Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज तिहारको मुख्य दिन , ११ः३७ को उत्तम साइतदेखी भाइटीकाको लगाइँदै

आज तिहारको मुख्य दिन , ११ः३७ को उत्तम साइतदेखी भाइटीकाको लगाइँदै


काठमाडौं । यमपञ्चकको अन्तिम तथा मुख्य दिन आज भाइटीका । दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेर मनाइदैछ । भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टिका लगाउने परम्परा रहिआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको जानकारी दिए । भाइटीका आज दिनभर लगाउदा कुनै बाधा नभए पनि समितिले मध्याह्न ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम तोकेपछि सोही बमोजिम टीका लगाउन थालिएको छ । भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने मान्यता अनुसारको समयमा सुरु भएको टिका कतिपय स्थानमा भने आज दिनभर लगाउने गर्दछन् ।

टिका लगाउदा पालना गर्नुपर्ने दिशाको शास्त्रीय नियम
पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियमका आधारमा यो दिशा निर्धारण गरिएको हो ।

भाइटीकाको धार्मिक एवं सामाजिक परम्परा
राज्य सञ्चालकले भने साइतमै टीका लगाउने प्रचलन रहिआएको छ । लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता अनुसार भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा हुनुपर्ने उल्लेख छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाई नहुने दिदिबहिनीले भने रानीपोखरीस्थित बालगोपेलेश्वर मन्दिरमा पुगी टीका लगाउँदै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ