Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल पपुवा न्युगिनीलाई हराउँदै त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा

नेपाल पपुवा न्युगिनीलाई हराउँदै त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा


काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले पराजित गरेर फाइनलमा पुगेको छ । नेपालले २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो ।

जितको लागि १ सय ९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भएको थियो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । नेपाली बलर सामु अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । गुलशन झा र आकाश चन्दले एक\एक विकेट लिएका थिए।

मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनका थिए । सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाएका थिए । टी-२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक थियो । नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७।३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए । विनोद भण्डारी २२ बलमा २ चौका र एक छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए । लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए । विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे । गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे । पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए । नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १–१ विकेट लिएका थिए ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएर एक एक अंक बाढिएको थियो । पपुवा न्युगिनीले आज नै हङकङसँग खेल्दैछ । यी दुई टिम बीचको विजेताले बुधबार नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ