Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयुएईलाई पराजित गरेर विश्वकप खेल्ने अन्तिम मोडमा नेपाल, अग्रिम बधाई !

युएईलाई पराजित गरेर विश्वकप खेल्ने अन्तिम मोडमा नेपाल, अग्रिम बधाई !


काठमाडौं । क्यानडालाई ८ विकेटले हराएर नेपाल समूह चरणको शतप्रतिशत जितसहित आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुगेपछि खेलप्रेमिहरु हौसिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित दलका नेताहरुले नेपाली क्रिकेट टिमलाई बधाई नै दिनुभएको छ । तर आगामी अक्टोबर\नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकपमा छानिन नेपालले आज ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा हुने सेमिफाइनलमा युएईलाई पराजित गर्नुपर्नेछ ।

सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा छानिने क्रममा निर्णायक खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । ६ टोली विश्वकपमा छानिने व्यवस्थाअनुसार २०१३ को नोभेम्बर २७ मा युएईमा भएको क्वार्टरफाइनलमा हङकङलाई पराजित गरी नेपाल ऐतिहासिक रुपमा विश्वकपमा पुगेको थियो । शरद भेषावकरले अन्तिम ओभरमा चौका र छक्कासहित १२ रन जोडेपछि नेपालले रोमान्चक जितसहित इतिहास रचेको थियो । तर अहिले त्यतिबेला नेपाली टिममा रहेका ज्ञानेन्द्र मल्ल र जितेन्द्र मुखियामात्र टिममा छन् । अहिले पनि नेपालले युएईलाई हराएर विश्वकपमा आफ्नो स्थान बनाउने आशा गरिएको छ । यसपटक निर्णायक खेलमा युएईलाई नेपालले प्रतिद्वन्द्वीका रुपमा पाएको छ । ऐतिहासिक विश्वकप यात्राको ९ वर्ष अन्तरमा धेरै समीकरण परिवर्तन भएका छन् । दुवै टिममा धेरैजसो खेलाडी परिवर्तित छन् । पछिल्ला वर्षहरुमा युएई, नेपालजस्ता एसोसिएट देशबीचको प्रतिस्पर्धास्तर पनि बढेको छ ।

आजको खेललाई नेपाली टिम र प्रक्षिकहरुले जित्नै पर्ने दबाबका रुपमा लिएका छैन । नेपाली टोली जित निकाल्ने लक्षसहित मैदान उत्रिदैगर्दा नेपाली क्रिकेटप्रेमीहरुले चासोका साथ बाँकी खेलको प्रतिक्षा गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ