Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरवी लामिछानेको ग्यालेक्सी फोरके टेलिभिजनको नियमित प्रशारण सुरु, यस्ता छन कार्यक्रम

रवी लामिछानेको ग्यालेक्सी फोरके टेलिभिजनको नियमित प्रशारण सुरु, यस्ता छन कार्यक्रम


काठमाडौं । सञ्चारकर्मी रवी लामिछानेले सुरु गरेको ग्यालेक्सी फोरके टेलिभिजनको नियमित प्रशारण शुक्रबारबाट सुरु भएको छ । ग्यालेक्सी फोरकेले आयोजना गरेको विशेष समारोहमार्फत प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको शुभारम्भ गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले सरकार प्रेसलाई नियन्त्रण गर्ने तर्फ नभई पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशका सबै जातजाति, भाषाभाषीको आवाजलाई मुखरित हुने गरी बलियो राष्ट्रिय एकता कामय गर्न सञ्चारमाध्यमले भुमिका खेल्नुपर्ने बताउनुभयो । तल्ला तहका गरिखाने वर्गको आवाजलाई मुखरित गर्दै उनीहरुको भाषा, संस्कृतिको जर्गेनामा टेलिभिजनले भुमिका खेल्ने अध्यक्ष दाहालको विश्वास थियो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले सन्तुलित, मर्यादित समाचार सामग्री प्रस्तुत गरेर स्वस्थ प्रतिस्पर्धा गर्न टेलिभिजनलाई सुझाब दिनुभयो । तथ्य बङ्ग्याइएका गलत समाचारको मारमा आफू पनि बेलाबेलामा पर्ने गरेको गुनासो दाहालको थियो । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले ग्यालेक्सी फोरके टिभिको सफलताको कामना गर्नुभएको थियो ।

करिब ७ महिना अघि टिभीको घोषणा भएको थियो । शुभारम्भ कार्यक्रममा टिभीमा प्रशारण हुने केही कार्यक्रमहरुबारे समेत टीभीसीसहितको जानकारी दिइएको छ । ग्यालेक्सीमा रवीले ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन गर्नेछन् । यसअघि उनले न्यूज २४ टेलिभिजनमा ‘सिधाकुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका थिए । सोही नामको कार्यक्रम चलाउने बारे विवाद भएपछि संसोधन गर्दै ‘जनतासँग’ हटाइएको छ । ग्यालेक्सी टिभीमा थुप्रै फ्रेन्चाइज रियालिटी शोहरु समावेश गरिएको छ ।

नायक राजेश हमालले ‘को बन्छ करोडपति’ कार्यक्रम चलाउनेछन् । अभिनेता दिपकराज गिरीको प्रस्तुतिमा भारतीय टेलिभिजनको फ्रेन्चाइजका रुपमा क्राइम पेट्रोल सञ्चालन हुने छ । यस्तै भारतीय टिभीकै फ्रेन्चाइज सारेगामप लिटल च्याम्प पनि प्रशारण हुने टेलिभिजनले जनाएको छ । यस्तै, वरिष्ठ सञ्चारकर्मी विजय कुमारले ९ बजे नामक टकशो सञ्चालन गर्नेछन् । यस्तै, रमेश प्रशाइले पनि टक शो चलाउने भएका छन् । केही रियालिटी सो भने सिघ्र प्रशारण हुने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ