Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा जान्छ सवारी दुर्घटनाबाट दैनिक ७ जनाको ज्यान, बढ्दै अपराधका घटना !

नेपालमा जान्छ सवारी दुर्घटनाबाट दैनिक ७ जनाको ज्यान, बढ्दै अपराधका घटना !


काठमाडौं । नेपालमा सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलन मार्फत नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालले सवारी दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको जानकारि गराउनुभएको हो ।

प्रहरीको तथ्यांक अनुसार एक दिनमा ६५ वटा सवारी दुर्घटना हुँदा ८३ जना घाइते हुने गरेका छन् । नेपालमा ६२ लाख ३८ हजार ३०१ सवारी साधन दर्ता भएका र ट्राफिक प्रहरीको संख्या २ हजार ७७० जना रहेको सार्वजनिक गर्दै ढकालले एउटा ट्राफिक प्रहरीले २ हजार २५२ वटा सवारी साधन हेर्नुपर्ने अवस्था बारे ध्यानाकर्षण गराउनुभएको छ । विगत एक वर्षको अवधिमा ट्राफिक प्रहरीले जरिवाना बापत १ अर्ब ८६ करोड ५२ लाख २६ हजार १५४ रुपैयाँ राजश्व उठाएका समेत प्रहरी प्रवक्ता ढकालले जानकारि गराउनुभएको छ ।

बढ्दै अपराधिक घटनाहरु
प्रहरीले २०७९ चैत्र १० गतेदेखि २०८० फागुन ३० गतेको अवधिसम्म ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको तथ्यांक सार्वजनिक गरेको छ । सबैभन्दा धेरै १७ हजार ३९७ अपराधको मुद्दा काठमाडौँ उपत्यकाका जिल्लाहरुमा दर्ता भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ९६५ अपराधका उजुरी दर्ता भएका छन् । प्रहरी प्रवक्ता ढकालले देशभरमा बैंकिङ कसुरका १३ हजार २७७ वटा मुद्दाहरु दर्ता भएको जानकारि दिनुभएको छ ।

महिला तथा बालबालिका सम्बन्धी २१ हजार १९७ वटा घटनाहरु दर्ता भएको उहाँले बताउनु भयो । जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका १६ हजार ७४१ वटा निवेदन दर्ता भइ ८ हजार ३४९ निवेदनहरु मिलापत्र भएको पाइएको छ । जबरजस्ती करणीको मात्रै २ हजार ४६८ वटा मुद्दाहरु दर्ता भएका छन् । यता, एक वर्षको अवधिमा आत्महत्याका ७ हजार १९४ घटनाहरु दर्ता भएका छन् । अपहरण तथा जबरजस्तीकरणी, जबरजस्तीकरणी गरी कर्तव्य, मानव बेचविखन तथा जबरजस्ती करणी जस्ता गम्भीर प्रकृतिका अपराधहरु ५ हजार १५० वटा दर्ता भएका छन् । लागुऔषधको ४ हजार २८४ वटा मुद्दा दर्ता हुँदा ६ हजार ५०८ जना प्रतिवादी पक्राउ परेका छन् । एक वर्षको अवधिमा सहकारी संस्थामा भएका अनियमितता सम्बन्धी देशभरमा १४९ वटा मुद्दा दर्ता भई २७१ जना प्रतिवादीलाई प्रक्राउ परेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ