Saturday, 27 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको विद्यार्थी भिसामा थप कडाई, यस्ता छन जान्नैपर्ने नियम !

अष्ट्रेलियाको विद्यार्थी भिसामा थप कडाई, यस्ता छन जान्नैपर्ने नियम !


अष्ट्रेलिया । विद्यार्थी भिसालाई व्यवस्थित गर्नका लागि भन्दै थप कडाइ गरिएसँगै नेपालबाट सहजै अष्ट्रेलिया जान चाहाने विद्यार्थीहरु प्रभावित हुने भएका छन् । अष्ट्रेलियाली गृहमन्त्री क्लेयर ओनिलले गत बिहीबार उच्च खतराको सूचीमा रहेका शैक्षिक संस्थालाई विद्यार्थी भर्ना गर्ने अधिकार कटौती गरिने जानकारि गराएसँगै विद्यार्थी भिसामा थप कडाई गरिएको हो ।

विद्यार्थी भिसालाई अझ कडाइ गर्दै अस्ट्रेलियाले गत डिसेम्बरमा नै आफ्नो अध्यागमन नीतिमा व्यापक परिमार्जनको घोषणा गरिसकेको छ । नयाँ अध्यागमन नीतिले भिजिट भिसामा अष्ट्रेलिया भित्रिएका विद्यार्थीलाई लक्षित गर्दै स्टुडेन्टमा कन्भर्ट गर्न सघाउने ‘घोस्ट कलेज वा भिसा फ्क्याट्री’ को उपनामले सञ्चालित शैक्षिक संस्थालाई चेतावनीसहित सुधारका लागि ६ महिनाको समय दिइने भएको छ । सुधार नआएमा रद्द गर्ने सम्मको योजनामा सरकार जुटेको छ । अध्ययनभन्दा पनि कामलाई प्राथमिकतामा राखेर अष्ट्रेलिया आउने विद्यार्थीलाई मध्यनजर राखेर नयाँ ‘जेन्विन टेस्ट’ को घोषणा अष्ट्रेलिया सरकारले गरेको छ । परिवर्तित नियमसँगै भिजिटर भिसामा अष्ट्रेलिया आउने र यताबाटै विद्यार्थी भिसा आवेदन दिनेहरु निरुत्साहित हुने भएका छन् । भिजिटर भिसामा अवधि समाप्त भएपछि थप आवेदन दिन नपाउने गरी ‘नो फर्दर स्टे’ को प्रावधान राखिएको मन्त्री ओनिलद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । सरकारको विद्यार्थी भिसाको नयाँ नियमले आप्रवासी संख्यामा कमी आउनुका साथै गत वर्षको तुलनामा विद्यार्थी भिसा आवेदनमा ३५ प्रतिशतले कमी आएको बताइएको छ ।

गृहमन्त्री ओनिलले सरकारको १० वर्षे अध्यागमन नीति सार्वजनिक गर्दै अस्ट्रेलियालाई आवश्यक दक्ष कामदार परिपूर्ति, अध्ययनकै लागि आउने विद्यार्थीलाई सहज वातावरण, काम गर्दा शोषण हुने समस्या अन्त्य हुने विश्वास गर्नुभएको छ । कतिपय बिज्ञले भने परिवर्तन हुने व्यवस्थाले अध्ययनकै लागि आउने विद्यार्थीलाई अझ सहज हुने, अध्ययनभन्दा पैसा कमाउन वा पीआर लिनका लागि नै आउने विद्यार्थी अफ्ठेरोमा पर्ने आँकलन गर्न थालिएको छ ।

नयाँ अध्यागमन नीतिमा के छ ?
–कोभिडपछि विद्यार्थीलाई फूलटाइम काम गर्न दिइएको अधिकार कटौँती, जम्मा २ साताको ४० घण्टामात्र काम गर्न पाइनेमा केही बढाएर दुई सातामा ४८ घण्टा काम गर्न पाइने, पढाइ छुट्टी भएको समयमा भने पूर्णकालीन रूपमा काम गर्न छुट ।

– उच्चशिक्षा पढ्न आउने विद्यार्थीलाई हरेक ब्यान्डमा कम्तीमा ५ दशमलव ५ ल्याउनुपर्नेमा बढाएर ६ बनाइएको छ भने अध्ययन सकेपछि आवेदन दिन पाइने ग्राजुएट भिसाका लागि ६ बाट ६ दशमलव ५, अंग्रेजी (इलिकोस) अध्ययन गर्न आउनेले समेत ४ दशमलव ५ को सट्टा हरेक ब्यान्डमा ५ ल्याउनुपर्ने नयाँ व्यवस्था ।

– अध्ययन भिसाका लागि देखाउनुपर्ने आर्थिक विवरणमा पहिलेको तुलनामा १७ प्रतिशत बृद्धि, ( पहिले विद्यार्थीले कम्तीमा पनि २१ हजार ४१ डलर देखाउनुपर्नेमा अब २४ हजार ५ सय ५ डलर आवश्यक) भिसा आवेदन शुल्क ६ सय ५० डलरलाई बढाएर ७ सय १५ कायम, भिजिटर भिसा शुल्क १ सय ५० डलरबाट बढाएर १ सय ९० कायम ।

– अस्ट्रेलियामा उच्चशिक्षा अध्ययन गरिसकेपछि पोस्ट–स्टडी वर्क भिसाका रूपमा दिइने समयसीमा खारेज, पहिले मास्टर्स अध्ययन गरिसकेका विद्यार्थीले पाउने ३ वर्षको अवधिलाई घटाएर २ वर्ष कायम, अध्ययन सकेपछि दुर्गम क्षेत्रमा गएको खण्डमा पाइने थप १ देखि २ वर्षको प्रावधान भने यथावत ।

–विद्यार्थीले आफ्नो अध्ययनको विषयबाहेक अन्य विषयमा समानान्तर अध्ययन गर्न नपाइने, विद्यार्थीले आफ्नो मुख्य अध्ययनको विषयलाई त्यागेर अष्ट्रेलिया बसाईको माध्यम बनाउने गरेकोमा कडाइ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ