Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia८ वर्ष अघिको डायरी- हेलो कान्छी ! अझै उठेको छैन, म गाडी हाक्दै छु ।

८ वर्ष अघिको डायरी- हेलो कान्छी ! अझै उठेको छैन, म गाडी हाक्दै छु ।


सरल गुरुङ (सन् २०१४ को एक बिहान ) आज बिहान अर्थात बुधबार बिहान ६ बजे काठमाडौको कंलकीबाट पोखराका लागि बा २ ख ४०१० नम्बरको हाइस माइक्रो चढे । चालकको लापरवार्हीले सडक दुर्घटना बढेको विषयमा रिपोर्टिङ गरिरहेकाले, चालकप्रति म अलि बढी नै सचेत थिए । थानकोटको ओरालो सुरु हुनेबित्तिकै, चालकले मोवाइल फोनमा कुरा सुरु ग¥यो । नागबेली सडक त्यहि माथी हुस्सुले ढोकेको, पुर्वबाट आएका नाइट बसको तातीले थानकोटको बाटो कम्ति जोखिमपूर्ण थिएन । चालक मोवाइलमा मस्त पर्दै एक हातले गाडी हुइक्याउन थालेपछि दुर्घटना अपरिहार्य झै बन्दै थियो । झण्डै १० मिनेट फोनमा कुरा गरेपछि चालकले फोन राख्यो ।

आधी घण्टापछि चालकले आफैले कसैलाई फोन ग¥यो । गुड मर्निङ नानु, के छ तिम्रो खबर । अहिलेसम्म आछ्यान मै । यस्तै यस्तै गफमा मख्खियो चालक । हातभरी औठी, कानमा कुण्डल, हिपअप टोपी र ओठमाथी भर्खरै जुंगाको रेखी बसेको उमेरले २० कटेको छैन जस्तो लाग्यो चालक । उनको गफ रोकिने छाट देखिएन । कहिले माइक्रो ढोका खोल्दै, पान थुक्न पनि भ्याउथे चालक । चिसो बिहानीमा, माइक्रोभित्र हिपअप गित नै घन्किदै थियो । म चालक पछाडीको दोस्रो सिटमा थिए । सोचे चालकको लापरवार्ही भनेको यस्तै होला ? तर, मेरो मन मानेन, कुनै हालतमा चालकको लापरवार्ही रोक्नु थियो । संसारमा दुइ किसिमको मान्छे हुन्छन् रे । एक जे भइरहेको छ त्यो चुपचाप सहेर बस्ने मान्छे, अर्को गलतचिजलाई परिवर्तन गर्न खोज्ने । पेशाले नै गलतको विरुद्ध लड्ने भएकाले म चुप बस्न सकिन । केही दिन अघि मकवानपुरमा चालक रिसाएर बस ठोक्याउदा १० जना बेकसुर यात्रुको ज्यान गएको सम्झे । कतै यो चालक पनि रिसाएर……। एक छिन रोकिए ।

सोच्दा सोच्दै यस अघिको फोनवार्ता सकिएछ । अर्को आधी घण्टामा चालकले अर्को फोन ग¥यो । अ कान्छी सबै ठिक छ, म गाडी चलाउदै छु । तिम्रो याद आएर कल गरेको । लाग्यो, चालक १८ जना यात्रु लिएर पोखरा होइन की, मसानघाट तिर दौडदै छ । अब असह्य भयो । मैले चालकले फोनमा बोलेको दृश्य र तस्बिर मोवाइलबाट खुसुक्क खिचे । प्रहरीले मागे सबुत चाहिन्छ भनेर । सबुत संकलन गरेपछि यस अघि प्रहरीले चालकको लापरवार्ही बारे जानकारी दिन खुल्ला गरेको २४ घण्टे नम्बरमा सम्पर्क गरे, उठेन । प्रहरी प्रवक्ता डिआइजी माधव जोशीलाई फोन गरे, उठेन । पछि उसैले फोन गरे । मर्निङ वाकमा रहेछन् । कार्य विभाग प्रमुख एआइजी गणेश राईलाइ पनि फोन गरे उठेन । धादिङ प्रहरीको नम्बर नभएकाले मैले केन्द्रमै सम्पर्क गरेको थिए । तर, उपाय लागेन ।

परिहाले अर्को मोटरमा जाउला, यीनीहरुले धेरै गरे मलाई गाडीबाट ओराल्लान् । अब प्रतिकार गर्छु । ओ भाई फोनमा कत्ति बोलेको ? दुर्घटना हुनसक्छ । सकेसम्म गाडी हाक्दा फोनमा नबोल । मैले ठुलो स्वरमा भने, बोल्नै परे, छेउमा रोकेर बोल । एक छिन त होनी दाई । घरको मान्छेसंग पनि बोल्न नपाउने ? चालकको रुखो प्रतिप्रश्न । मैले नबोल भनेको हैन, यस्तो बाटो छ, दुर्घटना हुनसक्छ, बोल्ने हो भने, छेउमा रोकेर बोलन । रोकेर बोल्दा त ढिला भैहाल्छ नी, चालकको बचाउ । हामीलाई छिटो हैन, सुरक्षित यात्रा चाहिन्छ । मैले सम्झाउने कोसिस गरे, चालकको लापरवार्हीले यत्रो दुर्घटना भएको थाहा छैन ? मकवानपुर, बबरमहल, डोटी लगायत पछिल्लो दुर्घटनाको उदाहरण दिए । तर, चालक गलेन । उ फोन राख्न तयार भएन । अब मेरो पारो तात्यो । मर्नुभन्दा बौलाउनु निको । ओ भाई तिमीले फोन राखेनौ भने, अब म तिमीलाई कारवार्ही गर्न बाध्य हुन्छ । मैल धम्किपूर्ण भाषा बोले । मेरो कुरा सुनेर, अरु केही यात्रु पनि होमा हो मिलाउन थाले । मैले चालकलाई थर्काउन थालेपछि प्रहरी होला भनेर होकी अरु यात्रुको पनि आट पलाएछ । उनीहरु पनि चालकलाई दुर्घटनाको उदाहरण दिदै सम्झाउन थाले । अब भने चालक गल्यो । केही यात्रु चालकै पक्षमा देखिएपनि अरु यात्रुले सम्झाए । अब भने चालक फोन राख्न बाध्य भयो । मैले कुरो टुंग्याए, अब फोनमा नबोल्नु, तिमी हामी सबैलाई फाइदा हुन्छ ।

चालक रिसले मुरमुरिरहेको थियो । कतै त्रिशुलीमा फाल्दिने पो हो की……? मैले माहौल शान्त पार्न, चालकसंग मिठा कुरा गरे । उनलाई सम्झाए । उनी सम्भिए झै भए । तर, उनले पोखरासम्म छेडखानी गर्न छोडेनन् । नियम कानुन हामी ड्राइभर र खलासीलाई मात्रै लाग्दो रहेछ । एनटिसीले चालकलाई सिम कार्ड नै नदिनु नी । सिम कार्ड नै नभएसी के को फोन । चालकको छेडखानी मप्रति थियो । म मुस्कुराउदै बसे । माइक्रोवालाले सार्कपछि आन्दोलन गर्ने हो चालक थप्दै थियो, पुलिसले संसारमै नभएको कानुन बनाउछ । हामी तनुहको डुम्रे आइपुग्यौ बिहानको १० बजेको थियो । प्रहरीले चेकजाच ग¥यो ।

हाम्रो माइक्रोबसमा सिटभन्दा बढी यात्रु थिए । सिटको बिचमा काठ तेस्र्यार यात्रु कोचिएको थियो । प्रहरी देख्ने बित्तिकै चालकले एकातिर लत्रिएको सिट बेल्ट छातिमा तेस्याए । सिट बेल्ट अनिवार्य भएपनि, चालकले यसलाई बोझ मान्छन् वा यसको महत्व बुझेका छैनन्, प्रहरी देखेमात्रै उनीहरु सिट बेल्ट लगाउछन् । प्रहरीले माइक्रोभित्र काठ तेस्र्याएर राखेको यात्रु देखाउदै, भन्यो, ओ भाई ओभरलोड मान्छे हाल्ने । काठको पिर्कामा काठमाडौबाटै मान्छे राखेको भएपनि, चालकले प्रहरीलाई सजिलै झुक्याए । नजिकैबाट हालेको हो सर, अब झारिदिन्छु । ओर्लिएका यात्रु डुम्रेभन्दा केही अगाडीबाट पिर्कामै चढे । चालक कारवार्हीबाट बच्यो । सोचे, कस्तो प्रहरी होला सजिलै झुक्किने ? गल्ती देख्दादेख्दा छोडिदिने ? केही दिनअघि मकवानपुरको चुरियामाइमा ट्रक दुर्घटनामा पनि प्रहरीले यस्तै गल्ती गरेको थियो । ओभरलोड इट्टा र इट्टामाथी १९ जना यात्रु बोकेको ट्रकलाई एक हजार रुपैया जरिवाना काटेर छोड्दा भयानक दुर्घटना भएको थियो । प्रहरीले कहिले सिक्ने ?

दमौलीमा पनि चेकिङ थियो । दुर्घटना बढेपछि प्रहरी चेकिङ बाक्लिएको छ । यात्रुहरु हिडेर चेकिङ कटेको यहा पनि प्रहरीले पत्तो पाएन । प्रहरीले ओभरलोड नदेखेपछि फोहोर फाल्ने भाडाबारे सोधे । गाडीमा फोहोर फाल्ने भाडो राख्नुपर्ने नियम रहेछ क्यारे । सहचालकले कुरा मिलायो । तर, गल्ती गर्ने हाम्रो माइक्रो दमौलीमा पनि बच्यो । प्रहरी चेकिङ हात्तिको दात जस्तो भयो । म निराश भए । प्रहरीले कारवार्ही नगरेपछि, चालकको मनोबल बढेछ क्यारे, अब उ यात्रुप्रति खनिन थाल्यो । यात्रुलाई गाली ग¥यो, प्रहरी त निशानामा पर्ने नै भयो । घरमा ढेडो खाएर आची गर्ने चर्पिसम्म नभएका प्रहरीले हामीलाई नियम सिकाउने यार ? चालक छेउमा बसेको सहचालकसंग गफिदै भन्थ्यो । हाम्रो गाडी नगरपालिका हो र ? फोहोर फाल्ने भाडो राख्नलाई । साढे ११ बजे पोखरा आइपुगियो । पृथ्वीचोकमा भएको जिल्ला ट्राफिक प्रहरी कार्यलयमा गएर अघि खिचेको तस्बिर र दृश्य देखाएर माइक्रोविरुद्ध उजुरी गर्ने सोच बनाएको थिए । तर, केही बेरमा नै मिस तमुस्यो नेपाल २०७१ का सहभागीलाई पत्रकारितासम्बन्धि प्रशिक्षण दिन जानु पर्ने भएकाले भ्याइन । दिनभरी पत्रकारिताको तालिम दिएर होटलमा फर्केपछि यो लेख लेख्ने बिचार गरे । यात्रु स्वयं जाग्ने हो भने, दुर्घटना घट्न सक्छ, यो मेरो बुझाई हो ।

(त्यति बेला सम्पादक सरल गुरुङले आफ्नो फेसबुकमा पोष्ट गरेको यो लेख, अहिले पनि नेपालमा सान्दर्भिक देखेर प्रकाशन गरेका हौ । )

 

,



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ