Saturday, 13 August 2022
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा ठगी (स्क्याम) २९ प्रतिशतले बढ्यो, एक वर्षमा ८५० मिलियन डलर ठगी

अष्ट्रेलियामा ठगी (स्क्याम) २९ प्रतिशतले बढ्यो, एक वर्षमा ८५० मिलियन डलर ठगी


सरल गुरुङ/ब्रिजवेन
अनलाईनबाट हुने ठगीलाई स्क्याम भनिन्छ । अष्ट्रेलियामा यस्ता स्क्यामको बिगबिगी हरेक वर्ष बढिरहेको छ । स्क्यामवाचले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार एकै वर्षमा यस्ता ठगी २९ प्रतिशतले बढेको पाइएको छ । सन् २०१९ मा भन्दा सन् २०२० मा यत्ति धेरै ठगी बढेको हो । सन् २०२० मा मात्रै अष्ट्रेलियामा स्क्यामबाट ८ सय ५० मिलियन डलर ठगी भएको छ । सन् २०२० मा मात्रै देशभर ४ लाख ४४ हजार १६४ वटा ठगीका घटना दर्ता भएको स्क्यामवाचको तथ्यांकमा उल्लेख छ । जसबाट अष्ट्रेलियाले ८ सय ५० मिलियन डलर गुमाएको हो । ठगहरुले १८ देखि ४४ वर्षका मानिसहरुलाई निशाना बनाउने गरेका छन् । ठगीमा पर्नेहरुमा यो उमेर समुहका मात्रै ४८ प्रतिशत मानिसहरु छन् ।

ठगहरुले पिडितसंग सम्पर्क गर्न सबै भन्दा धेरै ४७.७ प्रतिशत टेलिफोनको प्रयोग गर्ने, २२ प्रतिशतले इमेल र १५ प्रतिशतले टेक्स मेसेज गर्ने देखिएको छ । स्क्याम हुनेमा सबैभन्दा धेरै घटना लगानीसंग सम्बन्धित छन् । ठगहरुले विभिन्न नक्कली कम्पनी र अवसरहरु खडा गरेर पिडितहरुलाई लगानी गर्न उस्काउने गर्छन् । पिडितले लगानी गरेको केही समय पछि सो कम्पनी नै गायब हुन्छ । यसरी हुने ठगीबाट मात्रै सन् २०२० मा ३ सय २८ मिलियन डलर गुमेको छ । त्यस्तै दोस्रोमा नक्कली मायाप्रेम सम्बन्धी ठगी छ । यसमा ठगहरुले नक्कली प्रेमी बनेर पिडितहरुले प्रेमको नाटक गर्ने र विभिन्न दुख देखाएर पैसा माग्ने गर्छन् । यस्तो ठगीबाट सन् २०२० मा मात्रै १ सय ३१ मिलियन डलर ठगी भएको छ ।

स्क्याम कसरी चिन्ने ?

लिंक सहित आएका सबै टेक्स मेसेस स्क्याम हुन्

अष्ट्रेलियन ट्याक्सेसन अफिस एटिओकी चेरल गोर्डनले लिंक सहित आएका सबै टेक्स मेसेजहरु स्क्याम भएको बताउनुभयो । हालै नेपाली समुदायका लागि प्रस्तुत कार्यपत्रमा चेरलले त्यस्तै इमेलमा पनि लिंक सहित इमेल आउछ भने त्यसलाई पनि स्क्याम नै मान्नुपर्ने बताउनुभयो । पठाउने संस्था र व्यक्ति को हो भनेर सत प्रतिशत ढुक्क नभएसम्म हतारमा त्यस्ता लिंकहरु क्लिक गर्न नहुने चेरलले महत्वपुर्ण सन्देश दिनुभएको छ । फिसिङ स्क्याम भनिने त्यस्ता लिंकमा क्लिक गर्दा व्यक्तिगत विवरण चोरी हुन सक्छ ।

व्यक्तिगत विवरण चोरेर तपाईको नाममा जघन्य अपराध हुन सक्छ

चेरलले कार्यपत्रमा स्क्यामरले कसैको व्यक्तिगत विवरण चोरी गरेर उसको नाममा बैंक खातामा पहुच गर्ने र त्यसबाट क्रेडिट कार्ड निकालेर अपराधिक कार्यमा प्रयोग गर्न सक्छ । त्यस्तै सुपरयनुएसन र सरकारले दिने रकमहरु पहुच गरेर पैसा चोरी गर्न सक्छ भने त्यस्ता विवरणका आधारमा विजनेस दर्ता गरेर अपराधिक कार्य समेत हुन सक्छ । व्यक्तिगत विवरण चोरी गरेर त्यसलाई अपराधिक कार्यका लागि अन्य अपराधिक समुहलाई समेत बिक्री गर्न सक्दछ । हालसालै ठगहरुले व्यक्तिगत विवरण चोरी गर्नका लागि फेक इमेल र टेक्स पठाउने गरेका छन् । यतिसम्म की ठगहरुले माइगभ एकाउन्टका लागि पनि नक्कली वेवसाइट बनाएको चेरलले जानकारी दिनुभयो । माइगभ एकाउन्टमा लगइन गर्दा आधिकारिक वेवसाइटमा मात्रै लगइन गर्न तथा फ्रिमा उपलब्ध वाइफाइमा लगइन नगर्न तथा सार्वजनिक स्थलको कम्प्युटरमा लगइन गरेको भए पासवर्ड सेभ नगर्न पनि चेरलले सबैलाई सुझाव दिनुभयो ।

टिएफएन कसैलाई नदिनु

चेरलले ट्याक्स फाइल नम्बर टिएफएन कानुनले तोकेको बाहेक अन्य व्यक्ति र संस्थालाई नदिन सुझाव दिनुभएको छ । टिएफएन नम्बर अष्ट्रेलियामा निकै महत्वपुर्ण मानिन्छ । स्क्यामरले यो पायो भने उक्त व्यक्तिलाई आर्थिक रुपमा ठुलै क्षति पुर्याउन सक्छ । सेन्टरलिंक, एटिओ, रजिष्टर्ड ट्याक्स एजेन्ट, सुपरएनुयसन फण्ड, बैंक, रोजगारदाता र विश्वविद्यँलयलाई मात्रै टिएफएन उपलब्ध गराउन चेरलले सुझाव दिनुभयो । रोजगारदाता भन्दै सामाजिक संजाल फेसबुक र गमट्रिमा जागिर दिने भन्दै सुरुमै टिएफएन माग्ने स्क्यामरहरु पनि सक्रिय रहेको भन्दै चेरलले कामको सबै कुरा छिनोफानो भएपछि मात्रै अन्मितमा एटिओले तोकेको फारम भरेर मात्रै टिएफएन नम्बर दिन पनि सुझाव दिनुभयो ।

प्रहरीले पक्राउ गर्छु भन्दै कहिल्यै पैसा माग्दैन

संघिय प्रहरीका तर्फबाट स्क्यामका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएका जेसन कन्सटेवलले प्रहरीले कहिल्यै पनि प्रक्राउ गर्छु भन्दै पैसा नमाग्ने बताउनुभयो । प्रहरीको नाम गरेर तपाईको बैंक खाता दुरुपयोग भएको छ र त्यसबाट सम्पत्ति शुद्धिकरण, लागुऔषध कारोबार जस्ता अपराधमा प्रयोग भएको छ । तत्काल जरिवाना नतिरे प्रक्राउ गर्छौ भन्ने ठगहरुले सोझा साझालाई फोन र मेसेज गर्ने क्रम सामान्य भएको जेसनले बताउनुभयो । त्यसरी फोनमा आएमा तत्कालै फोन काटिदिन र व्यक्तिगत विवरण नदिन पनि जेसनले सबैलाई आग्रह गर्नुभयो । कसैले सादा पोसाकका प्रहरी भन्दै सडकमा वा घरमा आएर पक्राउ गर्छु पैसा देउ भन्यो भने सुरु मै ती प्रहरीको नाम र ब्याच नम्बर सोध्न पनि सबैलाई जानकारी दिनुभयो ।

विदेशबाट अष्ट्रेलियामा राजनीतिक र संस्थागत प्रभाव पार्न पैसाको अफर

प्रहरी जेसनका अनुसार हाल अष्ट्रेलियामा राजनीतिक दल, विचार र सामाजिक संघसंस्थाको निर्णयलाई प्रभाव पार्नका लागि विदेशमा बसेर स्क्यामरहरुले यहा“का बासिन्दालँई पैसाको अफर समेत गर्न थालेका छन् । अष्ट्रेलियाको राष्ट्रिय सुरक्षा र चासोलाई प्रत्यक्ष असर पार्ने यस्तो गतिविधीलाई गम्भिर अपराधको सुचिमा राखेको छ । त्यसैले पैसा दिन्छु यहालाई मत दिनुस् यस्तो विचार राख्नुस भनेर कसैले फोन गरेमा त्यस्तो अपराधमा नफस्न र तत्कालै प्रहरीलाई खबर गर्न पनि जेसनले आग्रह गर्नुभयो ।

यो पनि पढ्नुस

अष्ट्रेलियाका नेपाली नर्सहरु नक्कली डाक्टरको निशानामा, प्रेमी बन्दै ठगी ! « Nepal Tube Australia

अष्ट्रेलियामा स्क्यामरको बिगविगी, पैसा लुट्नेदेखि सरकारी वेवसाइट नै नक्कली । प्रहरी र एटिओले यसो भने « Nepal Tube Australia

स्क्याम बारे उजुरीका लागि निम्न ठेगाना र फोनमा सम्पर्क गर्नुहोस

Report a scam | Scamwatch

IDCARE – a free government-funded service which will work with you to develop a specific response plan to your situation and support you through the process. Visit the IDCARE website or call 1800 595 160

Centrelink, Medicare, Child Support and myGov related scamsServices Australia Scams and Identity Theft Helpdesk – call 1800 941 126


ट्याग : #Scam 2021, #scam in Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ