Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमोडल फार्मिङ नेटवर्किङमा अष्ट्रेलियाका नेपालीले डुबाए करोडौं रुपैया

मोडल फार्मिङ नेटवर्किङमा अष्ट्रेलियाका नेपालीले डुबाए करोडौं रुपैया

अन्य देशका नेपाली पनि फसे, दोष कसको ?


ब्रिजवेन/मोडल फार्मिङ नेटवर्किङ व्यवसायमा अष्ट्रेलियाका नेपालीले करोडौं रुपैया डुबाएका छन् । रातारात धनी हुने लोभमा क्रिप्टो करेन्सीको नेटवर्किङ व्यवसायमा लगानी गरेका नेपालीको पैसा डुबेको हो । अष्ट्रेलियाबाट मात्रै ७० जना भन्दा बढीको १० लाख अमेरिकी डलर जति लगानी डुबेको छ । नेपाल, जापान, मेलेसिया, खाडी मुलकमा गरि १५ सय बढी नेपालीको ३ मिलियन अमेरिकी डलर भन्दा बढी रकम डुबेको यसका एक जना लगानीकर्ताको भनाई छ । एकजना नेपालीले यसमा १० हजारदेखि ३ लाख अमेरिकीसम्म लगानी गरेको देखिन्छ ।

केही महिनादेखि कम्पनीले लगानी गर्ने व्यक्तिगत खाता नखुल्ने बनाएको थियो । कम्पनीका सपोर्ट टिम प्रमुख दाबी गर्ने जेरेट रिचार्डसंग उनीहरुले वाट्सएपमार्फत सम्पर्क गरिरहेका थिए । बेलाबखत उनले वाट्स एपमै जवाफ पठाएर प्राविधिक गडबडी भएकाले अर्को महिनादेखि पैसा दिन सुरु गर्ने आश्वसन दिएका थिए । मेको १९ तारिखमा नेपालट्युबसंग भएको वाट्सएप कुराकानीमा समेत जेरेडले सो कुरा उल्लेख गरेका थिए । तर, अर्को महिना पैसा पाउने त कता हो कता, जेरेड कसैको पनि सम्पर्कमा नआएको, तथा कम्पनीका संचालक समेत सहभागी फेसबुक ग्रुपमा नेपालीहरुलाई ब्लक गरिएको एक जना लगानीकर्ता मध्येकी नर्स खड्काले जानकारी दिनुभयो । त्यस्तै व्यक्तिगत खाता अझै नखुलेपछि नेपालीहरुले आफु ठगिएको स्विकारेका छन् । उनी तीनै नर्स हुन जसले आफुले पनि ७० हजार अमेरिकी डलर लगानी गरेका छन् भने अन्य दर्जनौ नेपालीलाई लाखौ डलर लगानी गर्न लगाएका छन् ।

खाता नखुल्ने अनि कम्पनीका मानिसहरु सबै सम्पर्क बिहिन भएपछि मोडलफार्मिङको फेसबुक ग्रुपमा गएर तीनै लगानीकर्ताले यो स्क्याम हो भन्दै पोष्ट गरेका छन् । हिजो मोडल फार्मिङलाई रातारात पैसा कमाउने कम्पनी भनेर प्रचार गर्ने तीन लगानीकर्ताको रुवाबासीले फेसबुक ग्रुपहरु भरिएका छन् । ती नर्स अब पैसा फिर्ता आउने आशा नै मारिसकेको बताईन् ।


नर्स खड्का जस्तै नेपालीको पैसा डुबाउने मध्येका नाईके हुन सापकोटा थरका सिड्नी निवासी नेपाली । उनले सन् २०२१ अक्टोबरदेखि आफुले मात्रै पैसा हालेन्न अष्ट्रेलिया, नेपाल र अन्य देशमा छरिएर रहेका सोझासाझा नेपालीलाई पैसा लगानी गर्न प्रलोभनमा समेत पारे । अहिले उनी पनि आफुले लगानी गर्न उकासेका नेपालीहरुसंग तर्कने गरेका छन् ।

के हो मोडल फार्मिङ ?

कम्पनीको वेवसाइटमा उपलब्ध जानकारी अनुसार सन् २०२० यता मोडल फार्मिङ कम्पनी अमेरिकी, बेलायत र न्युजिल्याण्डमा दर्ता भएको देखिन्छ । साइटमा उल्लेख भएअनुसार जो गोमेज यसका संस्थापक हुन् । ब्लकचेनका माध्यमबाट कृषिमा क्रान्ति ल्याउने यो कम्पनीको उदेश्य बताइएको छ ।

अरुलाई सदस्य बनाएर लगानी गराएमा सुरुको लगानीको ७ प्रतिशत बोनस पाइने कम्पनीको नियम छ । त्यस्तै लगानीबाट हरेक दिन उच्च व्याज पनि आउने कम्पनीले दाबी गरेको छ । पहिलो १० हजार अमेरिकी डलर लगानी गर्दा हरेक दिन १।५ प्रतिशत, १० देखि २५ हजारसम्मका लागि १।७ प्रतिशत र २५ देखि ५० हजार डलरसम्म लगानी गर्दा दैनिक २ प्रतिशत ब्याज पाउने यसमा लगानी गरेका सिड्नीका एक रजिष्टर्ड नर्सले नेपालट्युबलाई जानकारी दिए । उच्च ब्याज त्यसमाथी बोनस पनि पाइने भएपछि त्यसैमा लोभिएर धेरै नेपालीले पैसा खन्याएको देखिन्छ ।


ट्याग : #Australia, #model farming, #networking
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ