Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाको उपचार : मिलेन औषधीले सफलता, गरिदै खोपको प्रतिक्षा

कोरोनाको उपचार : मिलेन औषधीले सफलता, गरिदै खोपको प्रतिक्षा


पुण्यप्रसाद धमला, काठमाडौं एजेन्सी । गत डिसेम्बर अन्तिम सातादेखी चीनको वुहानबाट सुरु भएको कोरोनाको महामारी अहिले बिश्वव्यापी स्वास्थ्य समस्या बनेको छ । तर अहिलेसम्म नोबेल कोरोना कोभिड १९ को औषधि पत्ता लाग्न सकेको छैन । विश्वभरका वैज्ञानिकहरुले औषधि वा खोपका लागि अनुसन्धान गरिरहेका केही राष्ट्र तथा कम्पनीहरुले भने औषधि उत्पादन गरेर कोरोना संक्रमितको उपचारमा प्रयोग गरिरहेका छन् ।

विश्वभर फैलिएको कोरोना खोपको निर्माणमा धेरैको ध्यान केन्द्रित हुँदा सकारात्मक प्रभावको दाबी कुनै देशले पनि गर्न सकेका छैनन् । अहिलेसम्म १५० वटा खोपको परिक्षण भइरहेपनि मानवीय प्रयोगको सफलता मिल्न सकेको छैन । खोपको खोजी जारी रहँदा कोरोना भाइरस रोकथाम तथा उपचारका लागि विभिन्न औषधीहरुलाई समेत प्रयोगमा ल्याइएका छन् ।

प्रयोगात्मक औषधी निर्माण र प्रयोग गर्न केही देश र औषधीको नाम हेरौँ

१) एन्टिबडी एजिथ्रोमाइसिनका साथ हाइड्राँक्सीक्लोरोक्वीन, प्रयोगमा ल्याउने देश अमेरिका ।

२) रिमिडिसिभिर र एन्टी इन्फ्लेमेटर ड्रग बारिकिटिनिब, अमेरिकाको एलर्जी र संक्रामक रोगहरुको राष्ट्रीय संस्थाले प्रयोगमा ल्याएको

३) फ्याविलाभिर, प्रयोगमा ल्याउने देश चीन ।

४) लोसार्टन औषधी, पयोगमा ल्याउने मिनेसोटा विश्वविद्यालय

५) एथराइटिसको औषधी टोसिलिजुमाब (कटेम्रा) प्रयोगमा ल्याउने देश फ्रान्स ।

६) इभरमेक्टिन र डोक्सीसिक्लिन, प्रयोगमा ल्याउने देश बंगलादेश ।

७) फविपिरावीर वा अविगान, प्रयोगमा ल्याउने देश जापान ।

यी केही प्रतिनिधि औषधी मात्रै हुन् । विश्वभरका वैज्ञानिकहरु यतिबेला कोरोनाविरुद्धको खोप तथा औषधि आविष्कार र प्रयोगमा केन्द्रित छन् । तर कुनैपनि प्रयोग र खोजले सफलता हात पार्न सकेको छैन । विभिन्न औषधीको खोज र प्रयोग विभिन्न देशमा भएपनि कोरोनाको संक्रमणमा कमी आउन सकेको छैन ।यो समाचार तयार पार्दासम्म ५६ लाख ३३ हजार बढीमा कोरोना संक्रमण, साँढे तीन लाख पुग्न लागेको मृत्यु र करिब २४ लाख निको भएको तथ्यांकले स्थिति असामान्य देखाएको छ । विगत भन्दा उपचारपछि निको हुनेको संख्या बढ्नुले भने कोरोना जित्न सकिन्छ भन्ने आशा जगाएको छ ।

हुन त औषधीको प्रयोगले भन्दा पनि ८० प्रतिशतभन्दा बढी केसमा बिरामीकै रोग प्रतिरोधात्मक क्षमताका कारण निको भएको विभिन्न अध्ययनले देखाएको छ । सामान्तया १५–२० प्रतिशत बिरामीलाई मात्रै उपचारको आवश्यकता पर्ने कोरोना रोकथामको औषधी र खोपको प्रतिक्षा यतिबेला विश्वले गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ