Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली दूतावासको कर्मचारी हराएको विषयमा अष्ट्रेलियामा बन्यो नेपाली सिनेमा ‘मिसिङ’

नेपाली दूतावासको कर्मचारी हराएको विषयमा अष्ट्रेलियामा बन्यो नेपाली सिनेमा ‘मिसिङ’


ब्रिजवेन/ नेपाली राजदूतावासमा कार्यरत एक जना कर्मचारी अचानक गायब हुन्छन् । ती कर्मचारी किन हराए ? खोजीमा के कस्ता प्रयास गरिन्छन् ? भन्ने मुख्य विषयलाई आधार बनाएर अष्ट्रेलियाको ब्रिजवेनमा नेपाली सिनेमा नै बनेको छ । ‘मिसिङ’ नामको सो चलचित्रमा कर्मचारी खोज्ने उतार चढावलाई थ्रिलिङ पाराले देखाउने प्रयास गरिएको छ । सिनेमाको हालै ५५ सेकेण्डको टिजर पनि युटयुबमा सार्वजनिक भएको छ ।

जनवरी १५ बाट दुइ हप्ता लगाएर ब्रिजवेन र गोलकोष्ट क्षेत्रमा सुटिङ भएको थियो । अहिले सिनेमाको धमाधम एडिटिङ भइरहेको छ । ९० मिनेटको सिनेमालाई सचिन थापा फिल्मसले निमार्ण गरेको हो । सिनेमाको कथा लेख्ने काम निमार्ता सचिनले नै गर्नुभएको हो । सिनेमाको निर्देशन भने ब्रिजवेनका युवा राजु कानले गर्नुभएको हो । सिनेमामा सचिन थापा, देव नेपाली, मिलन मिश्र, दिनेश कार्की, तारा बम्जन, बबिता खत्री र पेमा थिलेङ तामाङले अभिनय गरेका छन् । सिनेमालाई कृष्ण सुबेदीले खिच्नु भएको हो ।

सुटिङका क्रममा सिनेमा टिम

आफ्नो करियरको पहिलो सिनेमा भएकाले निकै उत्साहित भएको सचिनले नेपालट्युबलाई बताउनुभयो । सन् २०१२ तिर नेपालमा प्लस टु पढ्दा हरर स्टोरी लेखेर सिनेमा बनाउन लागेपनि सफल नभएको सचिनको अनुभव । त्यसपछि अष्ट्रेलिया आएर पढाई र पिआरको सबै थन्को लगाएपछि आफ्नो युवा अवस्थाको धोको पुुरा गर्न सिनेमा निमार्णमा गर्न लागेको सचिन बताउनुभयो । श्रीमतीले उत्साह दिएपछि सिनेमा निमार्णमा आएको र अब करियर नै यसैलाई बनाउने समेत सचिनले बताउनुभयो ।

मार्चको अन्तिम साताबाट अष्ट्रेलियाको विभिन्न शहरमा यो सिनेमा प्रर्दशन गर्ने तयारी छ । त्यस्तै नेपालका मल्टिप्लेक्समा समेत यो सिनेमा देखाउने निमार्ण पक्षले तयारी गरेका छन् । ९० मिनेटको फिचर सिनेमा बनाउन निर्माण पक्षले ५० हजार डलर बढी खर्च गरेको दाबी गरेका छन् । यस्तो छ टिजर

https://www.youtube.com/watch?v=W-7anqChrI8


ट्याग : #missing nepali movie, #nepali movie
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ