Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्दै अबैध क्रिप्टो र हुण्डी कारोबार, क्यानडा जापानदेखी अष्ट्रेलियासम्म कनेक्सन !

नेपालमा बढ्दै अबैध क्रिप्टो र हुण्डी कारोबार, क्यानडा जापानदेखी अष्ट्रेलियासम्म कनेक्सन !


काठमाडौं, ब्रिजबेन । एउटा सामान्य व्यक्तिको बैंक खातामा ठूलो कारोबार भइरहेको सूचना पाएर नुवाकोटको विदुर नगरपालिकाका अमित श्रेष्ठलाई पक्राउ गरि प्रहरीले अझ पनि गोप्य अनुसन्धान गरिरहेको छ । यो घटना मात्रै नभएर पछिल्लो समय श्रोत नखुलेको लाखौँ रकमसहित विभिन्न व्यक्तिलाई पक्राउ पर्ने क्रम बढेको छ ।

सोमबार साँझ मात्रै प्रहरीले ७४ लाख रुपैयाँसहित काठमाडौंको नरदेवीबाट ३ जनालाई पक्राउ गरेको छ । भने केही दिनअघि मात्रै बालाजुबाट बरामद ६९ लाख ९९ हजार रुपैयाँ जापानबाट हुन्डी मार्फत आएको भन्दै ४ जनाविरुद्ध मंगलबार मात्रै राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । जेठ महिनामा मात्रै पनि प्रहरीले पटक पटक गरेर श्रोत नखुलेको करोडौँ रकमसहित केही व्यक्तिलाई पक्राउ गरेको थियो । काठमाडौंकै एक सहकारीबाट श्रोत नखुलेको पैसा निकालेर हिडेका व्यक्ति पछ्याउदा प्रहरीले घरको कोठबाट लाखौँ अबैध पैसा बरामद गरेको थियो । यी केही प्रतिनिधि घटनाले नेपालमा क्रिप्टो र हुण्डी कारोबारको अवस्था डरलाग्दो छ भन्ने देखाएका छन् ।

नेपाल राष्ट्र बैंकले २०७४ साउन २९ गते र त्यसपछि पटक पटक भर्चुअल मुद्राको कारोबार (क्रिप्टो), हुण्डी लगायतका कारोबार नगर्न नगराउन सचेत गराउँदैआएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार, हुण्डी पूर्णरुपमा गैरकानुनी मानिएपनि नेपालमा यस्ता कारोबार भने रोकिएका छैनन । जिल्ला अदालत काठमाडौँले विशाल सिमेन्टका पूर्व सञ्चालकलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा) को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने मंगलबार मात्रै दिएको आदेशले समेत अबैध गतिबिधिसँगै प्रहरी र राजश्यको निगरानी समेत बढेको देखाएको छ ।

व्यक्तिसँगै कतिपय सहकारी सञ्चालक समेत यस्ता अबैध कारोबारमा संलग्न भएको आशंका सहित निगरानी बढाइएको छ । अझ केही समय अघि पक्राउ गरिएका एक युवाको अष्ट्रेलिया र क्यानडासम्म कनेक्सन देखिएको घटनाले प्रहरी र सरकारलाई नै झस्काएको छ । नुवाकोटका एक समान्य व्यक्तिको अष्ट्रेलियाको कमन वेल्थ बैंकमा सेयर कारोबार, क्यानडाको रोयल बैंक अफ क्यानडा, क्यानडाकै बैंकमा सेयर कारोबार, नेपालको नबिल बैंकमा डलर कारोबार गरेको, एनआइसी एसिया बैंक र एभरेष्ट बैंकमा सेयर र रकम लगानी गरेको खुलेको थियो । यो घटनाले क्रिप्टो र हुण्डीको अबैध कारोबारको विश्वव्यापी सञ्जाल त विस्तार भएको छैन भन्ने गम्भिर प्रश्न उब्जाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ