Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा भारतीय र नेपालीसंगै हिन्दुहरुको संख्या बढ्दै, यस्तो छ पछिल्लो तथ्यांक !

अष्ट्रेलियामा भारतीय र नेपालीसंगै हिन्दुहरुको संख्या बढ्दै, यस्तो छ पछिल्लो तथ्यांक !


ब्रिजबेन, अष्ट्रेलिया । चीन र न्युजिल्याण्डलाई उछिन्दै भारत अष्ट्रेलियामा बसोबास गर्ने सबैभन्दा धेरै व्यक्ति रहेको तेश्रो देश बनेको छ । २०२१ को जनगणनाले भारतीयको संख्या अष्ट्रेलियामा तिब्र बृद्धि भएको देखाएको हो ।

सन् २०२१ को अगस्ट १० सम्म ६ लाख ७३ हजार ३५२ जना अष्ट्रेलियामा बसिरहेका व्यक्तिले आफ्नो जन्मस्थान भारत भएको उल्लेख गरेका छन् । यो संख्या २०१६ देखि ४७.९ प्रतिशत अर्थात् २ लाख २० हजारले बढेको पाइएको छ । सन् २००६ मा होवार्ड सरकारले भारतीय विद्यार्थीहरूलाई अष्ट्रेलियामा व्यावसायिक तालिम पूरा गर्न विद्यार्थी भिसा लिन प्रोत्साहन गर्न भारतसँग एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि अष्ट्रेलियामा भारतीयहरूको संख्या बढेको आँकलन गरिएको छ । यहाँ बसोबास गर्ने सबैभन्दा धेरै व्यक्ति अष्ट्रेलियामै जन्मिएका छन् । इंगल्याण्डमा जन्मिएका दोश्रो नम्बरमा पर्दा तेश्रोमा भारत जन्मस्थान भएकाहरु रहेको पाइएको छ ।

कोभिड–१९ यात्रा प्रतिबन्धको बाबजुद विगत पाँच वर्षमा १० लाखभन्दा बढी आप्रवासीहरू अष्ट्रेलिया आइपुगेको तथ्यांक संकलन भएको छ । गत मंगलबारको जनगणना तथ्याङ्कले सांस्कृतिक विविधता, भाषा र धर्मको बारेमा सबैभन्दा अद्यावधिक जानकारी गराएको छ । पछिल्लो जनगणनाले अष्ट्रेलिया व्यापक रूपमा बहुसांस्कृतिक राष्ट्र भएको देखाएको छ । आधा अष्ट्रेलियालीहरूका आमाबुबा विदेशमा जन्मिएका छन् ।

जन्मदेशका आधारमा पछिल्लो ५ वर्षमा नेपालमा जन्मेका नागरिकहरूको सबैभन्दा धेरै वृद्धि भएको पाइएको छ । २०२१ सम्म अष्ट्रेलियामा ७० हजार नेपालीहरू थपिएका छन् । २०१६ बाट यो संख्या १२३.७ प्रतिशतले बढेको जनगणनाले देखाएको छ । पछिल्लो जनगणना अनुसार अष्ट्रेलियामा नेपाल जन्मस्थान भएका १ लाख २२ हजार ५०६ जना नेपालीहरू बसोबास गरिरहेका छन् ।

२०१७ देखि अधिकांश नेपाली आप्रवासीहरू दक्ष राज्य र साझेदार भिसामा आइपुगेको गृह विभागको तथ्याङ्कले देखाएको छ । नेपालीहरू नर्सिङ, लेखा र कुक पेशामा बढी आवद्ध हुने गरेको पाइएको छ । बिजनेश डेभलपमेन्ट म्यानेजर मदनमणि अधिकारी अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा नेपालबाट आएर संघर्ष गर्दै सफल हुनेहरुको संख्या बढेको बताउनुहुन्छ । नेपालमा करियर बनाउन ठूलो संघर्ष गर्ने नेपालीहरूका लागि अष्ट्रेलियाले अवसर प्रदान गरेको उहाँको दाबी छ ।

अष्ट्रेलियामा धार्मिक विविधता पनि बढिरहेको पाइएको छ । पछिल्लो ५ वर्षमा अष्ट्रेलियामा हिन्दु धर्म मान्नेहरुको संख्या ५५.३ प्रतिशतले बढेको पाइएको छ । अहिले अष्ट्रेलियामा हिन्दु धर्मसँग आस्था राख्नेहरूको संख्या ६ लाख ८४ हजार २ पुगेको छ । २०२१ को जनगणना अनुसार यो संख्या कुल जनसंख्याको २.७ प्रतिशत हो । अन्य धर्मावलम्बीहरु समेत बढिरहेको अष्ट्रेलियामा धेरै धर्म संस्कृतिको विकास र विस्तार भैरहेको छ ।


ट्याग : ##AIBT #Australia #Nepali Student, #Hindu, #Indian, #nepalese community of australia, #nepali australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ