Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा भाडा माझ्ने अनुरोध बने करोडौंको रेष्टुरेन्ट मालिक

अष्ट्रेलियामा भाडा माझ्ने अनुरोध बने करोडौंको रेष्टुरेन्ट मालिक


ब्रिजवेन/ म ब्रिजवेनस्थित भ्यालीको असम बार एण्ड ग्रिल पुग्दा अनुरोध भट्टराई स्वागत गर्न ढोकामै आइपुग्नु भयो । नेपाली छटामा अष्ट्रेलियन रंग दिएर सजिएको रेष्टुरेन्टको एक कुनामा बस्ने बित्तिकै अनुरोधले भन्नुभयो- ‘सरल जी मेरो सानो रेष्टुरेन्टमा तपाईलाई स्वागत छ ।’ अष्ट्रलियामा मैले नेपालीले खोलेको यत्ति भव्य र श्रृगारिएको रेष्टुरेन्ट देखेको छैन । (सायद म नपुगेको ठाउमा चाहि हुन सक्छ ) तर, पनि आफ्नो रेष्टुरेन्टलाई सानो भन्ने चेष्टा गर्ने अनुरोधमा घमण्ड रहेनछ भन्ने बुझे । ‘धन्यवाद अनुरोधजी’- मैले मुस्कुराउदै जवाफ फर्काए ।

खोज र अपराध पत्रकारितामा एक दशक भन्दा बढी समय बिताएपछि अहिले भने मलाई सफलताको कथातिर मन बराल्न मन लाग्छ । अनुरोधको रेष्टुरेन्टको बारेमा नेपालका पुराना पत्रकार राजन घिमीरेको आर्टिकल पढेपछि मेरो मन पनि लोभिएको हो । नवलपरासीमा जन्मनु भएका अनुरोधले मम र तासको स्वाद लिदै विगतका पानाहरु खोल्न थाल्नुभयो ।

भाडा टल्काउदै सपना सजाउदै

अष्ट्रेलियामा नेपालीले सुरु सुरुमा भाडा माझ्नु नौलो कुरा होइन । तर, भाडा कहिलेसम्म माझ्ने भन्ने चाहि महत्वपुर्ण कुरा हो । सन् २००७ मा कुकरी पढ्न आउनुभएका अनुरोधले पनि भाडा माझ्ने कामलाई नै आफ्नो पहिलो खुड्किलो बनाउनु भयो । ‘त्यतिबेला बरु भगवान भेटिन्थ्यो होला तर, काम भेटिन्थ्यो’- लामो सासा तान्दै अनुरोध सम्झनुहुन्छ- ‘त्यसैले भाडा माझ्ने काम सुरु गरे ।’ क्याफे सिटर्रसमा किचन ह्याण्ड अर्थात भाडा माझ्ने, किचनमा सरसफाइ गर्ने र सेफलाई सघाउने काम सुरु भयो । ६ महिना जति भाडा टल्काउदा गरेको मेहनत, लगनशिलता र काम सिकेपछि अनुरोध त्यहि रेष्टुरेन्टमा सुसेफ बन्नुभयो ।

भाडा माझ्ने क्रममा अनुरोधले छिटो छिटो काम सकेर किचनमा सेफको काम सिक्ने जागर नचलाएको भए यत्ति छिट्टै सेफ हुने अवसर कहाँ पाउथे र ? ‘किचेनमा जस्तो सुकै दुख भएपनि एक दिन सेफ बन्छु भन्ने सपना सजाएको थिए’- अनुरोध भन्नुभयो -‘हेडसेफलाई सघाउदा सघाउदै राति साढे १२ बजेसम्म काम सिक्ने गर्थे ।’ काम र पढाईको थकान एकातिर थियो भने स्थाई भिषा कसरी लिने भन्ने पिर अर्कोतिर ।

कसरी पिआर लिने भन्ने तनावकै बिच अनुरोधलाई ओलङगाभा होटलबाट कामको अफर आयो हेडसेफका लागि । मेहनती, लगनशिल र आफ्नो काम प्रति इमान्दर कामदारका रुपमा चिनिएका अनुरोधले स्पोन्सर गर्ने भएमात्र काम गर्ने सर्त राख्नुभयो । साहुजीले अनुरोध जस्तो कामदार गुमाउन चाहेनन् र पिआरका लागि स्पोन्सर गर्ने सहमति गरे । ओलङगाभा होटलमा काम गरेको दुइ वर्षमा अनुरोधले पिआर मात्र होइन कि एउटा कुशल व्यवसायी र व्यवस्थापन सम्बन्धी भरपुर ज्ञान पनि लिनुभयो ।

काम गर्ने होटलकै साहुजीको सहयोगमा खुल्यो आफ्नै रेष्टुरेन्ट

सेफ भएर काम गरेको ६ वर्षभन्दा बढी समय भइसकेको तथा व्यवस्थापन र रहनसहन समेत बुझिसके पछि अनुरोधले आफ्नै रेष्टुरेन्ट खोल्ने सपना देख्नुभयो । तर, रेष्टुरेन्ट खोली हाल्न सक्ने पैसा थिएन । मध्येरातसम्म होटलमा काम गरेर अनुरोधले ब्रिजवेनमा उबर चलाउन थाल्नुभयो । भर्खरै आएकाले ब्रिजवेनमा उबरले कानुनी मान्यता पाइसकेको थिएन । लुकीलुकी उबर चलाएर केही पैसा जम्मा पनि भयो । ‘खानेमुखलाइ जुंगाले छेक्दैन’ भने झै ओलङगाभा होटलका साहुजीले जमानी बसेर भ्यालीमा ठाउ पनि मिल्यो । उनै साहुजीले बारका लागि मदिराहरु समेत उपलब्ध गराइदिने भएपछि अनुरोधको रेष्टुरेन्ट खोल्ने सपना पुरा भयो ।

सन् २०१६ मा अनुरोधले भ्यालीमा असम स्टेक हाउस र पामेजाना खोल्नुभयो । ‘तर रेष्टुरेन्ट चलाउन कहाँ सजिलो छ र ? – अनुरोध प्रश्न गर्नुहुन्छ । रेष्टुरेन्ट खोलेको केही दिन त नेपाली ग्राहकहरुको भिड भयो । तर, नेपाली परिकार नभएकाले नेपाली ग्राहकको भिड धेरै दिन टिकेन । स्थानिय मानिस नयाँ रेष्टुरेन्ट आउने कुरै भएन । अनुरोध सम्झनुहुन्छ – दिनमा दिनमा ५ हजार व्यापार होला भन्ने आशा थियो तर, २५० डलर मै चित्त बुझाउनुपर्ने भयो ।

परिवारसंग अनुरोध

रेष्टुरेन्ट बसेको घरको ५ वर्षको सम्झौता गरिएको थियो । तर, ६ महिनासम्म व्यापार शुन्य भएपछि आफु निकै अत्तालिएर रेष्टुरेन्ट बन्द गर्ने मनस्थितीमा पुगेको अनुरोधले बताउनुभयो ।

मम र उबर इट्स्

खर्चले धान्नै नसक्ने भएपछि रेष्टुरेन्ट बन्द गर्ने सोचमा पुगिसकेका अनुरोधले खानाको परिकारमा नेपाली स्वाद थप्नुभयो । नेपाली मम, चाउमिन र चिकेन चिल्लीलाई मेनुमा राखेपछि नेपाली ग्राहक आउन थालेको अनुरोधको भनाई छ । ‘साच्चै भन्ने हो भने मम र चाउमिनले आशा जगायो’-अनुरोध भन्नुहुन्छ ।


त्यस्तै ब्रिजवेनमा खाना डेलिभरी गर्ने उबर इट्स् आएपछि दर्ता गर्ने पहिलो ५ रेष्टुरेन्टमा अनुरोधको असम पनि पर्यो । उबर इट्सले टेक अवे खाना अर्डल ह्वात्तै बढाउन थालेपछि अब रेष्टुरेन्ट बन्द गर्न पर्दैन भन्ने उत्साह पलाएको अनुरोध सम्झनुहुन्छ ।
हप्तामै १८ हजार डलरको टेअवे अर्डर उबरबाट मात्रै आउन थालेपछि असमले नयाँ गति लिएको हो ।

असमको नयाँ स्वरुप करोडौमा

असम बार एण्ड ग्रिलको नयाँ स्वरुपको एक कुनामा बसेर चारै तिर आखाँ घुमाउदै छु। ठुलो बुद्धको मुर्ति, एक छेउमा पुल र बढेमानको बारले रेष्टुरेन्टको रौनक थपेको देखिन्छ । भित्र पट्टी हरियाली र रंगित बत्तिले सजिएको रेष्टुरेन्टको बाहिरी आवरण पनि उत्तिकै मिलेको देखिन्छ । हालसालै आफ्नै भवनमा अनुरोधले असमलाई भित्र्याएका हुन् ।

यसअघि ठ्याक्कै अगाडीको भाडामा घरमा ५ वर्ष असम चलेको थियो । केही महिना अगाडी नयाँ भवन किनेर असमलाई बेहुली जसरी सिघारिएको हो । ‘जीवनको खुसी नै रेष्टुरेन्ट भएपछि आफ्नो सन्तान जस्तै लाग्छ मलाई यो असम’- अनुरोधले भन्नुभयो- ‘आफ्नै भवन भएपछि त सिंगारपट्टार गर्न पनि लोभ नलाग्दो रहेछ ।’

अनुरोधले बाहिरी आवरण मात्रै सिगार्नु भएको छैन, असमको परिकारको स्वादमा पनि निकै मेहनत गरेको देखिन्छ । अनौपचारिक कुराकानीका क्रममा अनुरोधले भवन र रेष्टुरेन्टको श्रृगारपटार गरेर १६ करोड जति खर्च गरेको दाबी गरेपनि एकिन भने खुलाउनु भएन । व्यवसायका अलावा अनुरोधले नयाँ आउने विद्यार्थीलाई सघाउने, समाजिक कार्यमा हात बढाउने तथा भइपरि आउदा सहयोग गर्ने काममा समेत आफुलाई सक्रिय पार्दै आउनु भएको छ । अझै गर्न धेरै बाँकी रहेको बताउने अनुरोधले अल्छी नगरी आफ्नो कर्म गरे सफलता हात पार्न समस्या नहुने बताउनुभयो ।


ट्याग : #Anurodh, #Australia, #nepali australia, #safal katha
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ