Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalप्रधानमन्त्री प्रचण्डले पाए दोश्रो पटक विश्वासको मत, ४ दिनभित्र सरकारले पुर्णता पाउने

प्रधानमन्त्री प्रचण्डले पाए दोश्रो पटक विश्वासको मत, ४ दिनभित्र सरकारले पुर्णता पाउने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोश्रो पटक समेत विश्वासको मत पाउनुभएको छ । सोमवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमार्फत प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत पाउनुभएको हो ।

बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा १ सय ७२ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए । यस्तै एमाले, राप्रपासहितका ८९ सांसदले प्रस्तावको विपक्षमा मत दिँदा १ जना तटस्थ रहे । प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिनुभयो । यसअघि गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको थियो । त्यतिबेला प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । सरकार गठनका क्रममा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुभएको हो ।

४ दिनभित्रै सरकारलाई पूर्णता दिइने
प्रधानमन्त्री प्रचण्डले अबको चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिएर बाहिरिदैगर्दा प्रधानमन्त्री प्रचण्डले दुई÷चार दिनभित्रै सरकारलाई पूर्णता दिनेगरि सत्ता गठबन्धन दलमा छलफल गरेर अघि बढ्ने बताउनुभएको हो । सरकारलाई पूर्णता दिएपछि अर्थात चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र आफ्नो भारत भ्रमण हुनसक्ने समेत प्रधानमन्त्री प्रचण्डले खुलासा गर्नुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ