Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख पाँच खबर : कोरोनाको कहरमा खुकुलो बनाइएको लकडाउनदेखी एसईई स्थगितसम्म

प्रमुख पाँच खबर : कोरोनाको कहरमा खुकुलो बनाइएको लकडाउनदेखी एसईई स्थगितसम्म


पुण्यप्रसाद धमला, काठमाडौं । कोरोनाको कहरले एसईई स्थगित गरेको सरकारले निरन्तरको लकडाउने आजित भएका व्यवसायीहरुलाई राहत दिन भन्दै पसल खोल्न दिने निर्णय गर्यो । संक्रमित बढ्दैगर्दा विश्व स्वास्थ्य संगठनले भने थप महामारीको जोखिमतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । यस्ता छन्, नेपालमा चर्चा र महत्व पाएका प्रमुख पाँच खबर

४ हजार ३ सय ६४ मा कोरोना संक्रमण
पछिल्लो २४ घन्टामा २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । हालसम्म ६ सय ७४ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज हुँदा १५ जनाको कोरोना संक्रमणका कारण ज्यान भएको छ ।

नेपालमा बुधबार साँझसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ वटा नमूना परीक्षण र आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको कोरोना परीक्षण सम्पन्न भएको छ । अहिलसम्म देशका ७७ जिल्ला मध्ये ७२ जिल्लामा कोरोना विस्तार भएको छ ।

खुकुलो बन्दै लकडाउन
सरकारले लडाउनको मोडालिटी परिर्वतन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कृषि, उद्योग र व्यापारलाई खुकुलो बनाउने निर्णय गरेको छ । बिहिबारदेखी नै लागू हुनेगरी काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूको जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनलाई केही खुकुलो पार्ने निर्णय सरकारले गरेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार भोलिबाट नै बजार खोल्न दिइने छ ।

ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएपनि सवारी साधनको अन्तिम नम्बर जोर भएकाहरु जोर दिन र बिजोर भएकाहरु बिजोर दिन चल्न पाउनेगरी व्यवस्थापन गरिएको छ । विद्यालय, सिनेमा हल, मनोरञ्जनात्मक व्यवसाय लगायतका धेरै भीडभाड हुने स्थानहरु भने तत्काल खुल्ने छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि निर्णय लिइने जानकारी गराएका थिए ।

पसल खोल्दा प्रहरीको अवरोध
न्यूरोड क्षेत्रका साना व्यापारी–व्यावसायीहरुलाई पसल खोल्न प्रहरीले रोकेपछि सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । लामो समयको लकडाउनले आफूहरु समस्यामा परेको भन्दै न्यूरोड क्षेत्रका व्यापारीहरुले २२ गतेदेखि आफैं पसल खोलेपनि मंगलबारदेखी प्रहरीले बन्द गराएपछि उनीहरु सरकारसँग रुष्ट बनेका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउनको निरन्तरताले व्यापार व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै आफूहरुका पाँच बुदे माग पुरा नभए सरकारलाई तालाचाबी बुझाउने बताउनुभयो । सरकारलाई बुझाउनुपर्ने कर लकडाउन अवधिको मिनाहा, घरभाडा मिनाहा, केरुङ लगायत विभिन्न नाकामा आएका सामान छिटो जाँचपास गरी नेपाल भित्राउने व्यवस्था गर्नुपर्न लगायतका पाँचबुदे माग सरकारसँग राखेको छ ।

एसईई परिक्षा स्थगित
कोरोना महामारीका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित परीक्षा नहुने भएको छ । बुधबार सरकारले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेसँगै नियमित परीक्षा नहुने भएको हो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भने एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइएको जानकारी दिनुभयो ।

विद्यालय तहमा आन्तरिक परीक्षा र मूल्याङ्कन हुने मन्त्री पोखरेलले बताउनुभयो । अब विद्यालयहरूले परीक्षा बोर्डमा पठाउने आन्तरिम मूल्यांकन नम्बरका आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गरिनेछ । गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमलाई कारण देखाउँदै चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयबाट स्थगित भएको थियो ।

थप महामारीको आँकलन
काठमाडौं । नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधि जस भ्यान्डेलरले नेपालमा कोरोना भाइरसको संकट अझै चुलिनसक्नेतर्फ सचेत गराएका छन् । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रमुख भलेरी जुलियान्डसहित बुधबार सञ्चारकर्मीहरुसँगको भिडियो अन्तरक्रियामा उनले नेपालमा कोरोना संक्रमित अझै बढ्न सक्ने भन्दै सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

लकडाउनलाई निरन्तरता दिए पनि वा खुकुलो बनाए पनि संक्रमित बढिरहने दाबी गरेका भ्यान्डेलरले कोरोना रोकथामका लागि मास्क लगाउने, हात धुने र सामाजिक दुरी राख्ने कुरा नै महत्वपूर्ण हुने बताउनुभयो । नेपालमा परीक्षण क्षमता र दायरा बढाउन भ्यान्डेलरले सरकारलाई सुझाव दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ