Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा एसिडकाे डर

नेपालमा एसिडकाे डर


काठमाडौं । कीर्तिपुर अस्पतालको बर्न वार्डको बेड नम्बर ३१५ को छेउमा बसेर मुस्कान खातुन र जेनी खड्का एसिड आक्रमणको सिकार भएकी पवित्रा कार्कीलाई सम्झाइरहेका छन् । कुनै समय एसिड छ्यापिएको कहालीलाग्दो घटना भोगेका मुस्कान र जेनी पवित्रालाई हौसला दिन अस्पताल पुगेका रहेछन् । जेनी र मुस्कानको साथले पवित्रा केही सम्हालिएको जस्तो देखिन्थिन् त कहिले छेउमा रहेकी माईली दिदी गंगा भट्टराईको हात समातेर टोलाउँथिन । एसिडको जलन र अनगिन्ती सुई घोचेको पीडाले रातभरि सुत्न नसके जस्तो निद्रा हराएका उनका आँखा राता राता थिए ।

छेउमा बसेकी मुस्कान पवित्रा दिदीलाई मोटिभेट गर्न आएको भन्दै बोल्न थालिन्–‘सरकारले जबसम्म एसिडको बिक्री वितरण रोक्दैन, तबसम्म यस्ता घटना भइरहन्छन् । एसिडको बिक्रीमा कडाइ गर्नैपर्छ,’ । उनले थपिन ‘दाग छिट्टो सञ्चो हुँदैन त्यसैले अगाडिको कुरा सोच्नुपर्छ । पछि के गर्ने र बन्ने भनेर सोच्नुपर्छ । आफू रोएर अपराधीको जित कहिल्यै हुन दिनु हुँदैन । बलियो भएर बस्नुपर्छ ।’छेउमै रहेकी जेनी पवित्राको हात समातेर बलियो हुने कोसिस गर भन्दै सम्झाउदै थिइन् । हालखबर बुझ्न अस्पताल पुगेका साथीभाइ देख्दा उनी बेचैन बन्थिन्– हामी केही घण्टा अस्पताल बस्दासम्म आँखाबाट लगातार साउने झरीझैं पवित्राका आँसु बर्सिरहेका थिए । पवित्रा बेलाबेला भक्कानिएर रुदा भेट्न आउने अधिकांश भाबुक बन्थे । झण्डै ज्यान नै गुमाएकी १५ वर्षीया मुस्कान र जेनी पनि यस्तै सन्कीकै सनको सिकार भएका थिए ।

पवित्रा घटना बारे यसो भन्छिन्–म कोठानजिक पुग्न लाग्दा बाटोमा एकजना मान्छे पर्खालतर्फ फर्केर पिसाब फेरेजस्तै गरेर उभिएको थियो । त्यसलाई देखेर पनि नदेखे झैं गर्दै म अगाडि हिँड्न थाले । बाटोमा कोही पनि थिएन । तर, ऊ त मलाई एसिड छ्याप्न बसिराखेको पो रहेछ । एक्कासी उसैले मलाई एसिड छ्याप्यो ।

यस्तो थियो एसिडकाे घटना
बिहीबार राति ७:५५ बजे सीतापाइलास्थित सेल्सबेरीबाट दही र चिउरा लिएर घर फर्किने क्रममा चिनेजानेकै व्यक्तिले घरको गेट नजिकै ढुकेर पवित्रा कार्कीलाई एसिड छ्यापेका थिए । एसिडले पोलेपछि दही चिउरा रुममा फालेर बाथरुम छिरेकी उनले मुख धोएर चिच्याएपछि छिमेकीले उद्धार गरेर पवित्रालाई सुरुमा मनमोहन अस्पताल पुर्याए । त्यसपछि उनलाई किर्तिपुर अस्पतालमा लगेर उपचार जारी रहँदा एसिड आक्रमणका दोषी मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महमदलाई प्रहरीले पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको छ । एकछोरा र एक छोरीका पीता आलमको प्रेम प्रस्ताव कार्कीले अस्विकार गर्दा एसिड आक्रमण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पवित्राको अनुहारको दायाँ गाला पोलिएको छ भने कपाल, घाँटी र हातमा हल्का छिटा परेको छ ।

नेपालमा एसिड घटनाकाे श्रृखला
बिहीबारको एसिड काण्ड काठमाडौंमा पछिल्लो ७ वर्षमा घटेको तेस्रो घटना थियो । प्रहरी प्रधान कार्यालयका अनुसार २०७१ यताका ७ वर्षमा मुलुकभर एसिड प्रहारका २१ घटना भएका छन् । १९ युवती र ४ पुरुषमाथि एसिड आक्रमण भएको छ । घटनामा संलग्न २७ पुरुष र २ महिला पक्राउ गरेको प्रहरीले २ जनामाथि कर्तव्य ज्यान, १३ जनामाथि ज्यान मार्ने उद्योग, एक जनालाई केही सार्वजनिक अपराध र ४ जनामाथि कुटपिट र अंगभंगमा कारबाही गरिएको छ । तर एसिड आक्रमणमा परेर अहिलेसम्म सुन्दरता गुमाएको पीडा ब्यहोर्नेहरु कडा कानुन नहुँदा यस्ता घटनाले निरन्तरता पाएको बताउँदै आएका छन् ।


ट्याग : #एसिड काण्ड, #काठमाडौं, #जेनी खड्का, #नेपाल, #पवित्रा कार्की, #मुस्कान खातुन
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ