Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबालबालिकामा मोबाइल र टिभीको लत आगुऔषधभन्दा घातक !

बालबालिकामा मोबाइल र टिभीको लत आगुऔषधभन्दा घातक !


काठमाडौं । मोबाइल, टिभी, कम्युटरलगायतका विद्युतीय उपकरण बालबालिकाका लागि लागुऔषधभन्दा ठूलो समस्या बन्न थालेका छन् । बालबालिकाले पठनपाठन, खानपान र पारिवारिक तथा सामाजिक गतिविधि भन्दा बढी मोवाइल, कम्युटरलगायतमा ध्यान दिने समस्या अधिकांश अभिभावकका साझा समस्या बन्ने गरेका छन् ।

बच्चा भुलाउने नाममा मोबाइल, टिभी दिएका कारण बालबालिकामा गम्भीर असर परेको भन्दै चिकित्सकहरूले सचेत गराएका छन् । बालबालिकामा बढ्दै गएको यो लत लागुऔषधभन्दा खतरनाक हुने दाबी गर्ने चिकित्सकहरु मोबाइल, टिभी धेरै हेर्ने बालबालिकामा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने गरेको बारे अभिभावक सचेत हुनुपर्ने बताउँछन् । बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले बालबालिकाले धेरै समय मोबाइल हेर्दा निन्द्रा नपर्ने, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुनेजस्ता समस्या बढिरहेको बताउनुभयो । ‘पाँच/सात वर्षयता निकै गम्भीर तरिकाले यस्ता समस्या बढेको छ, बच्चाहरूमा स्मरण शक्ति गुमेको छ । योसँगै रचनात्मक काम गर्ने वातावरण नै हराउँछ, यो लागुऔषधभन्दा ठूलो कुलत बनिसक्यो’, डा.पोखरेल बताउनुहुन्छ ।

नेपालका कतिपय जिल्ला तथा गाउँ तहमै चिकित्सकहरू आबद्ध रहेको रोटरी इ—क्लव अफ मेडिको फ्युजन हाइब्रिड नेपालले ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ’ अभियान नै सुरु गरेको छ । डा. विनिता भट्टराई समेत मोबाइलका कारण हरेक घरमा रहेका बच्चा खेलौनाजस्ता बनेको र उनीहरूमा रचनात्मक क्षमता हराउँदै गएको बताउनुहुन्छ । डा. विनिता अभियान देशैभर विस्तार गरेर बालबालिकालाई जोखिमबाट बचाउनुपर्ने बताउनुहुन्छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिकामा थालिएको समाज सुधारको ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइलरटिभी नदेखाऊँ’ अभियान देशभर विस्तार गर्नुपर्ने आवाज समेत उठेको छ । नेपालमा मात्रै नभएर मोवाइल र टिभी बालबालिकाका लागि विश्वव्यापी समस्या बनिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ