Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा साढे १५ करोड थान कोरोना खोप खेर जादै, नेपाल लैजान मिल्दैन र ?

अष्ट्रेलियामा साढे १५ करोड थान कोरोना खोप खेर जादै, नेपाल लैजान मिल्दैन र ?


ब्रिजवेन/अष्ट्रेलियामा साढे १५ करोड  थान कोरोनाको खोप खेर जाने अवस्था सृजना भएको छ । कोरोना महामारीका बेला किनिएको खोपहरु ढिला गरि आएको तथा ९५ प्रतिशत भन्दा बढी मानिसले दुबै खोप लगाइसकेकाले करोडौं थान खोप खेर जाने अवस्था आएको हो ।

सरकारी तथ्याकं अनुसार हालसम्म १६ वर्ष भन्दा माथीका ९५ प्रतिशत मानिसले दुबै खोप लगाइसकेका छन् । सरकारको हेल्थ वेवसाइटमा उल्लेख भए अनुसार अष्ट्रेलियाले महामारी यता लगभग २५५ मिलियन अर्थात २५ करोड ५० लाख थान कोरोनाको खोप किनेको छ । जसमा सबैभन्दा धेरै फाइजर खोप छ । सरकारले १२ करोड ६० लाख थान फाइजर खोप किनेको हो । त्यस्तै बाकी एष्ट्राजेनिका, मडोना र नोभाभ्याक्स खोपहरु किनेको हो ।

यी मध्ये ६ करोड थान खोप मात्रै प्रयोगमा आएको छ । ४ करोड थान खोप अष्ट्रेलिया सरकारले प्रशान्त क्षेत्रका देशहरुलाई दिएको छ । देशमा कोरोनाको खोप लगाउनेको संख्या भन्दा खोप धेरै भएपछि बाकी रहेको खोपलाई के गर्ने भन्ने चिन्ता थपिएको हो ।
स्थानिय संचारमाध्यम एबिसीका अनुुसार ५ करोड थान नोभाभ्याक्स खोप खेर जाने स्थिती आएको हो । ढिला गरि बजारमा आएको तथा बुष्टर खोपका रुपमा फाइजर र मडोना खोप प्रयोग गर्न विज्ञहरुले सुझाव दिएपछि नोभाभ्याक्स खोप के गर्ने भन्ने अन्यौलता आएको एबिसीले जनाएको छ ।

के यी खोप नेपालमा लैजान संभव छ त ?

धनी देशमा खोप खेर जाने, गरिब देशले नपाउने अवस्था देखिएपछि चिन्ता बढेको छ । धनी देशले महंगो पैसा तिरेर सुरुमै धेरै खोप किनिदिदा गरिब देशले खोप नै नपाएको अवस्था देखिएको हो ।

अष्ट्रेलियाले बाकी रहेको खोप के गर्ने भन्ने निर्णय गरिसकेको छैन । तर, नेपालमा यी खोप लान संभव छ त ? स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा ७० प्रतिशतले कोरोनाको दुबै खोप लगाएका छन् । यसको मतलब अझै पनि ३० प्रतिशत नागरिकले पुरा खोप लगाएका छैनन् । बुष्टर लगाउनेको संख्या त केबल ३२ प्रतिशत मात्र छ । यस्तो अवस्थामा नेपालले पैसा तिरेर किन्नुको साटो अष्ट्रेलियासंग खोप लिन सक्छ ।

अष्ट्रेलियाका लागि नेपाली कार्यबहाक राजदुत कुलबहादुर मगर

जसका लागि कुटनीतिक तबरमा पहल सुरु गर्नु ढिला गर्न हुन्न । क्यानबेरास्थित नेपाली दुतावासका कार्यबहाक राजदुत कुलबहादुर मगरले नेपाललाई आवश्यक छ भने खोप लिने वातावरण बनाउन पहल गर्ने बताउनुभयो । परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई जानकारी गराएर आवश्यक रहे नरहेको बुझेर थप कदम अघि बढाउने उहाँले बताउनुभयो ।


ट्याग : #Australia, #corona vaccine, #vaccine
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ