Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरिया र न्यु साउथ वेल्समा खोप अभियान तिब्रा, यस्तो छ कोरोनाको पछिल्लो अवस्था

भिक्टोरिया र न्यु साउथ वेल्समा खोप अभियान तिब्रा, यस्तो छ कोरोनाको पछिल्लो अवस्था


ब्रिजबेन,अष्ट्रेलिया । अष्ट्रेलियाका दुई राज्य भिक्टोरिया र न्यु साउथ वेल्समा खोप अभियानको तिब्रतासँगै कोरोना महामारि नियन्त्रणमा आउने अपेक्षा गरिएपनि संक्रमण दर अपेक्षा गरेजस्तो घट्न सकेको छैन । भिक्टोरियाको तुलनामा न्यु साउथ वेल्समा संक्रमणले थप विस्तार पाइरहेको छ ।

भिक्टोरियामा पछिल्लो २४ घण्टामा १ हजार ५०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८ हजार ०८३ जनाको स्वाब परीक्षणबाट यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारि दिएको छ । पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यहाँ अहिले सक्रिय कोरोना संक्रमितको संख्या १३ हजार ४४३ पुगेको छ ।

न्यु साउथ वेल्समा संक्रमणदर उच्च
पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा मात्रै २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको एक लाख ३७ हजार १४९ जनाको स्वाब परीक्षणबाट यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारि दएको हो । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

खोप अभियानसँगै महामारि घट्ने अपेक्षा गरिएको यो राज्यमा कोरोना महामारिले थप विस्तार पाउनुमा स्थानीयको आन्तरिक गतिबिधि र नातेदारकोमा भइरहेको जमघटलाई मुख्य कारक मानिएको छ । सार्वजनिक स्थल, सपिङ मल लगायतका भीडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना भएपनि घरपरिवारका सदस्य र आफन्तबीचको भेटघाटमा हुने बेवास्थाले महामारि नियन्त्रणमा समस्या उत्पन्न गरेको स्वास्थ्य अधिकारिहरुले बताउने गरेका छन् ।

यी दुई राज्यमा कोरोनाविरुद्धको खोपको अवस्था यस्तो छ ।
भिक्टोरिया राज्यमा हरेक दिन ३९ हजार भन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइदैछ । यहाँ डिसेम्बर १७ को सरकारी रेकर्ड अनुसार १ करोड ९ लाख ६२ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । यीमध्ये ९२ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने एक डोज मात्रा खोप लगाउनेहरुको संख्या ९३ दशमलब ७ प्रतिशत रहेको छ ।

यता, न्यु साउथ वेल्समा समेत १ करोड ३२ लाख ९२ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । यो राज्यमा ९४ दशमलब ९ प्रतिशतले खोपको पहिलो मात्रा लगाउँदा ९३ दशमलब ३ प्रतिशतले पूर्ण खोप लगाएको सरकारी रेकर्ड छ । न्यु साउथ वेल्स कोरोनाविरुद्धको पूर्ण खोपमा सफलता पाउने दोश्रो र भिक्टोरिया तेश्रो राज्य बनेपनि कोरोना संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ