Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहरेक बिहान पढ्नैपर्ने, नेपालका प्रमुख पाँच खबर

हरेक बिहान पढ्नैपर्ने, नेपालका प्रमुख पाँच खबर


काठमाडौं । कोरोना कहर, रासनदेखी तरकारीसम्म थपिदै गरेको महंगी देखी राजनीतिक उतार चढावले नेपाल र नेपालीलाई पिरोलेको छ । पछिल्लो २४ घण्टाका मुख्य समाचार यस्ता छन् ।

१. संख्या घटेपनि बढ्दै कोरोनाको जोखिम
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सहित थप २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा मोरङका ८, सुनसरीका १, सप्तरीका २, सर्लाहीका १, धनुषाका १२, महोत्तरीका १४, पर्साका ३४, भक्तपुरका १, धादिङका ७, कपिलवस्तुका २, काठमाडौका १४, नवलपरासीका २, रौतहटका १, बागलुङका ७, स्यङजाका २६, म्याग्दीका २, तनहुँका १, सुर्खेतका १, बैतडीका २, डोटीका ५२, कैलालीका ८ तथा कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४६ जना संक्रमित निको भएर घर फर्किदा १४ हजार २१ जनाले कोरोना जितेका छन् । ७२.७ प्रतिशत संक्रमित निको हुँदा भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ बुधबार संक्रमणमुक्त जिल्ला बनेका छन् । बुधबार साँझसम्म आइसोलेसनमा ५ हजार ३६० र क्वारेन्टाइनमा १४ हजार ४७१ रहेका छन् । बुधबारमात्रै ३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।

२. फेरिए नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी वरिष्ठ उपरिक्षक(एसएसपी कुवेर कडायतले पाएका छन् । निरज शाही अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि रिक्त ठाउँको जिम्मेवारी यसअघि सहप्रवक्ताको जिम्मेवारीमा रहेका कडायतलाई दिइएको हो । एआईजीमा बढुवा भएर जुलाई ३० मा दर्ज्यान्ही चिन्ह ग्रहण गरेका शाहीलाई मानव श्रोत विभाग र प्रधुम्न कार्कीलाई प्रहरी एकेडेमीको जिम्मेवारी दिइएको छ ।

३.नेकपामा केन्द्रीय कमिटि बैठकको माग
नेकपा केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ नेताले पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका छन् । नेकपाभित्र विवाद चुलिरहेका बेला १५२ नेताहरुले केन्द्रीय कमिटी बैठकको माग राख्दै बुधबार पार्टी कार्यालय धुम्बाराहीमा हस्ताक्षेर बुझाएका हुन् । शिर्ष नेताहरुबीचको आन्तरिक विवादकै कारण स्थायी कमिटी बैठक पटक(पटक स्थगित भइरहेको समयमा नेताहरुले तत्काल केन्द्रीय कमिटी बैठकको माग गरेका हुन् । केही समय पहिलेदेखि नै संकलन गरिएका हस्तक्षर बुधबार अपरान्ह महासचिव विष्णु पौडेललाई बुझाउने भनिए पनि उनी सहभागी नभएपछि केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललाई बुझाएको थियो ।

पार्टीको आन्तरिक किचलोको निकास सचिवालय र स्थायी समितिले दिन नसकेका कारण केन्द्रीय कमिटिबाट निकास खोज्नुपर्ने नेताहरुले बताएका छन् । नेकपाको कुनैपनि कमिटीका २५ प्रतिशतले माग गरेमा बैठक राख्नुपर्ने अन्तरिम विधानमा व्यवस्था गरिएको छ । यसअघि माघको १५ देखि १९ सम्म केन्द्रीय कमिटीको बैठक बसेको थियो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको बैठक राखेसँगै नेकपा विवाद थप चुलिएको छ ।

४. आकासियो हरियो तरकारीको मुल्य
लकडाउन खुलेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बाक्लिएको छ । बाहिरबाट काठमाडौं भित्रिनेहरु बढेसँगै अत्यावश्यक वस्तु तरकारीको मागसँगै मूल्य पनि ह्वातै बढेको छ । काठमाडौँमा मानिसहरुको चहलपहलसँगै तरकारीको मूल्यमा दैनिक प्रतिकेजी २० रुपैयाँका दरले बढेको व्यवसायीहरु बताउँछन् । वर्षादले बाटोमा अबरोध हुँदा तरकारी कम आएको तथा व्यापार पनि कम भएको भनिदैगर्दा मुल्य भने दिनप्रतिदिन आकासिएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति बर्खाको सुरुवातसँगै तरकारीको मूल्य वृद्धि हुने नियति नै बनिसके पनि कोभिड–१९ का कारणले तरकारीको आयात र उत्पादनमा कमि आएकाले मूल्यमा वृद्धि भएको बताउँछ । सामान्य अवस्थामा यस सिजनमा करिब सात सय टन तरकारी आयात हुने गरेकोमा करिब साढे पाँच सय टनमात्र आयात भएका कारण समेत मुल्य बढेको देखिन्छ । केही समय अघि मात्रै किलोको ४०, ५० मा पाइने बोडी, टमाटर, काउली घिरौला, करेला, सिमीको मुल्य एकाएक बढेर अहिले १ सय ५० हाराहारी पुगेको छ । अधिकांश हरियो तरकारीको मुल्य प्रति किलो सयबाट उकालो लागेको छ । मुल्य बृद्धीको मार दशैतिहारसम्मै कायम रहने कतिपय व्यवसायीहरु बताउँछन् ।

५. नेटवर्किङ व्यवसायमा संसदीय समितिको चासो
वस्तुको प्रत्यक्ष बिक्रीका नाममा पुरानै नेटवर्किङ व्यवसायीले इजाजत पाएपछि संसदीय समितिले सरोकारवालासँग छलफल गर्ने भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले लाई ३० तारेख बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरोकारवाला निकायलाई छलफलका लागि बोलाउनुभएको हो । विगतमा ठूलो लफडा भएर बन्द गरिएका नेटवर्किङ व्यवसायलाई नै लाइसेन्स दिन सुरु गरिएको बारे सम्बद्ध मन्त्रालयसँग जान्न खोजिएको सभापति श्रीवास्तवले बताउनुभयो ।

सरकारले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन ०७४ र नियमावली ०७६ अनुसार असार १६ यता ७ कम्पनीलाई इजाजत दिइसकेको छ । ऐनको दफा ३ मा इजाजतपत्र प्राप्त नगरी कसैले पनि तोकिएका वस्तुको प्रत्यक्ष बिक्री वा वितरणसम्बन्धी काम गर्न, गराउन नपाइने उल्लेख छ । दफा ११ मा पिरामिडमा आधारित व्यवसाय गर्न नहुने भनिएको छ । तर व्यवसायीले इजाजतबिनै निर्बाध रूपमा नेटवर्किङ व्यवसाय गरिरहेका छन् । आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि, नेचर हर्ब्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ नेपाल प्रालि, केयर मार्ट्स इन्टरनेसनल प्रालि, युटर्न इन्टरनेसनल प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिले इजाजत पाउँदा थप ६ कम्पनी इजाजतको प्रतीक्षामा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ