Saturday, 13 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकांग्रेसले गृहमन्त्री रविमाथि अनावश्यक राजनीति गरेको प्रधानमन्त्रीको आरोप !

कांग्रेसले गृहमन्त्री रविमाथि अनावश्यक राजनीति गरेको प्रधानमन्त्रीको आरोप !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक प्रतिशोध साधेर सहकारीको मुद्दा उचालेको आरोप लगाउनुभएको छ । विराटनगरमा सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि रविको सहकारी प्रकरणलाई उचालेर राजनीतिक मुद्दा बनाइएको बताउनुभएको हो ।

प्रतिनिधिसभाको गतिरोध चाँडै अन्त्य गर्नेगरी राजनीतिक तहमा संवाद थालिएको समेत उहाँले बताउनुभयो ।प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलग्गै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेको विषयमा अलग्गै अध्ययन गरेर समस्याको समाधान गर्न सकिनेतर्फ कांग्रेसको ध्यानाकर्षण गराउनुभएको छ । सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग बुझेर रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभएको आधारमा बोलेको उहाँले बताउनुभयो ।

प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो – ‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ ।’

पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने जिकिर प्रधानमन्त्री प्रचण्डले गर्नुभयो । सहकारिका साझा समस्या समाधान गरेर बचतकर्ताको बचत फिर्ता गराउने मुद्दामा भने सरकार गम्भीर र जिम्मेवार बन्ने उहाँले बताउनुभयो



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ