Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको तेश्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित, यस्तो छ विगत

नेपालको तेश्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित, यस्तो छ विगत


काठमाडौं । नेपालको तेश्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका यादवलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए । उपराष्ट्रपतिमा नन्दबहादुर पुन पासाङ एक कार्यकाल दोहोरिएकाले चौथो कार्यकालको उपराष्ट्रपतिको भुमिका यादवले सम्हाल्नेछन् । एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् । जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिएका थिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा सदस्यको मत पाएकी थिइन ।

उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता थिए । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । जस अनुसार रामसहाय प्रसाद यादवले कुल ३० हजार ३२८ र अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत भार पाइन् । ममता झाले २ हजार ५३७ र प्रमिला यादवले ४८ मत भार पाएकी छिन् ।

को हुन त उपराष्ट्रपति यादव ?
विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा रामसहायको जन्म भएको हो । श्रीमती दुई छोरा र एक छोरी रहेका यादवका दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम नेपालको महासचिव समेत बनेका यादव मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका यादव २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य बनेका थिए । मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाएका उनी राजनीतिक जीवन अघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशामा समर्पित थिए। बारा कलैयामा अवस्थित श्री पन्ना देवी कन्या माविमा उनी विज्ञान र गणित विषयको शिक्षक समेत बनेको अनुभव रहेको छ । भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गरेका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका यादवले भारतको सीतामढीबाट बिएससी अध्ययन पुरा गरेका छन् । सद्भावना अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सदभावना पार्टी विभाजनको विरोधमा आनन्दी देवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनसनमा बस्ने यादव पहिलो नेता थिए। उपेन्द्र यादवसँग भेट भएपछि उनी २०५९ सालमा मधेशी जनाधिकार फोरममा आबद्ध भएका थिए । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य रहेका यादव २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री समेत बनेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ