Monday, 29 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंको वायु प्रदुषण विश्वमै अस्वस्थकर,अरु कहाँको कस्तो ?

काठमाडौंको वायु प्रदुषण विश्वमै अस्वस्थकर,अरु कहाँको कस्तो ?


काठमाडौं । नेपालस्थित काठमाडौंको वायु प्रदूषणको स्तर विश्वकै अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार बुधबार बिहान साढे आठ बजेसम्म नेपालको राजधानी काठमाडौं वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा पुगेको हो ।

आईक्यू एयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४१ पुगेको छ । पाकिस्तानको लाहोरको दोस्रो स्थान २०६ र भारतको नयाँदिल्लीको २०४ एक्युआई मापन गरिएको छ । एक्युआई २०० भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा मानिसहरुलाई घरबाट ननिस्किन जनस्वास्थ्य विद्ले सुझाव दिने गर्दछन । काठमाडौं उपत्यकाभित्र पनि खुमलटार, रत्नपार्क र भक्तपुरको वायु प्रदूषणको अवस्था अत्यन्तै अस्वस्थकर देखिएको छ । नेपालको वातावरण विभागले बिहान मापन गरेको अनुसार खुमलटारको एक्युआई २५९, रत्नपार्कको २३२ र भक्तपुरको २१७ रहेको छ । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १९६, नेपालगञ्जको १७२, ललितपुर पुल्चोकको १६९ र पोखराको १५६ मापन गरिएको छ ।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्नेगर्दछ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।काठमाडौं उपत्यकासहित देशभर डढेलो लागेको, केही दिनयता पानी नपरेको र हावा जोडले नचल्दा वायु प्रदूषणको स्तर खस्किएको छ। अहिले पनि पूर्वदेखि पश्चिमसम्मै डढेलो लागिरहेको स्याटलाइट इमेजले देखाएको छ ।

मौसमविद गोविन्द झाले आज बिहान पनि काठमाडौंमा तुवाँलो लागेको, केही समय आकाश खुले पनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भवना नरहेको जानकारी दिनुभयो । चिकित्सकहरूले वायुप्रदुषणको जोखिम हेरेर सचेत हुन आह्वान गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ