Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौं उपत्यकामा हैजाको प्रकोप, अहिलेसम्म १४ जनामा पुष्टि !

काठमाडौं उपत्यकामा हैजाको प्रकोप, अहिलेसम्म १४ जनामा पुष्टि !


काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढेसँगै कतै प्रकोपको रुप लिन लागेको त छैन भन्ने चिन्ता बढेको छ । बुधबार मात्रै पनि थप दुई जनामा हैजा पुष्टि भएको हो।

असार २ गतेदेखि असार १५ गतेसम्म काठमाडौंमा १४ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारि दिएको छ मन्त्रालयका प्रवक्ता डा.सङ्गीता मिश्राले हैजा पुष्टि हुनेमा चार जना महिला र १० जना पुरुष रहेको जानकारि दिनुभयो ।

के कारण फैलिदैछ हैजाको प्रकोप ?
काठमाडौं उपत्यकामा हैजा फैलनुको मुख्य कारण दूषित पानी भएको पाइएको छ । धाराको पानी, बोतल÷जारको पानी र जमिनमुनिको पानीको चार वटा नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको छ । यस्तै ललितपुरबाट लिइएको १८ वटा पानीको नमुनामध्ये १२ वटा नमुनामा इकोलिन फेला परेको छ ।

हैजाले प्रकोपको रुप लिने जोखिम उच्च
छिटो फैलिने भएकाले एक जनामा हैजा देखिए पनि यसलाई ठूलो जोखिम मानिन्छ । भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो । यो दूषित पानी वा खाद्यवस्तुबाट सर्ने गर्छ । सङ्क्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ ।

यस्ता लक्षण देखिएमा हैजा हुनसक्छ
निरन्तर पातलो दिसा लाग्नु र बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । हैजा लागेपछि तौल घट्दै गएमा, पेट दुखेमा, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने र जलवियोजन हुने लक्षण देखिन्छ । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताउनुभएको छ ।

हैजा छिटो सर्ने रोग भएकाले र जोखिम उच्च भएकाले पहिले नै स्वास्थ्य सावधानी अपनाउनु उपयुक्त हुन्छ । यसबाट बच्न पानी उमालेर खान, सकेसम्म घर बाहिरका खाना र बासी खानेकुरा नखान डाक्टरले सुझाव दिएका छन् । सङ्क्रमण फैलने जोखिम रहेकाले सचेत रहन स्वास्थ्य मन्त्रालयले सबैलाई अपिल समेत गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ