्वास्थ्यकर्मीमाथी दुब्यवहार
सरकारले स्वास्थ्यकर्मीहरुलाई असहयोग नगर्न र मनोबल बढाउनेगरि सहयोग गर्न बारम्बार सचेत गराईरहँदा काठमाडौं बानेश्वरस्थित मिलनचोकमै दुब्यवहार सहनु परेको छ । स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेर घर भाडामा दिने होस्टेल सञ्चालक रोहित रानालाई गाली गलौजसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका हुन् ।

सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालकलाई बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका पचास साठी जनाको समूहले धम्क्याएर अभद्र व्यवहार गरेको थियो । स्थानीयले कोरोनाको महामारीको समयमा अनुमति बिना किन स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको भन्दै धम्क्याएको पीडितले बताए । बानेश्वरमा २ वटा होस्टेल सञ्चालन गरेका रानाले खाली भएको एउटा होस्टलमा भदौ ४ गतेदेखि केही स्वास्थ्यकर्मीलाई राखेका थिए । स्वास्थ्यकर्मीबाट कोरोना सर्न सक्ने भन्दै विभिन्न ठाउँमा दुर्व्यवहारको घटना हुँदै आएका छन् ।

किन विकेन स्वदेशी सेनिटाइजर ?
सेनिटाइजरको उत्पादन गर्ने भनेर दर्जनौं उद्योगले अनुमति पाइरहेको र उत्यादन नै सुरु गरेको भए पनि नेपालमा दोस्रो मुलुकबाट हुने आयात रोकिएको छैन् । बरु थप वृद्धि भएको पाइन्छ । नेपालमा कोरोना भाइरस संक्रमण फैलिएसँगै विदेशबाट साढे २४ करोडभन्दा बढी मूल्यकोे सेनिटाइजर आयात भएको भन्सारको तथ्यांक छ । भन्सार विभागको तथ्यांकअनुसार गतवर्ष कोरोना भाइरस संक्रमण देखिएपछि २४ करोड ५४ लाख ६९ हजार रुपैयाँ बराबरको ५३ लाख ९ सय ८९ केजी सेनिटाइजर आयात भएको थियो । पहिलोपटक लकडाउन सुरु भएपछि ४० वटा उद्योग दर्ता भएर ३० भन्दा धेरैले उत्पादन नै गरिरहेका छन् । यी उद्योगले १ सय २० ब्रान्डका सेनिटाइजर उत्पादन गरिरहेका छन् । विभागमा दर्ता भएका उद्योगमा स्वदेशी र आयात हुने सेनिटाइजर दुवै पर्छन् । दर्ता भएका सेनिटाइजरमध्ये ९५ प्रतिशतभन्दा धेरै स्वदेशी उद्योग छन् ।

स्वदेश मै गुणस्तरीय सेनिटाइजर उत्पादन गर्ने औषधि उद्योग हुँदाहुँदै सरकारले भने भारतबाट हुने गुणस्तरहीन सेनिटाइजर आयातलाई सहयोग गरिरहेको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले सस्तोका नाममा भारतबाट कमशल सेनिटाइजर आयात भएको बताए । स्वदेश मै ठूलो संख्यामा सेनिटाइजर उत्पादन गर्ने उद्योग हुँदाहुँदै आयात उच्च हुनुको प्रमुख कारण लागत मूल्य नै हो । कतिपय व्यवसायी भने यसमा कमिशनको खेल भएको बताइरहेका छन् । औषधि व्यवस्था विभागले कानुनअनुसार दर्ता भएर मात्र आउन दिने, गुणस्तर परीक्षण गर्ने भनेर प्रतिवद्धता जनाएपनि सेनिटाइजर ल्याउन खोल्ने एलसी रोक्न राष्ट्र बैंकलाई चिठी लेख्ने सकेको छैन । नेपालमा सेनिटाइजरको कच्चा पदार्थमा लाग्ने अन्तःशुल्क र भ्याट हटाएर स्वदेशी उत्पादनलाई प्रोत्साहन सहित सस्तो बनाउनु पर्ने माग व्यवसायीहरुले गर्दै आएका छन् ।

लागूऔषध सहित पक्राउ
काठमाडौं । रुकुम (पूर्व), पुथा उत्तरगंगा गाउँपालिका १४ देवखोलाबाट करिब ५ केजी ९ सय ६५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने कालो पदार्थ सहित २ जना पक्राउ परे । सोही गाउँपालिका ९ खारावाङ बस्ने २१ वर्षीय थमचन्द्र रोका र सिस्ने गाउँपालिका १ भट्टेचौर बस्ने २६ वर्षीय अमित विसी प्रहरीबाट पक्राउ परेका हुन् । यस्तै, चितवनको भरतपुर महानगरपालिका १८ चनौली बजारबाट बा.३ ख ७९५८ नम्बरको मिनीट्रकमा लुकाई छिपाई ल्याएको करिब ४५ केजी अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परे । मिनीट्रकका चालक धादिङ धाक्रेका ईन्द्रबहादुर तामाङ र सहचालक दोर्जे तामाङ पक्राउ परेका हुन् ।

प्युठान, सरूमारानी गाउँपालिका ३ कासकोट बस्ने ६२ वर्षीय तोमे बहादुर सामतलाई २१ केजी ८ सय ६० ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको थियो । उदयपुर, बेलका नगरपालिका ८ बस्ने ४९ बर्षीय भुपाल राई सहित ३ जनालाई अन्दाजी ७ केजी लागूऔषध गाँजा र नगद ३३ हजार रुपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको थियो । बाँकेको नेपालगंज उपमहानगरपालिका ११ सुनार मन्डीस्थित सुनचाँदी पसलबाट अन्दाजी ५ ग्राम ३ सय मिलिग्राम लागूऔषध ब्राउनसुगर र नगद ३३ हजार रुपैयाँ सहित २ जना पक्राउ परेका छन् । मोरङ, जहदा गाउँपालिका ३ हातीबंदाबाट १४ केजी लागूऔषध गाँजा शनिबार बिहान प्रहरीले बरामद गरेको थियो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ