Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन्, पढ्नैपर्ने खबर

नेपाल अपडेट : यी हुन्, पढ्नैपर्ने खबर


काठमाडौं । सत्तारुढ र प्रतिपक्षी दल नै आन्तरिक किचलोमा फसेको नेपालमा कोरोनाको संक्रमण अझै कायमै छ । प्रहरी कारबाहीको निरन्तरता, विद्यालय सञ्चालनकोे तयारी, नेपालमा आउने सहयोग सम्झौता लगायत पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।

अबैद्य सामानसहित चिनियाँ नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सामानसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहिवार साँझ फ्लाई दुबाईबाट दुबई जान लागेका तीन चिनियाँ नागरिकहरुलाई अबैध सामानसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो । ई ४८९८२२६२ नम्बर राहदानी भएका लिओ विझी, ईएफ ६०९७७१५ राहदानी बाहक लिओ जिङसियाङ र ईडी ८३३२९१७ नम्बरको राहदानी बाहक डुपेईलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । ४५ सेट मोबाइल, ४ सय ८३ पीस एनसेल सिमकार्ड, २० पिस स्मार्ट सिमकार्ड र ६ पिस कम्प्युटर मोनिटर सहित पक्राउ गरिएकाहरुमाथी अपराध महाशाखाको टोलीले थप अनुसन्धान जारी राखेको छ ।

सुरक्षा मापदण्डसहित विद्यालय सञ्चालन गर्न पाइने
नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बन्द रहेका विद्यालयहरू स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलद्वारा २० कात्तिकमा स्वीकृत ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा’ मा प्रदेश र स्थानीय तहले कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था गरेसँगै सञ्चालन गर्न पाइने भएको हो । कोरोना संक्रमण बढेको अवस्थामा भने स्थानीय तहले जिल्ला संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर निश्चित अवधिका लागि विद्यालय बन्द गर्न पाउने व्यवस्था गरिएको छ ।

स्वीट्जरल्याण्डले नेपाललाई १ अर्ब बढीको प्राविधिक सहायता दिने
स्वीट्जरल्यान्ड सरकारले नेपाललाई १ अर्ब रुपैयाँ बढीको प्राविधिक सहायता उपलब्ध गराउने भएको छ । नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत एलिजावेथ भोन क्यापेलर र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भएको भेटका क्रममा भएको सम्झौतामा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्याण्ड सरकारका तर्फबाट राजदूत एलिजावेथ भोन क्यापेलरले हस्ताक्षर गर्नुभएको हो । सहायता रकम मोटोरेल लोकल, रोड, ब्रिज प्रोग्रामको चौथो भागका लागि खर्च गरिनेछ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थपिदै विशेषज्ञ सेवा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा शुरु भएको छ । नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार सेवा विशेषज्ञ डा.सरोज काफ्लेले शुरु गर्नुभएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभएको हो । प्रतिष्ठान शिक्षाध्यक्ष डा.निरेश थापाले नाक, कान, घाँटीको विशेषज्ञ सेवा प्रवाहले कर्णालीवासीलाई थप सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । प्रतिष्ठानले जिपी इमरजेन्सी मेडिसन, सर्जरी, महिला तथा प्रसुति रोग, मेडिसिन, हाडजोर्नी तथा नसा, मनोचिकित्सा, बालरोग, दाँत, प्याथोलोजी, अप्थलोजी, आइसियु, एनआईसीयु, कोरोना आईसीयू, पल्मोनोलोजीलगायत विशेष सेवा दिँदै आएको छ । ‘क्यान्सर, मिर्गौला, न्यूरो स्पाइनल सर्जरी रोगका लागि नेपाल सरकारले प्रतिष्ठानलाई सूचीकृत दिन लागेको बताइएको छ ।

बढ्दै कोरोनाको जोखिम
पछिल्लो २४ घण्टामा २ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएोसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५३७ जना देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२०२ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ