Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaरहेनन् अष्ट्रेलियाका अब्बल डाक्टर कुश श्रेष्ठ

रहेनन् अष्ट्रेलियाका अब्बल डाक्टर कुश श्रेष्ठ


एडिलेड/अष्ट्रेलियाका हाडजोर्नी विशेषज्ञ सर्जन कुश श्रेष्ठको आइतबार बिहान निध’न भएको छ । केही वर्षदेखि फोक्सोको क्यान्सरसंग लडिरहनु भएका श्रेष्ठको उपचारका क्रममा एडिलेडको कुइन ऐलिजावेथ अस्पतालमा निध’न भएको साउथ अष्ट्रेलियाका नेपाली महावाणिज्यदूत दिपक धमलाले जानकारी दिनुभयो ।
फोक्सोको क्यान्सर फैलिएर ब्रेनमा समेत पुगेपछि केही वर्षअघि श्रेष्ठको टाउकोको अप्रेसन समेत गरिएको थियो । त्यसपछि चिकित्सकको निगरानीमै रहनुभएका श्रेष्ठको क्यान्सर फैलन रोकिएको थियो । गत वर्ष कामकै सिलसिलामा डार्बिन जादा श्रेष्ठलाई हृद’यघात भएको थियो । तीन दिनको उपचारपछि हृदय’घातबाट श्रेष्ठ जोगिनु भएको थियो । हृदयघात भएपछि श्रेष्ठको शरिरमा पुन क्यान्सर फैलन सुरु भएको थियो । अष्ट्रेलिया र नेपालको नेपाली समाजमा निकै सक्रिय सामाजिक अभियन्ता डाक्टर कुशले रोगलाई वेवास्ता गर्दै कोरोनाको समयमा समेत नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहनु भएको थियो ।
निकै मिलनसार र सधै समाजका लागि केही गर्नुपर्छ भन्ने सोचका धनी कुश अष्ट्रेलियन नेपलिज मेडिकल एण्ड डेण्टल एशोसियसन एम्डाका महासचिव समेत हुनुहुन्थ्यो । कुशको असमायिक निधन प्रति एम्डाले दुख व्यक्त गरेको छ । फेसबुकमा जारी शोक वक्तव्यमा एम्डाले लेखेको छ तपाइ यस संसारबाट बिदा भएपनि तपाईको कर्मले लाखौ मानिसलाई सकारात्मक बाटोमा अभिप्रेरित गरिहनेछ ।

एम्डाले यो दुखको घडीमा परिवारको गोपनियताको सम्मान गरिदिनसमेत आग्रह गरेको छ । कुशसंग नजिक रहनु भएका तास्मानियाका सामाजिक अभियन्ता पुनम पन्तले कुशको निधनले नेपाली समाजलाई निकै क्षति पुगेको बताउनुभयो । ‘समाजका लागि दिनरात र बिरामी शरिरसमेत नभनि सधै एक कदम अगाडी देखिन कुश जस्तो मानिसलाई अल्प आयुमै गुमाउनुपर्दा निकै दुख लागेको छ’- पन्तले भन्नुभयो । केही दिन अघि कुरा हुदा आगामी अधिवेशनमा एम्डाको अध्यक्ष पदमा उमेद्वारी दिने कुरा बताएको सम्झदै पन्तले भन्नुभयो- ‘मैल भने डाक्टार साब आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुस् अलि सन्चो भएपछि उठ्नुहोला नि अध्यक्षमा’ । एम्डाको अध्यक्ष बनेर नेपाली समाजको सेवा गर्ने कुशको धोको अधुरै रह्यो पन्तले दुखेसो गर्नुभयो ।

को हुन कुश

नर्दन टेरिटोरी राज्यमै डाक्टर कुश कहलिएका हाडजोर्नी शल्यचिकित्सक हुनुहुन्थ्यो । खासगरी लामो समय कम्मर, घुडा र काधको जोर्नीको उपचार र शल्यक्रियामा सक्रिय रहनु भएका कुश दुर्घटनाबाट भाच्चिएका हाड र जोर्नीको उपचारमा निकै ख्याति कमाएका डाक्टर हुनुहुन्थ्यो । सन् १९९९ मा युनिर्भसिटी अफ एडिलेडबाट डाक्टरको पढाई सक्नु भएका कुशले शल्यक्रियाको तालिम भने बेलायतबाट लिनुभएको थियो । सन् २०१३ मा कुशले अष्ट्रेलियामा हाडजोर्नी शल्यक्रियाको तालिम लिनु भएको थियो । क्यानाडाको युनिभर्सिटी अफ ओन्टारियोबाट ‘वयस्कको कम्मर घुडाको रिकन्सट्रकसन फेलोसिप’ मार्फत कुशले कम्मर र घुडाको अर्थोपलाष्टि सर्जरीमा विशेषज्ञता हासिल गर्नुभएको हो । आफ्नो विशेषज्ञता बारे अष्ट्रेलिया, क्यानाडा र नेपालका अस्पताल र स्वास्थ्य क्षेत्रमा कार्यपत्र प्रस्तुत गरेर कुशले सेवा गर्दै आउनु भएको थियो । कुशको कार्यपत्रहरु ‘जर्नल अफ अर्थोप्लास्टी’ मा समेत प्रकाशित छ । कुशले हालै मात्रै म्याटर टेक्निक इन हिप भन्ने पुस्तक समेत प्रकाशन गर्नुभएको थियो । यो पुस्तक हाडजोर्नीको क्षेत्रमा विश्वभरी प्रख्यात समेत भयो । अष्ट्रेलियन अर्थोपेडिक एशोसियसनको डिरेक्टर अफ ट्रेनिङ समेत रहनु भएका कुशसंग थुप्रै मेडिकल विद्यार्थीहरु समेत अध्ययन गरिरहेका थिए । डार्बिनको रोयल डार्बिन अस्पतालमा हाडजोर्नी विभागको उपनिर्देशकका रुपमा कार्यरत कुश डार्बिन प्राइभेट अस्पताल र आशफोर्ड अस्पतालमा पनि भिजिटिङ डाक्टरको रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यस्तै फ्लिण्डर विश्वविद्यँलयको सिनियर क्लिनिकल लेक्चर र एडिलेड विश्वविद्यँलयमा क्लिनिकल लेक्चरमा समेत कुशले काम गर्दै आउनुभएको थियो ।
कुशले भूकम्पपछि काठमाडौको त्रिवि टिचिङ अस्पतालमा निकै सहयोग गर्नुभएको थियो । कुशकै सक्रियतामा सन् २०१८ मा अष्ट्रेलियाबाट गएको स्वास्थ्यकर्मीको टोलीले नेपालका ४० हाडजोर्नी चिकित्सक र ३० नर्सको क्षमता अभिवृद्धी गर्ने खालका तालिम दिएको थियो । त्यस्तै नेपाल बाहेक ग्वाटेमालामा समेत हाडजोर्नी सम्बन्धी सेवा दिइरहनुभएको थियो ।
४८ वर्षका कुश एक श्रीमति र दुइ छोरासहित साउथ अष्ट्रेलियाको एडिलेडमा बस्दै आउनुभएको थियो । उहा“को अधिकाशं परिवार अमेरिकामा हुनुहुन्छ । कुशको कार्यकौसलताले अष्ट्रेलियामा सिंगो नेपाली समाजकै नाक उचो बनाएको थियो । अल्पआयुमै कुशको निधनले नेपाली समाजलाई अपुरणिय क्षति पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ