Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalउपराष्ट्रपति निर्वाचन पछि सरकारले पुर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

उपराष्ट्रपति निर्वाचन पछि सरकारले पुर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको चुनावलगत्तै सरकार विस्तार हुने बताउनुभएको छ । बिहीवार राष्ट्रपतिको चुनावपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अबको ध्यान सरकारलाई पूर्णता दिनेतर्फ हुने बताउनुभएको हो ।

पालिका, प्रदेश र सङ्घसँगै राष्ट्रपतिको चुनाव पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढङ्गले सकिएको प्रधानमन्त्री दाहालको जिकिर थियो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘पालिका चुनावदेखि प्रदेश र सङ्घको चुनावसँगै राष्ट्रपतिको चुनाव सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको चुनाव एउटा बाँकी छ । अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिने हुन्छ । उपराष्ट्रपतिको चुनावपछि सरकार विस्तार हुन्छ ।’ जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । फेरिएको नयाँ सत्ता गठबन्धन गटक दलबीचको सहमति अनुसार उपराष्ट्रपति पाएको जसपाले बिहीवार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मङ्सिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा यादव बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भैसक्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ