Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाल समेत स्क्यामर र ठगको निसानामा, हिरा र उपहारको पछि लाग्दा ठगिनेहरु बढ्दै !

नेपाल समेत स्क्यामर र ठगको निसानामा, हिरा र उपहारको पछि लाग्दा ठगिनेहरु बढ्दै !


काठमाडौं । अष्ट्रेलिया मात्रै नभएर नेपालमा समेत महंगो उपहार (गिफ्ट) को पछि लाग्दा ठगिनेहरु बढ्न थालेका छन् । हीराको हार लगायतका उपहारपाउने प्रलोभनले ठगिनेमा अधिकांश युवती र महिलाहरू रहेका छन्।

नेपाल बाहिर रहेका स्क्यामरहरुले मात्रै नभएर यसैको सिको गर्दै नेपालमै सक्रिय गिरोहले समेत यस्तो ठगी गरिरहेको पाइएको छ । विशेषगरि मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना उपलब्ध गराएको, बहुमुल्य उपहार परेको बहानामा ठगी गर्ने गरेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले गरगहना, महंगा उपचार पाउने लोभले फेक म्यासेजको पछि लाग्दा ठगीएको देखाएको छ । केही सातादेखि आफू ठगिएको भन्दै प्रहरीमा दिएको जाहेरीका आधारमा सुरु गरिएको अनुसन्धानले देशका धेरै स्थानमा यस्ता गिरोहद्वारा महिला र युवतीमाथी ठगी भएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशी बताउनुहुन्छ । ‘एकजना महिलाले आफू ठगिएको भन्दै दिएको जाहेरीका आधारमा तीन जना पक्राउ परेको र उनीहरूबाट प्राप्त सूचनाका आधारमा गरिएको अनुसन्धानले धेरै व्यक्ति ठगिने गरेको खुलेको छ ।’ एसपी जोशीले बताउनुभयो ।

कसरी भैरहेको छ त नेपालमा ठगी ?
उपहार परेको पार्सल पठाउने वा नाता कायम गरेर महुमुल्य गरगहना हिराको हार पठाउन लागेको, कार लगायतका गाडी उपहारमा परेको भन्दै ठगी गर्ने गिरोहहरु विश्वभर सक्रिय छन् । यस्ता गिरोहले नेपाललाई समेत निशाना बनाइरहेका छन् । बिनु लामा (नाम परिवर्तित) ले नेपालट्युबमार्फत आफू ठगिएको बारे सत्यतथ्य सार्वजनिक गरेर अन्य युवायुवती र महिलालाई ठगिनबाट जोगाइदिन आग्रह गर्नुभएको छ । ७५ लाख बराबरको उपहार र गाडी समेत जित्नुभएको छ, बधाई छ भन्दै आएको म्यासेजको पछि लाग्दा आफू ठगिएको बिनु बताउनुहुन्छ । उपहार लिनेभए ट्याक्स लगायतका प्रक्रिया मिलाउनुपर्छ भन्दै पटक–पटक गरेर बिनुसँग ठगको गिरोहले १० लाख फुत्काए । यसपछि कतै आफू ठगिदै त छैन भनेर माग अनुसार पैसा पठाउन छाडेर सोधीखोजीमा लागेको बताउने बिनु अहिले साइबर ब्यूरोमा उजूरी बोकेर पुग्नुभएको छ । तर ठगिएको रकम फिर्ता आउने र ठग पक्राउ पर्ने आशा उहाँले मारिसक्नुभएको छ । कुनै अपरिचितले हीरा लगायतका गरगहना उपहार स्वरुप पठाउने, नगद,गाडी लगायतको उपहार परेको भन्दै फेसबुक, भाईबर, ह्वाट्सएप लगायतका प्लेटफर्म र मोबाइल म्यासेजमा आउने अफबाहको पछि नलाग्न बिनुको सबैलाई सुझाब रहेको छ ।

कबिता (नाम परिवर्तित)ले समेत एक जना अपरिचित बिदेशीले आफ्नो परिवार युद्धमा गुमाएको बैंकमा रहेको नगद र धन सम्पती तपाईको नाममा नामसारी गर्ने प्रक्रिया सुरु गरेको भन्दै इमेल पठाएर प्रक्रिया मिलाउन केही रकम पठाउनुपर्यो भन्दै ठगी गरेको गुनासो नेपालट्युबसँग गर्नुभएको छ ।

नगद, गरगहना र गाडी उपहार स्वरुप पाइने प्रलोभनमा पर्दा धैरै नेपाली ठगिएका छन् । धेरैलाई ठगहरुले अझपनि निसाना बनाइरहेका छन् । तर यसबारे अनुसन्धान गर्ने र ठगी रोक्न सचेतना फैल्याउने निश्चित संयन्त्र छैन । सबै उजूरी प्रहरीमा पुग्ने गरेकाले अनुसन्धान र कारबाही प्रभावकारी बन्न सकेको छैन । मोवाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकसँगै सरकारी संयन्त्रले सामाजिक उत्तरदायित्व बोध गरेर यस्ता गिरोहको ठगीबाट नेपालीलाई जोगाउन बिशेष कदम चाल्नुपर्ने देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ