Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालका ठूला शहरमा स्वतन्त्र हाबी, काठमाडौंमा बालेनको चर्चा हुँदा अन्य को-को छन ?

नेपालका ठूला शहरमा स्वतन्त्र हाबी, काठमाडौंमा बालेनको चर्चा हुँदा अन्य को-को छन ?


काठमाडौं । यतिबेला मतदान स्थगनका कारण रोकिएका केही पालिका बाहेक अधिकांश स्थानीय तहमा धमाधम मतगणना भैरहेको छ । देशभरका ७ सय ५३ पालिका मध्ये स्वतन्त्रको चुनौँतीका कारण केही महानगर, उपमहानगर र नगरपालिकामा सबैको ध्यान केन्द्रीत छ ।

देशकै जेठो काठमाडौं महानगरसहित केही ठूला शहरमा दलीय उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रतासहितको चुनौँती दिएका छन् । काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी उपमहानगर, जनकपुर उपमहानगर, धुलिखेललगायत नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

काठमाडौं महानगरमा बालेन सर्वाधिक चर्चामा
देशको राजधानी उपत्यका रहेको काठमाडौं महानगरको प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहनुभएको छ । महानगरको १२ सय ८० मत गन्दा बालेनले ४१३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३६६ मत बालेनलाई पछ्याइरहनुभएको छ । सत्ता गठबन्धबाट उम्मेदवार बन्नभएकी सिर्जना सिंहले २३३ मत प्राप्त गर्नुभएको छ ।

धनगढीमा हमालको अग्रता
धनगढी उपमहानगर पालिकामा शुरुवाति नतिजामै स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो अग्रता बनाइरहनुभएको छ । हमालले ७७ मत पाउँदा नेपाली कांग्रेसका नृपबहादुर वडले ३५ र नेकपा एमालेका रणबहादुर चन्दले ५ मत पाउँनुभएको छ ।

धरानमा स्वतन्त्रको चुनौँती
धरान उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ र सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका किशोर राईबीच कडा प्रतिस्पर्धा भैरहेको छ । साम्पाङले प्रारम्भिक गणनामा ३३ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईले ३१ मत ल्याउनुभएको छ । नेकपा एमालेकी मञ्जु भण्डारीले १६ मत ल्याउनुभएको छ ।

जनकपुरधाम उपमहानगरमा पनि निरन्तर स्वतन्त्रको अग्रता
जनकपुरधाम उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोजकुमार साहले ४०६ मतसहित अग्रता लिदा उहाँलाई एमालेका शिवशंकर साहले १५० मतसहित पछ्याइरहनुभएको छ । गठबन्धनका साझ उम्मेदवार जसपाका लालकिशोर साहले ६० मत मात्रै पाउनुभएको छ । यो १ हजार १८० मत गणनाको अवस्था हो ।

प्रारम्भिक नतिजा अनुसार धुलिखेलमा स्वतन्त्र उम्मेदवार बिदुरबहादुर बस्नेतले ५७२ मत सहित अग्रता लिदा निवर्तमान मेयर समेत रहेका एमाले उम्मेदवार अशोककुमार ब्याञ्जुले पछ्याइरहनुभएको छ । गठबन्धनबाट भने नेकपा एकीकृत समाजवादीका दयासागर श्रेष्ठले १८ मत मात्रै पाउनुभएको छ । झापाको कनकाई नगरपालिकामा नेपाली कांग्रेसबाट बिद्रोह गरेर मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका शेरबहादुर थापाले १८७६ मत गन्दा ८३१ मतको अग्रता लिनुभएको छ । नेकपा एमाले उम्मेदवार राजेन्द्र पोखरेलले ५३८ मत प्राप्त गर्दा, नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले २०८ मत पाउनुभएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रलादकुमार क्षेत्रीको अग्रता कायमै छ । कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका क्षेत्रीले ३४५ मत ल्याउँदा कांग्रेस उम्मेदवार चिरञ्जिवी हमालले १० मत मात्रै पाउनुभएको छ । क्षेत्रीलाई एमाले उम्मेदवार टेकबहादुर बलम्पाकीले १५६ मत सहित पछ्याइरहनुभएको छ ।

जुम्लाको एकमात्र नगरपालिका चन्दनाथमा पनि स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता लिनुभएको छ । स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले ९४७ मत गणना हुँदा ३६७ मत ल्याउनुभएको हो । यहाँ कांग्रेसका पदमबहादुर शाहीले १९२, माओवादीका जीवनबहादुर बुढ्थापाले १६१ र एमालेका धर्मेन्द्र रोकायाले ७६ मत पाउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ