Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal७२८ पालिकाको अन्तिम नतिजा, नेपालमा यस्तो देखियो दलहरुको अवस्था !

७२८ पालिकाको अन्तिम नतिजा, नेपालमा यस्तो देखियो दलहरुको अवस्था !


काठमाडौं । बैशाख ३० गते एकसाथ भएको ७५३ स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म ७ सय २८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २ सय ६९ नगरपालिका र ४ सय ५९ वटा गाउँपालिका गरी ७ सय २८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै कांग्रेसले २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेर पहिलो शक्ति बनेको छ ।

नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी १ सय ९९ वटा पालिकाको प्रमुख र २ सय २७ वटा पालिकाको उप–प्रमुख पदमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले १ सय २० वटा पालिकाको प्रमुख तथा १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेर तेश्रो दल बनेको छ । तराई मधेशको हकअधिकारको वकालत गर्ने शक्ति दाबी गर्ने जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ । सत्ता गठबन्धन घटक दल माओवादी केन्द्र र एकिकृत समाजवादीले अपेक्षा अनुसार कांग्रेसको मत नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।

यता, जसपाबाट विभाजन भएर बनेको दल लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ । राप्रपाको पक्षमा जनलहर देखिएपनि सो अनुसार चुनावी नतिजा आएको छैन । राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ । नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख पद जितेको छ । जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ ।

नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ । विवेकशील साझाले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ । जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ । यता चो स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख र पाँच वटा पालिकाको उपप्रमुख पद जितेका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा दलमध्ये पालिका चुनाव २०७९ मा १३ वटा दलले पालिकाको प्रमुख र उपप्रमुख पद जितेर अस्तित्वमा आएका छन् भने बाँकी दल जनमतबाट बहिस्कारमा परेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ