Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालको स्थानीय तहमा कांग्रेसले प्रभाव जमाउँदै, बालेनसहितका स्वतन्त्र उम्मेदवार चर्चामा !

नेपालको स्थानीय तहमा कांग्रेसले प्रभाव जमाउँदै, बालेनसहितका स्वतन्त्र उम्मेदवार चर्चामा !


काठमाडौं । नेपालका ७५३ वटा स्थानीय तहमा एकसाथ निर्वाचन भएपनि अहिले केही पालिकाको मतगणना नै सुरु भएको छैन । १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा बैशाख ३० को निर्वाचन स्थगित भएको र जेठ, १, २ र ३ गते यी स्थानमा पुनः मतदान गरिएकाले गणना हुन नसकेको हो ।

आइतबार मतदान भएका स्थानमा गणना हुरु हुँदा बाँकी स्थानमा समेत तयारीको क्रममा रहेको निर्वाचन आयोगले जानकारि दिएको छ । गणना भएकामध्ये केही स्थानीय तहको नतिजा आइसकेको छ । नेपाली समय अनुसार साँझ ९ बजेसम्मको गणना अनुसार ८६ वटा पालिकामा प्रमुख जित्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले ८६ वटा उपप्रमुख पद समेत जितेको छ । यस्तो ५८ पालिकाको प्रमुख र ५५ स्थानमा उपप्रमुख जितेर एमाले दोश्रो स्थानमा छ । माओवादी केन्द्र ४२ स्थानमा प्रमुख र ३७ स्थानमा उपप्रमुख जितेर तेश्रो स्थानमा रहेको छ । एकिकृत समाजवादी पार्टीले एकल उम्मेदवारिका आधारमा निर्विरोध २ स्थानमा प्रमुख र प्रतिस्पर्धाबाट १, ७ वटा उपप्रमुख जितेको छ । जसपा नेपालले १ प्रमुख र २ स्थानमा उपप्रमुख जितेको छ ।

बाँकी मतगणना भैरहेको स्थानमध्ये नेपाली कांग्रेसले २२८ स्थानमा प्रमुख र १९१ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ । नेकपा एमाले १२५ स्थानमा प्रमुख र १५७ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ । माओवादी केन्द्रले ७७ स्थानमा प्रमुख र ९१ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ । जसपा नेपालले २९ स्थानमा प्रमुख र २७ स्थानमा उपप्रमुख, माधवकुमार नेपाल नेतृत्वको ए. समाजवादीले १७ स्थानमा प्रमुख र १८ स्थानमा उपप्रमुख, लोसपाले १२ स्थानमा प्रमुख र ९ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ । बाँकी २ स्थानमा सिके राउत नेतृत्वको जनमत पार्टी अगाडी छ भने केही स्थानमा स्वतन्त्र, केही स्थानमा राप्रपाका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । मत गणनाको यहि अवस्था जारी रहेमा सबै मतपरिणामा आउन महिना दिनसम्म लाग्ने देखिएको छ । यता, निर्वाचन आयोगले गणकको संख्या बढाएर छिट्टै नतिजा बाहिर ल्याउने र अनावश्यक अवरोध नगर्न दलीय प्रतिनिधिहरुलाई आग्रह गरेको छ ।

देशका पाँच महानगरमा यस्तो छ प्रतिस्पर्धा

काठमाण्डौ महानगरपालिका
स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले राती साँढे ९ बजेसम्मको परिणाम अनुसार ८२४८ मत ल्याएर अग्रता जारी राख्दा ४३४२ मतसहित एमालेका केशव स्थापितले ४११३ मतसहित पछ्याउनुभएको छ । कांग्रेसकी सिर्जना सिंहको ३७८१ मत रहेको छ । उपमेयरमा एमालेकी सुनिता डंगोलले ६३४६ मतसहित भारि मतको अग्रता कायम राख्नुभएको छ । यहाँ स्वतन्त्र उम्मेदवार राजनीतिक दलका लागि चुनौँती बनिरहेका छन् ।

पोखरा महानगरपालिका
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का धनराज आचार्यले यहाँ ५७४८ मतसहित अग्रता कायम राख्दा एमाले उम्मेदवार कृष्णबहादुर थापाले ५०७८ मतसहित पछ्याउनुभएको छ । यहाँ उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ ५६८७ र कांग्रेसकी कोपिला रानाभाट ५७१९ मतसहित प्रतिस्पर्धामा छन् ।

भरतपुर महानगरपालिका
सर्वाधिक चासो रहेको अर्को महानगर हो भरतपुर, यहाँ एमाले उम्मेदवार विजय सुवेदी र माओवादी केन्द्रकी रेनु दाहालबीच रोचक भीडन्त भैरहेको छ । राती साँढे ९ सम्मको गणनामा रेनु दाहालले ५३८२ मतसहित झिनो अग्रता कायम गर्दा सुवेदीले ५३६८ मतसहित पछ्याउनुभएको छ । यहाँ कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल २५७७ मतसहित गणबन्धनका लागि चुनौँती बन्नुभएको छ । उपमेयरमा चित्रसेन अधिकारी (कांग्रेस) ६४५२ मत र हिमला गुरुङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) ४३२१ मतसहित प्रतिस्पर्धा भैरहेको छ ।

ललितपुर महानगरपालिका
निवर्तमान मेयर समेत रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले ५६२६ मतसहित अग्रता लिएको यो महानगरमा विगतकै प्रतिद्धन्दी नेकपा एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले २०७६ मतसहित पछ्याइरहनुभएको छ । उपमेयरमा एमाले उम्मेदवार मन्जली शाक्य बज्राचार्यले २५५२ मतसहित अग्रता लिइरहँदा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १८४८ मतसहित पछ्याइरहनुभएको छ ।

वीरगन्ज महानगरपालिका
जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले ५१३३ मतसहित अग्रता लिइरहँदा निवर्तमान मेयर समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार विजयकुमार सरावगीले २३०६ मतसहित पछ्याइरहनुभएको छ । सरावगी टिकट वितरणमा असन्तुष्टि राख्दै चुनावको समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नुभएको थियो । यहाँ कांग्रेसका इम्तियाज आलमले ३३५९ मतसहित अग्रता लिदा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका पुरुषोतमलाल झा ५४९ मत मात्रै ल्याएर दोश्रोमा हुनुहुन्छ

विराटनगर महानगरपालिका
यो महानगरमा समेत सत्ता गठबन्धन दलबाट उम्मेदवार बन्नुभएका कांग्रेसका नागेश कोइरालाले ६३४३ सहित अग्रता लिइरहनुभएको छ । कोइरालालाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सागरकुमार थापाले ४८३३ मतसहित पछ्याउनुभएको छ । उपमेयरतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) की शिल्पा कार्कीले ४९३३ मतसहित अग्रता लिदैगर्दा जनता समाजवादीका अमरेन्द्र यादवले ३४३२ मतसहित पछ्याइरहनुभएको छ ।

११ उपमहानगरमध्ये जनकपुरधाम र धनगढीमा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहनुभएको छ । कलैया, घोराहीमा एमालेले अग्रता लिएको छ । इटहरी, धरान, नेपालगंज र बुटवलमा कांग्रेसले अग्रता लिदा हेटौँडामा एकिकृत समाजवादी र जितपुर सिमरामा माओवादीले अग्रता लिएको छ ।

निर्वाचन आयोगले चुनावको समयमा जेठ ५ अगाडि नै मतगणना कार्य सक्ने गरि व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको थियो । धेरै मतदाता भएका तहमा मतगणनाको गति निकै सुस्त देखिएको छ । मतदानअघि नै ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । केही वडामा बराबर मत आएपछि गोलाप्रथाबाट अन्तिम टुङ्गो लगाइएको छ । नेपालमा ७५३ स्थानीय तहमा कुल ३५,२२१ जनप्रतिनिधि रहने व्यवस्था गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ