Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा आज एकसाथ ७५३ पालिकामा चुनाव, मतदानमा उत्साहजनक सहभागिता

नेपालमा आज एकसाथ ७५३ पालिकामा चुनाव, मतदानमा उत्साहजनक सहभागिता


काठमाडौं । नेपालमा आज देशभरका ७५३ वटा पालिकामा जनप्रतिनिधि छान्नको लागि मतदान भैरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।

७५३ पालिकामा कहाँ–कस्तो छ प्रतिस्पर्धा ?
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको जानप्रतिनिधि छान्ने चुनावमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता सहभागि हुदैछन । जसमध्ये पुरुष ८९ लाख ९२ हजार १० र महिला ८७ लाख ४१ हजार ५३० रहेका छन । चुनावमा कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार मैदानमा छन् । पुरुष उम्मेदवार ८९ हजार ३१३ र महिला उम्मेदवार ५५ हजार ६९८ चुनावको मौदनमा छन् । अहिलेसम्म ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन् । यो चुनाव मार्फत मेयरमा ७५३, उपमेयरमा ७५३, वडाध्यक्षमा ६ हजार ७४३, महिला र दलित महिला सदस्यमा ६ हजार ७४३ तथा खुला सदस्यमा १३ हजार ४८६ गरी कुल ३५ हजार २२१ पदको छिनोफानो हुनेछ । पालिका चुनावका लागि ७९ दल निर्वाचन आयोगमा दर्ता भएकोमा ६५ दलले मात्रै मनोनयन दर्ता गराएका छन् ।

देशभर चुनावी माहौँल
प्रदेश–१ मा एक महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका तथा ८८ गाउँपालिका गरी जम्मा १३७ पालिका रहेका छन् । १३७ पालिकामा एक हजार १५७ वडा रहेका छन् । ३३ लाख ४७ हजार ३८४ मतदाता रहेको प्रदेश नं १ मा एक हजार ८७७ मतदान स्थल र ४ हजार ५१ कुल मतदान केन्द्रमार्फत मतदान भैरहेको छ ।

मधेस प्रदेशमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका तथा ५९ गाउँपालिका गरी कुल एक सय ३६ पालिका रहेका छन् । कुल वडा एक हजार २७१ वडा रहेको मधेस प्रदेशमा ३३ लाख ३१ हजार एक सय ७० मतदाताले मतदान गर्दैछन् । मधेस प्रदेशमा २ हजार १६३ मतदान स्थल र ४ हजार १ सय ८९ कतदान केन्द्रमा मतदान भैरहेको छ ।

वाग्मती प्रदेशमा एक सय १९ पालिका रहेकोमा ३ महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका तथा ७४ गाउँपालिका रहेका छन् । यहाँ १ हजार १२१ वडा छन् । कुल मतदाता ३४ लाख १२ हजार ८६९ रहेको वाग्मती प्रदेशमा १ हजार ७९२ मतदान स्थलमा ४ हजार ९५ मतदान केन्द्र बनाएर चुनाव भैरहेको छ ।

गण्डकी प्रदेशमा ८५ पालिका रहेकोमा एक महानगरपालिका, २६ नगरपालिका, तथा ५८ गाउँपालिका रहेका छन् । कुल ७५९ वडा रहेको गण्डकी प्रदेशमा मतदाताको सङ्ख्या १७ लाख ८९ हजार ४११ रहेको छ । गण्डकीमा १ हजार २५३ मतदान स्थलमा २ हजार ३ सय मतदान केन्द्र मार्फत चुनाव भैरहेको छ ।

लुम्बिनी प्रदेशमा १०९ पालिका रहेका छन् । जसमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका तथा ७३ गाउँपालिका रहेका छन् । त्यसमा ९८३ वडाहरु छन् भने कुल मतदाता ३२ लाख १९ हजार ४५७ रहेका छन् । १ हजार ६२९ मतदान स्थल रहेको लुम्बिनीमा ३ हजार ८ सय ३२ मतदान केन्द्रमार्फत मतदान भैरहेको छ ।

७९ वटा पालिका रहेको कर्णाली प्रदेशमा २५ नगरपालिका, ५४ गाउँपालिका रहेका छन् । जसमा ७ सय १८ वडा छन् । कुल मतदाता भने १० लाख १ हजार २८२ जना रहेका छन् । ९०७ मतदान स्थल रहेको कर्णालीमा १ हजार ३८५ मतदान स्थलमा मतदान भैरहेको छ । सुदूरपश्चिम प्रदेशमा कुल ८८ पालिका रहेका छन् । जसमा एक उपमहानगरपालिका, ३३ नगरपालिका तथा ५४ गाउँपालिका छन् । त्यसमा ७३४ वडा छन् । यो प्रदेशमा १६ लाख ३२ हजार १५० जना मतदाताले १ हजार १३५ मतदान स्थलमा रहेका २ हजार १०३ मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् ।

यस पटक देशभर १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्र बनाइएका छन् । चुनावमा खटिने कर्मचारी नै एक लाख ९ हजार ८८ छन् भने स्वयम्सेवकको सङ्ख्या ६५ हजार ८६५ रहेको छ । स्थानीय तह निर्वाचनमा ५ हजार पर्यवेक्षक खटिएका छन् । मतदाताले एक–एक मेयर या अध्यक्ष, उपमेयर या उपाध्यक्ष, वडाध्यक्ष र चार सदस्य गरी ७ जना जनप्रतिनिधि चुन्नुपर्ने हुन्छ । हरेक मतदाताले मतपत्रमा सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । सदस्यतर्फ एक–एक महिला, दलित महिला र दुई खुला सदस्यलाई छाप लगाउनुपर्ने हुन्छ ।

यस्तो छ आयोगको आचारसंहिता
परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अरु परिचयपत्रका आधारमा मतदान गर्न पाइने तर मतदाता नामावलीमा नाम नभएको व्यक्तिले कुनै पनि हालतमा मतदान गर्न नपाइने आयोगले जनाएको छ । आज बेलुका ५ बजेसम्म अत्यावश्यक र पास भएका बोहक सबै सवारीसाधन चलाउन रोक लगाइएको छ । चुनावको बेला आचारसंहिता उल्लङ्घन र अरु अप्रिय घटनाहरु नहुन् भनेर आज बिहान ६ बजेदेखि बेलुका मतदानको समय नसकिउञ्जेल दुई पाङ्ग्रे लगायत सबै गाडीहरु चलाउन रोक लगाइएको गृह मन्त्रालयले जानकारि दिएको छ ।

मतदान केन्द्रहरुमा मतदाता, सुरक्षाकर्मी, उम्मेदवार वा उम्मेदवारको एक जना प्रतिनिधि, निर्वाचन आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, निर्वाचन आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्यहरु मात्रै प्रवेश गर्न पाउनेछन् । जाँडरक्सी खानेहरुलाई समेत प्रवेशमा रोक लगाइएको छ ।

मतदान केन्द्रमा जाँदा मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई र लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजात र कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा सङ्केत जनाउने कुनै पनि वस्तु लैजान निषेध गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ