Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्टेलियाबाट नेपाल पठाएको आइफोन र लाखौको सामान बिचमै गायब, यस्तो छ कहानी

अष्टेलियाबाट नेपाल पठाएको आइफोन र लाखौको सामान बिचमै गायब, यस्तो छ कहानी


ब्रिजवेन/ गत अप्रिल २८ तारिखमा सिड्नीकी अस्मिता रेग्मीले क्यानवेरामा दर्ता भएको नेपालीको एक कार्गो सर्भिसबाट परिवारका लागि २ वटा आइफोन १३ प्रो र सामसुङको एउटा गरि ३ वटा मोवाइल फोन नेपाल पठाउनुभयो । तर तीन महिना बितिसक्दा पनि सो मोवाइल अझै परिवारको हातमा परेको छैन । त्यस्तै बस्नेत थरीकी युवतीले पनि सिको फाइभ एक थान घडी, लुगाफाटो, मेकअपका सामानहरु र झोला यहि कार्गोबाट चार महिना अघि पठाइन् । उनको केही लत्ता कपडा पुगेपनि सिको फाइभ घडी अझै पुगेको छैन । त्यस्तै पर्थमा बस्दै आएकी महर्जन थरी अर्की युवतीले मे १ तारिखमा एउटा आइफोन १३, लुगाफाटो, चकलेट र जुत्ताहरु पठाईन् । दुइ महिनापछि आइफोन पुग्यो तर, अन्य सामानहरु अझै गायब छ ।

त्यत्ति मात्र हो र केसी थरीकी युवतीले पठाएको पार्सलमा त पुराना र थोत्रा कपडा हालेर दिएको समेत डेलिभरी गरिएको पाइएको छ । यी त प्रतिनिधी घटना मात्र हुन् । फेसबुकमा मसेन्जर ७ जनाले समुह नै बनाएर आफ्नो समान हराएको भन्दै नेपालट्युबसंग गुनासो गरेका छन् ।

उनीहरुका अनुसार पोखरेल थरका युवकले सामान लिएर पठाएको हो । यी युवकले सामान जम्मा पारेर फेडेक्स तथा डिएचएलमार्फत नेपालमा समान पठाउदै आएको बुझिएको छ । समान पठाउदा कार्गोको शुल्क मात्र नभई नेपालको भन्सारमा तिर्नुपर्ने पैसा समेत उनीहरुले तिरेका छन् । पीडितहरुले पठाएको समान, पैसा तिरेको बैंकको विवरण सबै नेपालट्युबलाई उपलब्ध गराएको छ । विवरण सुरक्षित छ 

ती युवक हाल नेपाल गएकाले ह्वाट्स एपबाट मात्र सम्पर्क हुने पीडितहरुले बताएका छन् । पटक पटक सामान बारे सोध्दा समेत ती युवकले गैर जिम्मेवारीपुर्ण जवाफ दिएको, सामान हराएकाले खोजिरहेको तथा केही दिनभित्रै सामान पुग्ने भनेर टार्ने गरेको समेत उनीहरुको भनाई छ । आफ्नो परिवारका सदस्यका लागि पठाएको उपहार महिनौसम्म पनि नपुगेपछि पीडितहरुले प्रहरीमा उजुरी गर्ने समेत तयारी गरेका छन् ।

नेपालट्युबको सम्पर्कमा आएका  ती युवकले सामान भन्सारबाटै हराएकाले समस्या आएको दाबी गरेका छन् । ३ वटा फोन पठाएकी अस्मितालाई यी युवकले दिएको फेडेक्सको ट्रयाकिङ नम्बर र तीनै युवाले नेपालट्युबलाई उपलब्ध गराएको ट्रयाकिङ नम्बर राखेर फेडेक्सको वेवसाइटमा सर्च गर्दा समान यसअघि नै नेपाल पुगिसकेको छ । फोटोमा हेर्नुस्

नेपाल समान डेलिभरी भएको विवरण

उक्त नम्बरका आधारमा मे ३ तारिखमा फेडेक्सको अष्ट्रेलिया कार्यलयमा बुझाएको ६ वटा बाक्सामा रहेको कार्गो मे ८ तारिखमै काठमाडौं पुगिसकेको छ । नेपालट्युबले फेडेक्सको अष्ट्रेलिया (ब्रिजवेन कार्यलय) र काठमाडौं कार्यलयमा बुझ्दा ६ वटा बाक्सामा रहेको सामान सुरक्षित रुपमा एजेन्टले बुझिसकेको बुझिन्छ । वेवसाइटमा उपलब्ध विवरण अनुसार पनि नरेन्द्र भन्नेले हस्ताक्षर गरेर सामान बुझिसकेको बुझिन्छ । फोटोमा हेर्नुस्

मोवाइल र अन्य सामान भएको कार्गो नेपालमा बुझिसकेको विवरण

फेडेक्स अष्ट्रेलियाले दिएको जानकारी अनुसार, डेलिभरी गर्दा सामान हराएको वा फुटेको भए एजेन्टले उजुरी गर्न र सामान रिसिभ नगर्न सक्थ्यो । तर, यस घटनामा भने रिया कार्गोका प्रतिनिधीले सामान हराएको बारे कुनै गुनासो नगरी सामान बुझेको देखिन्छ ।
तर, ती युवकले भने सामान भन्सारमै हराएको तथा फेडेक्समा बिमा दाबी गर्नका लागि आफ्नो ग्राहकलाई फारम पठाइसकेको दाबी गरेका छन् । त्यस्तै धेरै सामान एकै पटक आएकाले हुलमुलमा केही सामान यताउता भएर समयमै डेलिभरी नभएको समेत ती युवाको दाबी छ । नेपालट्युबको सम्पर्कमा आएका ती युवकले अबको केही दिनभित्र यसलाई समाधान गर्ने तथा हराएको मोवाइल बारे प्रहरी रिपोर्ट बनाई बिमा दाबी गरेरै भएपनि ग्राहकको भरपाई गर्ने ती युवकले बताए । केही दिनभित्र समस्याको समाधान गर्ने बाचा गरेकाले कार्गोका प्रतिनिधी युवकको पहिचान खुलाएका छैनौं । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ