Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा कोरोना संक्रमणसँगै बढ्यो मृत्युदर, विद्यालयमा अनिवार्य मास्क !

अष्ट्रेलियामा कोरोना संक्रमणसँगै बढ्यो मृत्युदर, विद्यालयमा अनिवार्य मास्क !


ब्रिजबेन । अष्ट्रेलियामा कोरोना महामारिसँगै मृत्युदर समेत बढ्न थालेको पाइएको छ । मंगलबारमात्रै अष्ट्रेलियामा कोभिड–१९ का कारण ७५ जनाको मृत्यु भएको हो ।

अष्ट्रेलियामा केही साता यता कोरोना संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा देखिएको छ । मंगलबार एकैदिन न्यु साउथ वेल्समा २६, भिक्टोरियामा २५ र क्वीन्सल्यान्डमा १८ जना कोभिड संक्रमितको मृत्यु भएको थियो । कोरोनाको पछिल्लो लहरमा क्वीन्सल्यान्ड सबैभन्दा धेरै प्रभावित राज्य बनेको छ । यहाँ ९ सय ८३ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।

यता,अस्ट्रेलियामा स्वास्थ्य तथा विद्यालय अधिकारीहरूले विद्यार्थी र विद्यालयका अन्य कर्मचारीहरूलाई आगामी चार हप्तासम्म अनिवार्य मास्क लगाउन आह्वान गरेका छन् । बिद्यालयहरुलाई लक्षित गरी केही अस्थायी नियमहरू लागु गर्ने तयारी समेत भैरहेको छ । विद्यार्थीहरुलाई फरक–फरक समूहमा विभाजन गरी अध्ययन गराउने, घरबाट अनलाइन पढाइ हुने नियम समावेश गर्ने लगायतको तयारी हुन थालेको छ । अस्ट्रेलियामा जाडो मौसम सुरु भएयता कोरोना संक्रमण बढेर अर्को लहरको जोखिम बढाएको छ ।

कोरोनासँगै पोस्ट कोभिडको जोखिम उच्च
अस्ट्रेलियामा लामो समयदेखी चल्दैआएका पोस्ट कोभिड क्लिनिकका अनुसार ४० देखी ५० वर्ष उमेर समूहका महिलामा बारम्बार पोस्ट कोभिडको समस्या देखिएको छ । सिड्नीको नेपियन अस्पतालमा आइपुग्ने पोस्ट कोभिडका बिरामी मध्ये दुई तिहाइ बिरामीहरू महिला रहेको पाइएको छ । एक तिहाइ बिरामीहरू दैनिक घरायसी कामकाजी रहेको पाइएको छ । कोरोनाको अर्को लहरको जोखिम सामना गरिरहेको बेला, डाक्टरहरूले फेरि जनताको जीवन, स्वास्थ्य प्रणाली र अर्थतन्त्रमा दीर्घकालीन प्रभावहरूको चेतावनी दिन थालेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमित मध्ये १० देखि २० प्रतिशत मानिसहरूले निरन्तर लक्षणहरू अनुभव गरिरहेको तथ्य सार्वजनिक गरेपनि कहिलेसम्म जोखिम कायम रहने एकिन गर्न सकेको छैन । ८ दशमलब ५ मिलियन भन्दा बढी अष्ट्रेलियालीहरू कोरोना संक्रमित भैसक्दा कोरोना भाइरस लामो समयसम्मको स्वास्थ्य समस्या बन्ने चिन्ता बढिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ