नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र (फोटोफिचर सहित)
 क्यानबेरा
अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । 
दाहालले बुधबार क्यानबेरास्थित गभरमेन्ट हाउसमा आयोजित विशेष कार्यक्रममा गभर्नर जनरल डेबिड हर्लीसमक्ष प्रमाणपत्र बुझाएका हुन् । ओहोदाको प्रमाणपत्र बुझाएसंगै राजदूत दहालका लागि औपचारिक रुपमा अष्ट्रेलियामा नेपाल मिसनको नेतृत्व गर्न बाटो खुलेको छ । 
नवनियुक्त राजदूतले औपचारिक रुपमा कार्यभार सम्हानुअघि सम्बन्धित राष्ट्र प्रमुख समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुपर्ने अन्तराष्ट्रिय चलन छ । 
कार्यक्रममा राजदुत दाहालको सम्मानमा सेनाको एक टुकडीले गार्ड अफ अनर सलामी समेत दिएको थियो । 
ओहोदाको प्रमाणपत्र बुझाएपछि सम्बोधन गर्ने क्रममा राजदूत दाहालले सन् १९६० देखि नेपाल र अष्ट्रेलियाबिच सुमधुर कुटनैतिक सम्बन्ध रहदै आएको अवगत गराएको दुतावासले जारी गरेको विज्ञप्तीमा लेखिएको छ । 
सन् २०२० मा सम्बन्धको ६० औं वर्षगाठ मनाउने क्रममा रहेको भन्दै राजदूत दाहालले नेपाल र अष्ट्रेलियाले कुटनैतिक सम्बन्धलाई अझ बलियो बनाउदै जानुपर्नेमा जोड दिएको पनि विज्ञप्तीमा भनिएको छ ।  व्यापार, पर्यटन र लगानीको क्षेत्रमा दुबै देशले हातेमालो गर्नुपर्ने राजदूत दाहालको भनाई छ । 
कार्यक्रममा गभर्नर जनरल डेबिड हर्लीले राजदूत दाहाललाई कार्यकालको सफलताको शुभकामना दिएका थिए । उनले सन् २०१६ मा आफुले नेपाल भ्रमण गर्दाको अनुभव समेत साटेका थिए । 
तत्कालिन राजदूत लक्की शेर्पा विवादमा परेर स्वदेश फर्किएपछि झण्डै ६ महिनादेखि अष्ट्रेलिया राजदूत विहिन थियो । 
फोटोफिचर
 
 
 
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au





 
 
 
 









 
 
 
तपाईको प्रतिक्रिया