Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसत्ताका लागि किन मरिहत्ते गर्दैछन नयाँ पार्टी ? सिकेसँगै रवीमाथी उब्जिदैछन अनेकन प्रश्न !

सत्ताका लागि किन मरिहत्ते गर्दैछन नयाँ पार्टी ? सिकेसँगै रवीमाथी उब्जिदैछन अनेकन प्रश्न !


काठमाडौं । पुस १० मा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन अगुवाइ गरेको नेकपा एमालेले समर्थन फिर्ता लिंदै सरकारबाटै बाहिरिएको छ । प्रधानमन्त्री प्रचण्डले गठबन्धन बदलेर ८ दलीय गठबन्धनमा सामेल भएपछि राप्रपा समेत समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिसकेको छ । तर पछिल्लो निर्वाचनबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको अवस्था जता सत्ता उतै भनेजस्तो देखिदैछ ।

पुस १० मा प्रचण्ड प्रधानमन्त्री बन्दैगर्दा बनेको गठबन्धनको अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टी माघ पनि २२ मै सरकारबाट बाहिरिसकेको छ, उसले भएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारका विषयमा छलफल नै गरेन । रास्वपा महामन्त्री मुकुल ढकाल राजनीतिक परिस्थितिमा तात्विक फरक नआएकाले सरकारका विषयमा कुनै निर्णय नलिइएको बताउनुहुन्छ । ‘अहिले जे जस्तो परिस्थिति छ, त्यो हाम्रो लागि बदलिएको परिस्थिति होइन, ‘हिजो पनि हेर्दै जाऊँ भन्नेमा थियौं, अहिले पनि त्यसमै छौं ।’ महामन्त्री ढकालले बताउनुभयो । यसबाट प्रष्ट हुन्छ सरकारबाट बाहिरिएपछि पनि सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमा हुनुहुन्छ । रास्वपा फेरि सरकारमा जान सक्ने आँकलन गरिदैछ ।

यता,जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समेत प्रचण्ड सरकारको साथ छोडेको छैन । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खाँ खानेपानी मन्त्रालय लिएर सरकारमै छन् । नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी रिहाईको मुद्धा अघि सारेर सरकारमा सहभागी नभएपनि समर्थन कायमै छ । सरकारबाट निस्कनुपर्ने कुनै कारण नै नभएको जिकिर जनमत पार्टीका अध्यक्ष सीके राउतले गरिरहनुभएको छ र रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टी हालैको आम चुनावबाट प्रतिनिधिसभामा उदाएका नयाँ दल हुन् ।

४ मंसिरको चुनावअघि नयाँलाई रोजौं भनेर प्रचार गरेको रास्वपा २० सिटसहित चौथो ठूलो पार्टी बनेको थियो । जनमत पार्टी मधेश र नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट राम्रो मत पाएको थियो । चुनावबाट उदाएका नयाँ दलमा पनि सत्ता मोह पुराना दलभन्दा कम नभएको पूर्व राजनीतिज्ञ समेत रहनुभएका राजनीतिक विश्लेषक राधाकृष्ण मौनाली बताउनुहुन्छ । नागरिकता मुद्दामा गृहमन्त्री पद गुमाउन पुगेका रवि लामिछानेले नेपाली नागरिकता लिएपछि फेरि गैरसांसदको हैसियतमा सोही मन्त्रालय दाबी गरेका थिए । नपाएपछि सरकार छाडेका उनी फेरि सरकारमा जान लालयित देखिएको र यसले नयाँ समेत उस्तै हुन भन्ने गलत प्रभाव पारेको बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल बताउनुहुन्छ । विगतमा तराई मधेशमा उदायका नयाँ दलले सत्ता स्वार्थका लागि गरेको लुछाचुडीले आफैलाई कमजोर बनाएका थिए । यहि विगत दोहोरिने आशंका समेत नयाँ दलको हकमा गर्न थालिएको छ ।

पहिलोपटक संसदमा प्रवेश पाएका तीन दलले जता सत्ता उतै समर्थन र भेटवार्ताको निरन्तरता दिएर राजनीति अवशरका लागि हो भन्ने पुष्टि गरिदिएका छन् । हुन त चुनावी परिणाम आउँदा नआउँदै रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले ठूला दलसँग सत्ताका लागि संवाद सुरु गरेका थिए । जता सत्ता समीकरण बलियो देखिन्छ, उतैतिर निकटता बढाउने नयाँ दलका नेताहरुको होडले राजनीतिमा कुनै न्यूनतम विचार, इमान र अडान हुँदैन भन्ने विगतलाई स्थापित गरिदिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ