Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाल चिनाउन अमेरिकामा बिशाल र्याली, बुद्ध नेपालमा जन्मिएको सन्देश

नेपाल चिनाउन अमेरिकामा बिशाल र्याली, बुद्ध नेपालमा जन्मिएको सन्देश


क्यालिफोर्निया/अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सानफ्रान्सिस्कोमा नेपाली कलासंस्कृति र पहिचान झल्किने खालको विभिन्न झॉकीसहितको भेषभुषामा शनिवार नेपाली समुदायले वृहत प्रदर्शन गरेका छन् ।

‘भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन, अमेरिका-नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध चीरकाल रहोस्’ जस्ता प्लेकार्ड र नेपालको झण्डा बोकेका सयौं नेपाली युवायुवती, बालबालिका एवम् बृद्धबृद्धाहरू समेत मार्चपासमा सहभागी भएका थिए ।

सानफ्रन्सिस्को शहरको विभिन्न भागमा नेपालको विविधता झल्किने पहिरहनमा उपस्थित नेपालीहरूले गरेको यस प्रदर्शनीलाई स्थानी र विभिन्न देशका मानिसहरूले समेत निकै चासोपूर्वक लिएका थिए ।

यता, प्रदर्शनीको सफलताको लागि नेपाल तथा क्यालिफोर्नियाका विभिन्न तह र तप्काबाट शुभकामना समेत प्राप्त भएको आयोजकले उल्लेख गरेको छ । नेपाली समुदायको हकहितका लागि कार्य गरिरहेका यहॉका विभिन्न सामाजिक संघसंस्था तथा गैर-आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिका र क्यालिफोर्निया च्याप्टरको संयुक्त पहलमा नेपाली नयॉवर्षको अवसरमा आयोजित ‘नेपाल-डे परेड’ नाम दिइएको उक्त कार्यक्रममा ठूलो संख्यामा भेला भएका नेपालीहरूले मार्चपास गरेको एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरले जानकारी दिएको छ ।

क्यालिफोर्नियाकै ब्यस्त एवम् ऐतिहासिक शहर भएकोले पनि सानफ्रान्सिस्कोमा यस प्रकारको कार्यक्रम हुनु नेपालको पर्यटन क्षेत्र र नेपाली कलासंस्कृतिको प्रबर्द्धनका लागि सकारात्मक पहलकदमी भएको यहॉ क्रियासिल विभिन्न पेशा व्यवसायी एवम् सामाजिक अभियान्ताहरूले उल्लेख गरेका छन् ।

नेपालीमूलका भूटानी शरणार्थी बाहेकै आधिकारिक रूपमा अमेरिकामा बसोबास गरिरहेका नेपालीको संख्या करीव तीन लाख रहेको छ । सवैभन्दा बढी नेपालीहरूको बसोबास रहेको न्यूयोर्कमा यसअघि यस्तै प्रकारको कार्यक्रम गरिएको थियो ।

यद्यपि क्यालिफोर्नियामा पहिलो पटक आयोजना गरिएको यस नेपाल-डे परेडको आर्थिक पारदर्शीता एवम् सहभागितालाई लिएर यहॉका कतिपय संघसंस्था र व्यक्तिहरूले असन्तुष्टी व्यक्त गरेका छन् ।

नेपाली समुदायले विभिन्न प्रयोजनका लागि संकलन गर्ने रकम र खर्च सम्बन्धीको हिसाबकिताब प्रष्ट पार्न नसक्दा समयसमयमा विभिन्न पक्षबाट प्रश्नचिन्ह खडा हुनेगरेको छ ।


ट्याग : #nepal, #Nepal parade, #Nepali in USA
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ