Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकामा सोमबारदेखी कोरोना विरुद्धको खोप लगाइने, संक्रमण र मृत्युदर उच्च

अमेरिकामा सोमबारदेखी कोरोना विरुद्धको खोप लगाइने, संक्रमण र मृत्युदर उच्च


काठमाडौं, एजेन्सी । कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा सोमबारबाट कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले फाइजर र बायोएनटेक कम्पनीले बनाएका कोरोना विरुद्धका खोपलाई स्वीकृति दिएसँगै सोमबारबाटै अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।

पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्याइँदैछ । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने योजना बनाइएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।
अमेरिका कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै प्रभावित मुलुकका रुपमा परिचित छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ३०९ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ५ हजार ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख २० हजार २९८ जना संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म अमेरिकामा संक्रमितको संख्या १ करोड ६५ लाख ४९ हजार ३६६ पुगेको छ । शनिबार एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमितमध्ये ९६ लाख ४४ हजार ३२५ जनाले कोरोना जित्दा ६५ लाख ९९ हजार ९५९ जना उपचाररत छन् । यीमध्ये २७ हजार ५२३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ