Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराहदानी लिन समेत भीडभाडमा जोखिम मोल्नुपर्ने नेपालीको बाध्यता

राहदानी लिन समेत भीडभाडमा जोखिम मोल्नुपर्ने नेपालीको बाध्यता


काठमाडौं । खोप लगाउन होस वा बजार पसलमा किलमेल गर्न अनि बैंकदेखी पेट्रोलपम्पसम्म नै किन नहोस्, लाईन लाग्नुपर्ने नेपालीहरुको सधैको बाध्यता बनेको छ । हुँदा हुँदा सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएका छन सर्वसाधारण ।

मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीडभाड लागेको थियो । कोरोनाकालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था मिलाउन ध्यान नदिएको भीडमा बसेर राहदानी लिन बाध्य सेवाग्राहीको गुनासो थियो । छोरीको राहदानी लिन रुपन्देही देवदहबाट काठमाडौं आएका दिलबहादुर गुरुङले आफैले भौतिक दुरीमा बसेर काम गर्न नियम बनाउने गरेको सरकार व्यवस्थापनमा सधै बेमतलबी देखिएको आक्रोश पोखे । गुरुङले प्रदेश र स्थानीय तहबाटै राहदानी लिने आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्दै, प्रविधिमैत्री र विकेन्द्रिकृत सेवा मार्फत भीडभाड घटाउन सरकारलाई सुझाब दिएका छन् ।

धनुषाबाट आएका धिरेन्द्रकुमार साह पनि दस्तुर तिरेर पनि समयमै राहदानी पाउने अवस्था नरहेको गुनासो गर्दै थिए । कोरोनाकालमा पनि राहदानी लिनका लागि सामाजिक दुरी कायम गर्ने व्यवस्था सरकारले गर्न नसकेको, सोधपुछ गर्ने ठाउँसमेत विभागमा नभएकाले आफूहरु अलमलमा परेको भन्दै साहले गुनासो पोखे । राहदानी नविकरणका लागि बिहानैदेखी राहदानी विभाग पुगेका भक्तपुर दुवाकोटका तेजबहादुर कार्कीले पनि भीडमा बसेर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाले सरकारको लाचारी झल्काएको गुनासो पोखे । कोरोनाको जोखिम मोलेर आफूहरुलाई राहदानी लिन भीडमा बस्न सरकारले नै बाध्य पारेको कार्कीको जिकिर थियो ।

सरकारले भौतिक दुरीको कुरा गरेपनि सेवा लिने अनि दिने बेलामा भिडको व्यवस्थापन कसरी गर्ने भन्ने व्यवस्थापन गर्न नसकेको अधिकांश सेवाग्राहीको गुनासो थियो । प्रविधि र गाउँ गाउँमा सिंहदरबारको गफ गर्ने शासक प्रशासकले काठमाडौंमै आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न नसकेकोमा समेत धेरैले राहदानी विभागबाट आक्रोस पोखेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ