Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा दक्ष कामदारको अभाव, ६० हजार स्थायी भिसा आवेदनको छिनोफानो गरिदै !

अष्ट्रेलियामा दक्ष कामदारको अभाव, ६० हजार स्थायी भिसा आवेदनको छिनोफानो गरिदै !

१० लाख हाराहारी भिसा ब्याकलग,को-को छन प्रक्रियाको प्राथमिकतामा ?


ब्रिजबेन,अष्ट्रेलिया । विभिन्न प्रयोजनमा लागि दिएका भिसा आवेदनहरूको चाङ कमगर्न अष्ट्रेलिया सरकारले ६० हजार स्थायी भिसा आवेदनहरूलाई प्राथमिकतामा राखेर छिनोफानो गर्न भएको छ । संघीय सरकारले भिसा प्रक्रियामा भएको ढिलाइका कारण अष्ट्रेलियामा परेको मानवश्रोत कम गर्न स्थायी भिसा आवेदनलाई प्राथमिकता दिन लागेको हो ।

जुलाई २६ मा अष्ट्रेलियाका आप्रवासन मन्त्री एन्ड्र्यु गिल्सले जारी गरेको विज्ञप्तीमा नै अष्ट्रेलियाले पार लगाउनुपर्ने भिसा आवेदनहरूको संख्या १० लाख हाराहारी रहेको जनाइएको छ । गृह मामिला विभागले भिसा ग्रिडलाई सम्बोधन गर्नेगरि स्रोत र कर्मचारी व्यवस्थापन गर्न नसक्दा भिसा छिनोफानोमा समय लागेको बताइने गरेको छ । यता, गृह मामिला मन्त्री क्लेयर ओनिलले स्वास्थ्य, शिक्षा र वृद्ध हेरचाहमा ध्यान केन्द्रित गर्दै अफसोर दक्ष आवेदकहरूलाई प्राथमिकता दिएर भिसा आवेदनको छिनोफानो गरिने बताउनुभएको छ । नयाँ सरकारी तथ्याङ्क अनुसार हालसम्मको भिसा ब्याकलग १० लाख हाराहारी छ । यीमध्ये ६ लाख ६० हजारभन्दा बढी व्यक्तिले अष्ट्रेलिया बाहिरबाट आवेदन दिएको, ५७ हजार ९०६ जना दक्ष कामदारले स्थायी भिसाका लागि आवेदन दिएको र १३ हजार ८०६ जना अफसोर भिसा आवेदकहरूले अस्थायी भिसाका लागि आवेदन दिएको पाइएको छ ।

युनिभर्सिटी अफ सिड्नीकी एसोसिएट प्रोफेसर अन्ना बाउचरले भिसा ब्याकलगलाई हल गर्न सरकारले चासो दिनुपर्ने बताउनुभएको छ । करिब ५ लाख कामदार चाहिने अवस्था रहेको भन्दै स्थायी र अस्थाइ भिसा आवेदकलाई पक्रियामा लगेर बजारको दक्ष मानवश्रोतको अभाव पूर्ति गर्न नसकिने प्रोफेसर बाउचर बताउनुहुन्छ । आगामी सेप्टेम्बरमा हुने रोजगार शिखर सम्मेलनमा युनियन, रोजगारदाता, नागरिक समाज समूह र आप्रवासनसँग सम्बन्धित सरकारका प्रतिनिधिहरूबी आप्रवासन र भिसा ब्याकलकका बारेमा घनिभुत छलफल हुने र दिर्घकालिन निकास खोजिनुपर्ने उहाँ बताउनुहुन्छ ।

स्कट मोरिसन सरकारको पालामा अष्ट्रेलियामा स्थायी बसाइसराइ प्रतिवर्ष १ लाख ६० हजारमा सिमित गरिएकोमा कोरोना महामारीका कारण यो संख्या दोश्रो विश्वयुद्ध पछि कै सबैभन्दा कम बिन्दुमा पुगेको थियो । डिसेम्बरमा २१ म अन्तर्राष्ट्रिय सिमाना पुनः खोलिएपछि बसाइँसराइको संख्या क्रमशः बढ्दो क्रममा देखिएको छ । व्यवसायीहरूले अझै पनि दक्ष कामदार अभाव पूर्ति गर्न महिनौं पर्खिनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारमाथी दबाब बढाइरहेका छन् । अष्ट्रेलियन चेम्बर अफ कमर्सले महामारीबाट देशको आर्थिक मार्गलाई सुरक्षित गर्न वार्षिक आप्रवासन कार्यक्रमलाई २ लाख मानिसहरूसम्म विस्तार गर्न आह्वान गरेको छ ।

अष्ट्रेलियाको बेरोजगारी दर जुन महिनामा ३.५ प्रतिशतमा झरेको छ । जुन पछिल्लो ४८ वर्ष यताकै सबैभन्दा कम बेरोजगार दर हो । अहिले अष्ट्रेलियाका बजारमा दक्ष कामदारहरूको अभाव प्रमुख चुनौति बनिरहेको छ । श्रोतः एसबिएस अष्ट्रेलिया



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ